
काठमाडौं । हिमालय रोडिजको छैटौं सिजनका विजेता जोसेफ शर्मालाई सिक्किममा भव्य स्वागत गरिएको छ । त्यहाँस्थित इन्डियन रिजर्भ बटालियनले उनको सम्मान र स्वागत गरेको हो । जोसेफ बटालियनका जवान पनि हुन् ।
गतसाता जोसेफले नेपाली एड्भेन्चर टिभी रियालिटी शो ‘हिमालय रोडिज ६’को उपाधि जितेका थिए । उनले अनुपविक्रम शाहीको टीमबाट प्रतिस्पर्धा गरेका थिए । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाली फिल्ममा अभिनय गर्ने चाहना व्यक्त गरेका थिए ।
सिक्किमको रंगपोमा आइआरबी बटालियनका जवान, आफन्त, परिवार र साथीहरूले भव्य स्वागत गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनका स्थानीय कोचले जोसेफ सानैदेखि अनुशासित रहेको बताए ।
सम्मानपछि मिडियासँग कुरा गर्दै जोसेफले रोडिजमा विजयी भएबापत प्राप्त पुरस्कारलाई खेल क्षेत्रमा लगानी गर्ने बताए । तर, रोडिजमा जितेको यामहाको मोटरसाइकललाई भने भन्सार र करको कारण उनले भारत लगेका छैनन् । चाँडै प्रक्रिया पुरा गरेर लैजाने उनले बताए । आफू भविष्यमा ग्ल्यामरभन्दा खेल क्षेत्रमा अघि बढ्न खोजेको जोसेफले बताए ।
प्रतिक्रिया 4