२९ फागुन, जनकपुरधाम । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी बाँधमा आमरण अनशन बसेका मलाह समुदायका पाँच वृद्ध अगुवाहरूले अनशन तोडेका छन् ।
तीन बुँदे सहमतिसँगै उनीहरूले अनशन तोडेका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उनीहरूलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।
मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री महेशप्रसाद यादव, निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी लगायतको उपस्थितिमा सहमति भएको थियो।
सम्झौता पछि जनमत पार्टीका अध्यक्ष डा. राउतले मलाह समुदायका जायज मागहरू सम्बोधन गर्न पार्टीले आवश्यक पहल गर्ने प्रतिबद्धता गरे ।
मलाह कल्याण संघका केन्द्रीय सदस्य ६५ वर्षीय बेचन मुखियाको नेतृत्वमा ७५ वर्षीय विलेक्षण मुखिया, ७० वर्षीय रशीलाल मुखिया, ६४ वर्षीय पञ्चलाल मुखिया र ६१ वर्षीय सदमलाल मुखिया २५ फागुनदेखि आमरण अनशनमा बसेका थिए ।
सरकारी स्वामित्वमा रहेका मत्स्य फार्म, सिमसार क्षेत्र तथा जलाशयहरूमा मलाह समुदायलाई ५० प्रतिशत आरक्षण दिनुपर्ने, संघीय तथा सातवटै प्रदेशमा मत्स्य मन्त्रालय स्थापना गर्नुपर्ने लगायत २० बुँदे माग राखेर उनीहरू अनशनमा बसेका थिए ।
सहमति अनुसार, आन्दोलनको स्वरूप परिवर्तन गर्ने, मलाह समुदायले उठाएका जायज मागहरू सम्बोधन गर्न नेपाल मलाह कल्याण संघका प्रतिनिधि तथा विज्ञ सम्मिलित कार्यदल गठन गर्ने र जिल्ला-स्तरमा अन्तर्क्रिया गर्दै प्राप्त सुझाव संकलन गरी काठमाडौंमा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइने उल्लेख छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4