 
																			५ फागुन, काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेको छ ।
कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए ।
अनलाइनखबरसँग सम्पर्कमा आएका बी–आईटी चौथो वर्षका एक नेपाली विद्यार्थीले भने, ‘घटनाबारे छानबिन गर्न माग गर्दै नेपाली त्यहाँका अरु विद्यार्थीहरुले प्रदर्शन गरेका थियौं, प्रशासनले त्यसलाई दबाउन हामीलाई कलेजबाट निकालेको छ ।’

उनका अनुसार, कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत् थिए ।
लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।
आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ ।
शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । ‘प्रदर्शन बढ्दै गएपछि कलेज प्रशासनले केही नेपाली विद्यार्थीलाई बोलाएको थियो, त्यसपछि सबैलाई कलेज छाडेर जान भनेको छ’, ती विद्यार्थीले भने, ‘हामीलाई अहिले सस्पेन्ड गरिएको छ, हाम्रो केही कुरा सुनिएको छैन ।’
सामाजिक सञ्जालमा समेत प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि दमन गरिएको भिडियोहरु भाइरल भइरहेका छन् ।
सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड पनि भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुर्व्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ ।
‘उनले आफूलाई जोगाउन खोजेकी थिइन्, केही महिना पहिले उनी सहयोग माग्दै कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई भेट्न पनि पुगेकी थिइन्’, थ्रेडमा भनिएको छ, ‘उनले त्यहाँ दुर्व्यवहारबारे खबर गरेकी थिइन्, मानसिक दुर्व्यवहार र सहन नसकिने दुःखहरुबारे ।’
तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ ।
‘एउटा जिन्दगी एक व्यक्तिको टक्सिसिटीले गरेर मात्र सकिएन, कलेजको लापरबाहीले पनि सकियो’, उनले भनेका छन्, ‘अहिले जिम्मेवारी लिन छाडेर कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको छ । सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको छ ।’
अहिले प्रर्दशन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4