 
																						१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेताहरू आफूलाई बलियो बनाइराख्न कार्यकर्तामाथि हावी हुने गर्छन् । आफू अनुकूल हुनेगरी कार्यकर्ता प्रयोग गर्ने प्रवृत्तिबारे कांग्रेसमा प्रचलित बोली नै छ, ‘तिमीलाई म क्रियाशील सदस्य बनाउँछु । माथि आएर मलाई चुन्न सहयोग गर ।’
केन्द्रमा समूह वा व्यक्तिको बल थप्नका लागि आफू अनुकूल व्यक्तिहरूलाई क्रियाशील सदस्य बनाउने प्रचलन बसेको नेताहरू स्वीकार्छन् । तिनै क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्छन् । पार्टीमा विधि नभई व्यक्ति/समूह हावी हुँदा एक गुटले अर्कालाई शत्रुतापूर्ण व्यवहार गर्ने प्रवृत्तिको विकास भएको छ । केन्द्रमा आउने महाधिवेशन प्रतिनिधि फरकधारको भए तल नै पराजित गरेर रोक्ने प्रवृत्ति छ ।
गुटको बिजारोपण केन्द्रीय तहबाट नै भएपछि त्यही विषयले कांग्रेसलाई संकटमा पारेको छ । तलैदेखिका कार्यकर्ता कुनै न कुनै गुटमा आवद्ध हुँदा संगठन कमजोर हुन पुगेको छ । केन्द्रले जन्माएको समस्या झाँगिदै मातहतका सबै संरचनामा पुगेपछि कांग्रेसभित्र गुट अन्त्यका लागि बहस हुन्छ । नेता–कार्यकर्ता चिन्ता गर्छन् । तर समस्या ज्यूँका त्यूँ रहन्छ ।
विधानसंगत जाने हो भने महाधिवेशन हुने वर्षमा क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न मिल्दैन । तर विगतमा यो विधि कार्यान्वयन भएको छैन । विधान कार्यान्वयन गर्नका लागि यसपटक चैतभित्र नवीकरणको कार्यसँग महामन्त्री गगन थापाले मातहतका संरचनालाई परिपत्र गरेका छन् ।
‘समस्या केन्द्रमा छ’
कांग्रेसको आधार तहमा क्रियाशील स्थानीय नेता–कार्यकर्ता गुटको रोग केन्द्रले सारेको बताउँछन् । सल्यान, रोल्पा र प्युठानमा कांग्रेसका नेता–कार्यकर्तासँग कुरा गर्दा गुटका कारणले संगठन कमजोर हुन पुगेको विश्लेषण सुनाए ।
सल्यानस्थित छत्रेश्वरी गाउँपालिकाकी कांग्रेस सभापति सीता केसीले गुटकै समस्याले पालिकामा पराजित भएको बताइन् । पार्टीमा गुट अन्त्यका लागि पालिका तहको प्रयासले नहुने केसीको निक्र्योल छ । ‘केन्द्रबाट नै गुट–उपगुट अन्त्य गर्दै आयौं भने जिल्ला, प्रदेश र पालिकामा आफैं हट्छ,’ केसीले अनलाइनखबरसँग भनिन्, ‘गुटको लहरो केन्द्रदेखि आएको हो । केन्द्रमा मिल्नुभयो भने नेताहरूले यहाँको चिन्ता लिनै पर्दैन । हामी मिलाउँछौं ।’ छत्रेश्वरीमा कांग्रेसबाट अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका केशबहादुर विष्ट पराजित भएका थिए ।
सल्यानकै कालीमाटी गाउँपालिका कांग्रेस सभापति गणेश केसी आमकार्यकर्ताको चाहनाअनुसार टिकट नहुँदा पार्टीभित्र एकता हुन नसकेको बताउँछन् । गुटका कारणले पार्टीले क्षति बेहोरेको सुनाउँदै उनी भन्छन्, ‘कसको पछि लागेर पालिका अध्यक्ष बन्न सकिन्छ भन्ने मनोविज्ञानले काम गरेको छ । एउटाले टिकट पाए अर्काले हराउने प्रवृत्ति छ । पार्टीमा अनुशासन छैन ।’
