 
																			४ चैत, काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको बिदाइका लागि आयोजना गरेको कार्यक्रमको समय पटकपटक सरेको छ ।
अपराह्न ४ बजे कुँवरको बिदाइ कार्यक्रम राखिए पनि मन्त्रिपरिषद् बस्न ढिलाइ भएपछि ५ बजेलाई सारिएको थियो । तर, अहिलेसम्म पनि बैठक सुरु नभएपछि कार्यक्रम फेरि सारिएको छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, नयाँ नियुक्त हुने आईजीपीलाई जिम्मेवारी हस्तान्तरण समेत सँगै गर्नेगरी कार्यक्रम राखिएको थियो ।
तर, मन्त्रिपरिषद् बैठक बस्न ढिलो हुँदा कार्यक्रम प्रभावित भएको ती अधिकृतले बताए । ‘पहिले अपराह्न ३ बजे बैठक बस्ने भन्ने थियो, त्यही अनुसार कार्यक्रम तय गरेका थियौं’, ती अधिकृतले भने, ‘तर, ढिलाइ भएसँगै फेरि कार्यक्रम सारेका हौं ।’
आईजीपी कुँवरसहित उनका ब्याचका उच्च अधिकृतहरू सोमबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
कुँवरको अवकाशपछि प्रहरीको ३१ औं आईजीपी बन्न एआईजी दिपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा छन् । थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् भने तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको कमाण्ड गरिरहेका छन् ।
गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा छन् । उनीहरुमध्ये प्रहरी नेतृत्वमा पुग्नेले अहिलेको अवस्थामा ६ महिना फौजको कमाण्ड सम्हाल्न पाउनेछन् । यदी संसद्मा पेश भएको प्रहरी विधेयक पारित भएर लागू भए थप ६ महिना कार्यकाल थपिनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4