 
																			४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’
कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए । ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।
सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे ।
‘कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा पनि कसैसँग भएको छैन,’ उनले भने, ‘अन्यअन्य विषयमा त कुरा हुन्छ, जस्तो टीआरसी, सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ, मैले गरी पनि राख्या छु । तर सरकार बनाउने बारेमा यो पटक हामी बिल्कुल छैनौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनको सुरुआतदेखि नै माओवादी केन्द्रको ठूलो विमति भएको भन्दै प्रचण्डले सरकारमा मिलनविन्दु नदेखेको बताए ।
आफूहरु भ्रष्टाचार नियन्त्रणको पक्षमा र वर्तमान सरकार भ्रष्टाचारी संरक्षणको पक्षमा रहेको टिप्पणी गर्दै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने कि भ्रष्टाचारीको रक्षा गर्ने, हामी त्यसमाथि रोक्नुपर्छ भन्ने अभियानका पक्षपाती भयौं । अहिलेको सरकार त्यसलाई बचाउनेको पक्षपाति भएपछि त्यहाँ अहिले सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4