गुटको कारण एकता खल्बलिएको महामन्त्री गगन थापा स्वयंले प्युठानमा भोगे । १२ फागुनमा प्युठानको बिजुवारमा सभाका लागि सम्बोधन गर्न पुगेका महामन्त्री थापा सहभागी एक कार्यक्रममा जिल्लाका केही नेता अनुपस्थित भइदिए । प्युठानमा केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल र लुम्बिनीका मन्त्री सरोज थापा (रोज राणा) को सम्बन्धमा तिक्तता छ ।
उक्त सभामा जिल्ला उपसभापति देवेन्द्र बर्मा, पूर्व पार्टी सभापति सुवास केसी लगायत उपस्थित भएनन् । अनुपस्थितहरू पार्टी सभापति शेरबहादुर देउवा पक्षका रुपमा जिल्लामा परिचित छन् । जिल्ला तहका नेताहरूका अनुसार मञ्चमा मर्यादाक्रम निर्धारणको चित्त नबुझेर देउवा पक्षीय नेताहरू बैठकमा सहभागी नभएका हुन् ।
महामन्त्रीलाई प्रमुख अतिथि बनेको सभामा अनुपस्थित नियोजित नभएको जिल्ला उपसभापति बर्मा बताउँछन् । कम्युनिष्टबाट कांग्रेसले दुःख पाएको जिल्ला रहेको सुनाउँदै उपसभापति बर्माले पार्टीभित्र एकता हुनुको विकल्प नरहेको सुनाए । ‘राष्ट्रिय मेलमिलाप परिषद्को कार्यक्रमका लागि म धनगढी हुँदा सभामा उपस्थित हुन सकिनँ । सुवास दाइ भूमि आयोगको कार्यक्रममा जानुभएको थियो,’
अनुपस्थित हुनुको कारण उल्लेख गर्दै बर्माले भने, ‘पूर्व योजना बनाएर अनुपस्थित भएका होइनौं । शहरी विकास मन्त्रालयको कामले रोज राणा काठमाडौं जानुभएको रहेछ ।’
केन्द्र तथा प्रदेशका नेताहरूलाई निम्त्याएर कांग्रेसले सभा गरेको थियो । जिल्लाभरबाट कार्यकर्ता र कांग्रेस शुभेच्छुक सभामा सहभागी थिए । त्यही सभामा उपस्थित पार्टीको शुभेच्छुक संस्था यातायात मजदुर संघका अध्यक्ष हरि खड्का पार्टीमा देखिएको गुटप्रति चिन्तित देखिए ।

पार्टीले टिकट दिएपछि गुट–उपगुटमा लाग्न नहुने विचार राख्ने खड्काले गुटकै कारणले एक पक्षले आफूलाई किनारामा राख्ने प्रयत्न गरेको बताए । ‘गुटका कारण कांग्रेस एक हुन सकेन,’ खड्का भन्छन्, ‘पार्टीमा व्यक्ति हावी भए । बीपीको सिद्धान्तले पार्टी चल्नेभन्दा पनि व्यक्तिका सिद्धान्त र चाकडी हावी भयो ।’
खड्काको जस्तै बुझाइ स्वर्गद्वारी नगरपालिका पार्टी सचिव थानेश्वर कालाथोकीको पनि छ । केन्द्रमा भएको गुट–उपगुट वडासम्म आइपुगेको उनले सुनाए । ‘गुट बनाउने मान्छेहरू सफल भएका देखिन्छन्,’ कालाथोकी भन्छन्, ‘पार्टीलाई भने राम्रो भएको छैन ।’ स्थानीय नेताहरूका अनुसार प्युठानमा देखिने गरी गुटको उत्पत्ति गत महाधिवेशनबाट सुरु भएको हो । आन्तरिक खिचातानीले एकले अर्कालाई सम्मान नगर्ने प्रवृत्ति रहेको उनीहरू सुनाउँछन् ।
टिकट प्राप्तिका लागि हानथाप नहुने हो भने गुट कमजोर हुने अवस्था रोल्पाले देखाउँछ । कांग्रेस उम्मेदवार पराजित हुने आकलनले टिकटका लागि कार्यकर्ताहरू माथिल्लो तहमा धाउँदैनन् । उपल्लो तहका नेता मनाउन कार्यकर्ता नलागेपछि गुटको विकृत रुपमा रोल्पा देखिन्न ।
२०५६ सालमा रोल्पाबाट प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित लेखनाथ आचार्य टिकटका लागि मरिहत्ते गर्नेहरू नभएको दाबी गर्छन् । माडी गाउँपालिकाका कांग्रेस सभापति नवराज डाँगीको मत पनि आचार्यको जस्तै छ । उनी भन्छन्, ‘टिकट पाउने आशा राखेर माथिका नेताकहाँ धाउने कार्य रोकिए गुट नबन्ने रहेछ ।’
गुट अन्त्यको विकल्प के ?
