+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा साढे २४ करोडको सुन्तला उत्पादन

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गुल्मीमा गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएकोमा यस वर्ष २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १२:३७

२६ पुस, गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।

जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक १३ करोड रुपैयाँभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले जानकारी दिए ।

गुल्मीबाट गत वर्ष १२ करोड रुपैयाँ बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले जानकारी दिइन् ।

जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन् । कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन् । सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका–२ का कृषक शिवलाल खनालले बताए । सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।

जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रुपमा सुन्तलाखेती गरिँदै आएको छ । जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागु छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तला खेती सुरु गरिएको छ ।

गुल्मीको सुन्तलाको माग अत्यधिक छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागतका स्थानबाट व्यापारी बगैँचामै पुग्ने गरेका छन् । अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो ८० देखि एक सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । परियोजनावाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुख पोख्रेलले बताए ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटको रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?