
काठमाडौं । नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ले एडिलेडबाट आफ्नो बहुचर्चित अस्ट्रेलियाको सांगीतिक भ्रमण थालेको छ । ९० को दशकको हिट ब्याण्ड दक्षिण अस्ट्रेलियाली सहरमा गुञ्जियो ।
धेरैपछि आफ्नो प्रिय सांगीतिक समूहका गीत सुन्न एडिलेडमा हजारौंको संख्यामा दर्शक सहभागि रहे । नेपाली डायस्पोराको हृदयसँग सीधै सम्बन्ध जोड्ने कालजयी पप ‘हङकङ पोखरा’, चन्चले कान्छीको, तिमी पारी, लेककी हे मायामा दर्शक झुमे ।
छिप्पिएको रातसँगै एडिलेडस्थित नेपाली समुदाय र नेपालीभाषीले आफूलाई मन्त्रमुग्ध तुल्याए । गैरआवासीय नेपाली संघको आयोजनामा ‘ कन्दरा’ अस्ट्रेलियाको टूरमा निस्किएको हो ।
यसअघि पनि ब्याण्डले अस्ट्रेलिया टूर सम्पन्न गरिसकेको छ । ३२ वर्षको सांगीतिक विरासत बोकेको ब्याण्डको यसपटकको अस्ट्रेलिया भ्रमण भिन्न छ । नयाँ लाइनअप र उद्देश्यसहित विश्वयात्रामा निस्किएको ब्याण्ड अहिले जुर्मुराएको छ र नारा तय छ- ‘पहिला घरदेश अनि परदेश ।’
ब्याण्डका अगुवा विवेक श्रेष्ठको नेतृत्वमा निस्किएको ब्याण्डले मेलबर्नमा १५ मार्च, क्यानबेरामा २२ मार्च, होबर्टमा २९ मार्च र ब्रिसबेनमा ६ अप्रिलमा प्रस्तुति दिने तय छ ।
यसअघि ‘कन्दरा’ले ब्याण्डले नेपालसहित बेलायत, युएई, कतार र हङकमा प्रस्तुति दिइसकेको छ । बेलायतबाट सुरु भएको कन्दराको अन्तर्राष्ट्रिय टूर मे र जुन महिनामा अमेरिका र क्यानडामा हुने अपेक्षा गरिएको छ ।
ब्याण्डको वर्तमान लाइनअपमा भोकलमा विवेकसहित ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।
प्रतिक्रिया 4