
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले १५ औं महाधिवेशन फेरि सभापतिको उम्मेदवार हुने संकेत गरेका छन् ।
सिंहले संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बाहेकका पदमा पुगिसकेको सुनाउँदै सभापति पदमा पुग्ने इच्छा व्यक्त गरे ।
आइतबार सुर्खेतमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा शहरी विकासमन्त्री समेत रहेका सिंहले विरासत र तल्लो तहको राजनीति गरेको बल आफूसँग रहेको दाबी गरे ।
‘लिगेसी, लिगेसी, लिगेसी भन्नुहुन्छ नि । लिगेसी पनि छ । मेरो लिगेसी मात्रै होइन । विद्यार्थी जीवनकालदेखि नै जिल्लाको नेतृत्व सम्हाल्दै, जेलनेल सबै भोगेर विभिन्न पदमा अनुभव पनि बटुलिसकेको छु,’ सिंहले भने, ‘संसदीय दलको उपनेता भइसकेको मान्छे हुँ म । संसदीय दलको नेता बन्न बाँकी छ । कांग्रेसको इतिहासमा निर्वाचित पहिलो महामन्त्री म हुँ ।’
पार्टी सभापति र प्रधानमन्त्री बाहेक सबै पदमा पटक–पटक अनुभव प्राप्त गरिसकेको उनले बताए ।
अघिल्लो महाधिवेशनमा सभापतिमा उठिसकेको हुँदा त्यही पदमा उठ्ने आशय व्यक्त गरे । ‘त्यो भन्दा तलको पदमा त कोही पनि उठ्ला जस्तो लाग्दैन । उठ्नका लागि पनि सबै परिस्थिति मिलाउन सक्ने हुनुपर्दछ । को उठ्छ । को उठ्दैन । समय आएपछि थाहा हुने कुरा हो,’ सिंहले भने ।
विधान र संविधानले दिएको व्यवस्था अनुसार महाधिवेशन हुने सिंहले बताए ।
समयको पावन्दीलाई मध्यनजर गरेर महाधिवशेनलाई गराउन सक्नुपर्ने विचार राखे । १४ औं महाधिवेशनमा दोस्रो चरणको मतदानमा सिंहले सभापतिमा शेरबहादुर देउवलाई सघाएका थिए ।
सिंहले पार्टीलाई विधिसंगत, संस्थागत गराउने आफ्नो जोड सधैं दिएको बताए । पोखरामा भएको १० औं महाधिवेशनदेखि पार्टीलाई विधिसंगत बनाउने माग निरन्तर उठाइरहेको सुनाए ।
फरक प्रसंगमा पत्रकारको जवाफ दिँदै सिंहले सुशासन ल्याउनका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । संसद् बैठक चालु नरहेको बेलामा सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था रहेको उनले सुनाए ।
‘वर्तमान सरकारले मात्रै होइन । अहिले जसले विरोध गरिरहेका छन् । ती दलहरूले पनि आफू सत्तामा हुँदा अध्यादेश ल्याउनुभएको हो ।’
प्रतिक्रिया 4