वडा तहदेखि केन्द्रसम्म हुने गुटले पार्टीलाई क्षति पुगेको विश्लेषणसहित महामन्त्री गगन थापाले बहसका लागि नयाँ विकल्प अघि सारेका छन् । थापाले ल्याएको प्रस्ताव अनुसार पार्टी सभापति क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने छ ।
क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व चुनिने व्यवस्थामा गए गुटबन्दी सदाका लागि अन्त्य हुने महामन्त्री थापाको विश्वास छ । थापाले, ‘यसलाई बदलेर लाखौँ, क्रियाशील सदस्यले प्रत्यक्ष भोट हालेर सिधै केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्थामा जाने हो भने गुट त्यसै दिनबाट सदाको लागि अन्त्य हुन्छ ।’
हाल क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र उनीहरूबाट महाधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था छ । संघीय निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।
महामन्त्री थापाले भने मुताविक सभापति चयन गर्नका लागि विधानको व्यवस्था संशोधन गर्नुपर्ने हुन्छ । विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पार्टीले गरे पनि गठन भने गरिसकेको छैन । लाखौं क्रियाशील सदस्यबाट चुनिने व्यवस्थाले गुट बन्ने अवस्था अन्त्य हुने थापाको विश्वास छ ।
गुट अन्त्यका लागि उनको अर्को प्रस्ताव टिकट वितरण प्रणाली परिवर्तन गर्नुपर्नेछ । सम्बन्धित पार्टी संरचनामा रहेका क्रियाशील सदस्यले त्यहाँको उम्मेदवार छान्न पाउनुपर्ने गरी विधान संशोधन गर्नुपर्ने तर्क उनले राखेका छन् । गुट अन्त्यका लागि थापाले अघि सारेको तेस्रो विकल्पमा महाधिवेशनका लागि तह–तहमा हुने निर्वाचनलाई घटाउनुपर्ने छ । महाधिवशेनका लागि पार्टीका धेरै संरचनामा निर्वाचन हुँदा वैमनस्यता बढेको थापाको विश्लेषण छ ।
लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनको बुझाइमा महाधिवेशन प्रतिनिधि चयन गर्ने अहिलेको पद्धतिले गुट बनाउन सहयोग गरिरहेको छ । महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि हटाउनुपर्ने पुनको माग छ । ‘क्रियाशील सदस्यबाट नै केन्द्रीय सभापतिदेखि वडा सभापतिसम्म छनोट गर्ने व्यवस्था गरौं । मापदण्ड बनाऔं,’ पुन भन्छन्, ‘होइन भने संगठनमा खट्ने साथीहरू तलै बस्नुपर्ने र नेताको वरिपरि घुमेर लाभको पद लिनेहरू माथि–माथि पुग्ने स्थिति बनिरहन्छ ।’
हुम्लाका सभापति मोहनविक्रम सिंह गुट निमिट्यान्न तत्काल सम्भव नरहेको बताउँछन् । सिंहको बुझाइमा केन्द्रीय नेताहरू तल्लो तहबाट नै निर्वाचित हुनेगरी विधान संशोधन भए गुट नियन्त्रणमा बल पुग्छ । हालको विधान अनुसार केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । ‘विगतदेखि गुट भइराखेकाले यो चलिरहने प्रक्रिया हो । हार्ने र जित्नेको एक/एक गुट हुने हुँदा अहिले नै समूह निमिट्यान्न हुन्छ भन्न सकिन्न,’ सिंहले भने, ‘केन्द्रीय नेताहरू वडा तहबाट नै निर्वाचित हुँदै आउने गरी विधान संशोधन हुनुपर्यो ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4