+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हराउँदै गाउँघरमा परम्परागत टपरी

रासस रासस
२०८१ माघ ३० गते ६:४६

३० माघ, उदयपुर । उदयपुरको ग्रामीण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ ।

हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो । विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो ।

व्यावसायिक रुपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी सङ्कटमा पर्दै गएको थारु समुदायका महिला बताउँछन् । त्रियुगा नगरपालिकाको मोतिगडा, बगाहा, जोगिदह, देउरी, खैजनपुर, मोथ्याई, पोर्ताहा, लक्ष्मीपुर, पुरानो गाईघाट र गैरुन क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायको विवाह, भोज, भतेरलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा अनिवार्य रुपमा भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन छ ।

कागजको टपरीको कारण आफूहरुको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउँछन् । थारु समुदायको भोज भतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा भोर्लाको पातको टपरीमा अरुलाई खाना दिने चलन छ । हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।

‘दश वर्ष अगाडिसम्म गाउँघरमा भोज भतेरमा अनिवार्य भोर्लाको पातको टपरीमा खाना खान दिने लचन थियो । जङ्गलबाट पात ल्याएर टपरी उद्योग नै चलाएका थियौँ’, त्रियुगा–४ बगाहाकी ५५ वर्षीया मंगलीदेवी चौधरी भन्छिन्, ‘सबैतिरबाट टपरीको माग आउँदा वार्षिक ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको थियो ।’

केही वर्षयता टपरीको माग हुन छाडेको र कागजको टपरी प्रयोग गर्न थालेपछि आफूहरुको रोजगारी संकटमा परेको मंगलीदेवी चौधरी बताउँछिन् ।

चौदण्डीगढी नगरपालिका–४ सुन्दरपुरका ६७ वर्षीय रेवतलाल चौधरी भन्छन्, ‘केही वर्षअघिसम्म अनिवार्य भोर्लाको टपरी प्रयोग गर्ने चलन थियो । कागज र प्लास्टिकका टपरी प्रचलनमा आएपछि भोर्लाको टपरी लोप नै हुने अवस्था आयो ।’

थारु कल्याणकारी संघ उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीले पूर्खाको पालादेखि भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन भए पनि अहिले हराउँदै गएको बताउँछन् । उनले संस्कृति र संस्कार बचाउन आवश्यक रहेको बताए ।

केही वर्षअघिसम्म भोर्लाको टपरीका लागि जिल्लाबाहिर सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत ठाउँबाट माग आउने गरेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउँछन् । भोर्लाको पातको टपरी आफूहरुको सांस्कृतिक पहिचान भएको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?