+
+

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’मा नेपाली कमेडियनले प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १२:५१

काठमाडौं । अमेरिकापछि अब क्यानडामा पनि नृत्य र हास्य टुर ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ आयोजना हुने भएको छ । पछिल्लो पुस्ताका चर्चित नेपाली कमेडियन भरतमणि पौडेल, कैलाश कार्की, सुमन कार्की र नृत्यांगना करिश्मा ढकालले प्रस्तुति दिने भएका छन् ।

जुन र जुलाई महिनामा विभिन्न क्यानडेली सहरमा कार्यक्रम हुने आयोजक संस्था आई र यू इन्टरटेनमेन्ट, आँगन इभेन्ट्सले जनाएका छन् । ‘यहाँका नेपालीले माग गर्नुभएकै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ । यो शोमा हाँस्ने र नाच्ने हो,’ आयोजक संस्थाका जीआर भण्डारीले भने ।

पछिल्लो समय नेपालीको चाप बढेसँगै क्यानडामा सांस्कृतिक गतिविधि हुन थालेका छन् । विगतमा प्रकाश सपुत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेको संस्थाले कमेडी र नृत्य टुर गर्न लागेको हो ।

टोरोन्टो, लण्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुने जनाइएको छ । क्यानडामा प्रस्तुति दिने खबरले उत्साहित कमेडियन सुमन कार्कीले भने, ‘क्यानडामा पहिलोपटक प्रस्तुति दिंदै छौं । त्यहाँका लागि हामीले फरक रुपमा आफ्नो तयारी गरिरहेका छौं ।’

अमेरिका, बेलायत र युरोपमा प्रस्तुति दिइसकेका सुमनले यसपटक विशेष तयारी गरिरहेको बताए । कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभास दिलाउने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?