News Summary
Generated by OK AI. Editorially reviewed.- सिस्ने गाउँपालिका-८ मा सुन्तला खेतीले आर्थिक सम्भावना देखाएको छ तर बजार अभाव र सरकारी सहयोग नहुँदा किसानले राम्रो आम्दानी गर्न सकेका छैनन्।
- गाउँपालिकाले किसानलाई उत्पादन बटुल्न, ढुवानी गर्न र बजारसम्म पुर्याउन सहज बनाउन 'कृषि एम्बुलेन्स' सञ्चालन गर्ने तयारी गरेको छ।
- रुकुमपूर्वमा सुन्तला उत्पादन भए पनि रोग, विपद् र बजार व्यवस्थापनको अभावले किसानहरू घाटा-नाफाको अनिश्चिततामा रहेका छन्।
२५ मंसिर, रुकुमपूर्व। सिस्ने गाउँपालिका-८ कि किसान सुशीला घर्तीमगर बिहान ५ बजे नै लाम्पाकोटबाट सुन्तलाको भारी बोकेर रुकुमकोट जान्छिन् । छिप्रीदह गणतन्त्र चोकमा बसेर सुन्तला बिक्री गर्छिन् र घर फर्किन्छिन्।
सुन्तलाको सिजन सुरु भएदेखि करिब ४ घन्टाको यात्रा गरेर रुकुमकोट पुगी सुन्तला बिक्री गर्नु उनी जस्ता धेरै किसानको दैनिकी नै बनेको छ ।
सिस्ने-८ को सुन्तला गुणस्तरका हिसाबले उत्कृष्ट मानिन्छ । तर बजार अभावमा किसानले राम्रो आम्दानी गर्न सकिरहेका छैनन् ।
‘यस वर्ष त उत्पादन पनि घट्यो । उत्पादन भए पनि बजार नहुँदा गत वर्षको तुलनामा आम्दानी कम भयो,’ सुशीला भन्छिन् ।
एकातिर उत्पादन बिक्री गर्न चार घण्टा हिँड्नुपर्छ भने अर्कातिर किसानलाई सरकारी सहयोग समेत नभएको उनको गुनासो छ ।
सिस्ने-८ को सुन्तला गुणस्तरीय भए पनि दाङ र सुर्खेत जस्ता ठूला बजार टाढा पर्छ । किसानका बारीसम्म ठूला व्यापारीहरू आउँदैनन् । स्थानीय बजार रुकुमकोट, खलङ्गा (पश्चिम रुकुम) का मागले सबै उत्पादन थेग्न सक्दैन ।
‘उत्पादन बेचेर नुन, तेल, चामल किनेर घर ल्याउँछौं,’ सुशीला भन्छिन्, ‘तर सरकारको सहयोग नहुँदा राम्रो उत्पादन पनि खेर जान्छ ।
४७ वर्षीया नन्दकुमारी बुढाको गुनासो पनि उस्तै छ । ‘सुन्तलाको सिजन सुरु भएदेखि रुकुमकोट धाइरहेकी छु । अहिलेसम्म सरकारले अनुदान दिएको छैन । २०७६ सालमा फाइल पेस गरेकी थिएँ, गाउँपालिकाले हराइदियो ।’
पुथा उत्तरगंगा-८ की कविता मल्ल पनि दैनिक रुकुमकोटसम्म सुन्तला बेच्न आउँछिन् । उनले तीन वर्षअघि एक व्यवसायीलाई ३ गाडी सुन्तला बिक्री गरेको पैसा अझै नपाएको गुनासो गरिन् ।
सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न रोग र विपद्का कारण उत्पादन घटेको यहाँका किसानहरू बताउँछन् ।
सिस्ने-८ लाई २०७४ सालमा ‘सुन्तला पकेट क्षेत्र’ घोषणा गरिएको थियो । प्रदेश सरकारले २०७६/७७ देखि ‘कृषि स्मार्ट गाउँ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेशले सिंचाइ ट्यांकी, पाइप, बिरुवा, काँटछाँट सामग्री, स्टोर, मल पिट र तालिम जस्ता कार्यक्रम रहे पनि किसानले अनुदान भने पाएका छैनन् ।
रुकुमपूर्वमा करिब ३५ देखि ४० हेक्टरमा सुन्तला खेती हुन्छ । ९५ देखि १०० घरधुरी किसान सुन्तला खेतीमा सक्रिय छन् ।
गत वर्ष मात्रै यहाँ २४० मेट्रिक टन सुन्तला उत्पादन भएको र ६० लाख रुपैयाँ बराबरको बिक्री भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख दिल्लीराज पौडेलले बताए ।
उत्पादन, वातावरण र कृषि सम्भावना सबै अनुकूल भए पनि बजार संरचना र राज्यको प्रभावकारी समन्वय अभावले सिस्ने-८ का किसानहरू वर्षैभरि घाटा-नाफाको अनिश्चिततामा बाँचिरहेका छन् ।
सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले सिस्ने-८ मा सुन्तला खेतीले आर्थिक रूपले ठूलो सम्भावना देखाए पनि आवश्यक पूर्वाधार नहुँदा किसानले पूर्ण लाभ लिन नसकेको अवस्था रहेको बताए ।
उनले भने, ‘विगत वर्षमा किसानको उपज खेर नजाओस् भनेर चिस्यान केन्द्र बनाउने हाम्रो लक्ष्य थियो । तर बजेट, प्राविधिक तयारी र कार्यान्वयन प्रक्रियामा आएको ढिलाइका कारण त्यो योजना सफल हुन सकेन । बजारमा सुन्तला बिक्री नहुँदा किसानले आफैं जुस बनाएर बेच्ने प्रयास गरियो । तर आवश्यक प्रविधि र बजार पहुँच नपुग्दा त्यो पनि व्यावसायिक रूपमा टिक्न पाएन ।’
किसानको वास्तविक पीडा बुझेर गाउँपालिका यस वर्षबाट कृषि क्षेत्रमा केही ठोस कदम चाल्ने तयारीमा छ। ‘किसानलाई उत्पादन बटुल्न, ढुवानी गर्न र बजारसम्म ल्याउन सहज होस् भनेर हामी यस वर्ष ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने तयारीमा छौँ,’ रेउलेले भने ।
उनका अनुसार सिस्ने गाउँपालिकामा कृषि सम्भावना धेरै छ । तर त्यहाँ पुग्न अझै योजनाबद्ध लगानी, बजार व्यवस्थापन र किसानमैत्री नीतिको आवश्यकता छ । ‘उत्पादन राम्रो छ, किसानमा इच्छाशक्ति छ । कमी भनेको प्रभावकारी प्रणाली र सरकारी सक्रियता हो,’ उनले थपे ।
रुकुमपूर्व अर्गानिक जिल्ला घोषणा भएको चार वर्ष भइसक्दा पनि किसानहरू रोग, विपद् र बजार समस्यासँग जुधिरहेका छन्।
सुन्तला खेती विस्तार, उत्पादन वृद्धि र किसानमा उत्साह छ । कमी भनेको बजार व्यवस्थापन र सरकारी सक्रियता हो । किसान भन्छन्, ‘नाममा स्मार्ट गाउँ बन्यो, तर काम अझै कागजमै सीमित छ ।’
प्रतिक्रिया 4