 
																			२६ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेश सभामा उपस्थित भएर सम्बोधन गर्ने भएका छन् ।
प्रदेश सभाका कार्यबाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा उपस्थित भएर सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची तय भए पनि बैठकमा प्रतिपक्षी दलहरूको उपस्थितिको टुंगो लागिसकेको छैन । प्रदेश सरकार सदन प्रति उत्तरदायी नभएको भन्दै प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सम्बोधनको क्रममा उपस्थित हुनुपूर्व आफ्ना सरोकार सम्बोधन हुनु पर्ने सर्त राखेका छन् ।
सरकारले सर्त पूरा नगरे मंगलबारको बैठकमा उपस्थित नहुने विपक्षी दलहरूको भनाइ छ ।
‘प्रमुख प्रतिपक्षी दलले बैठकलाई सम्बोधन गर्ने बेला मुख्यमन्त्री संसद्मा आउनु भएन । अहिलेसम्म विपक्षीले उठाएका विषयमा संवेदनशील भएर सरकार प्रस्तुत भएको पनि छैन,’ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘सरकारलाई संसद्को जरुरत नपर्ने केबल कारिन्दा ठान्ने अनि उहाँहरूले भनेका बेला हामी उपस्थित हुनुपर्ने ? यो कुनै बाध्यता छैन, यथास्थितिमा छलफलमा जाँदैनौं ।’
प्रदेश सभाका विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले मंगलबारको बैठक बहिस्कार गर्ने विषयमा धारणा बनाउन छलफल पनि गरेका छन् ।
माओवादी केन्द्रले संसद्लाई सम्बोधन गर्ने प्रधानमन्त्रीको मन्तव्यबारे संसद्लाई अग्रिम जानकारी नि माग गरेको छ । प्रधानमन्त्रीले आफ्ना अभिव्यक्तिमा सधैंजसो विपक्षीहरूलाई होच्याउने, गाली गर्ने गरेको भन्दै माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले प्रधानमन्त्रीले राख्ने मन्तव्यको विषयमा अग्रिम जानकारी दिन माग गरे ।
‘उहाँले अन्टसन्ट बोल्नुभयो भने विपक्षीले प्रतिरोध गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘प्रधानमन्त्री जस्तो संस्थालाई बोलाएर विपक्षीले संसद अवरोध गर्नुपर्ने वा संसद्मा नियमापत्ति गर्नुपर्ने विषय बन्यो भने राम्रो हुन्न ।’ बैठकलाई सहज रूपमा सञ्चालन गराउन सरकार जिम्मेवार हुनुपर्ने र प्रधानमन्त्रीले बोल्ने मन्तव्य अग्रिम जानकारी दिनुपर्ने उनले बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले बैठकमा सहभागी नहुने बताए । ‘प्रदेशको अधिकार चाहिँ दिँदैनन्, आएर भाषण मात्रै गर्छन्,’ उनले भने, ‘प्रदेश सभा भातृ संस्था त होइन नि ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4