काठमाडौं । ‘भगवानको दोस्रो रुप हो डाक्टर ।’ जब आईभीएफबाट पमी कर्णले आफू गर्भवती भएको थाहा पाइन्, उनको मुखबाट निस्किएको पहिलो वाक्य यही थियो । पम्मी कर्णको जीवनमा सन्तानसुख प्राप्ति सहज थिएन । विवाहको १४ वर्षसम्म उनी नि:सन्तान थिइन् । यसबीचमा गरेका अनेक प्रयास सफल हुन सकेको थिएन ।
प्राकृतिक तरिकाबाट सन्तान लाभ नभएपछि उनले आईभीएफ प्रविधिलाई अन्तिम विकल्पको रुपमा रोजेकी थिइन् । यसका लागि भारतसम्म धाइन् । तर, कुनै उपलब्धि हुन सकेको थिएन ।
अन्ततः उनी पुगिन् नक्सालस्थित वात्सल्य आईभीएफ सेन्टरमा ।
पहिलो पटकको प्रयास काम लागेन । यद्यपि उनले हार खाइनन् । अर्को पटक पनि प्रयास गरिन् । यसपटक उनको गर्भ रह्यो ।
यतिबेला उनको उमेर ३६ वर्षको भइसकेको थियो र विवाह गरेको १४ वर्ष गुज्रिसकेको थियो । जसै उनले आफू गर्भवती भएको भेउ पाइन्, खुसीले गद्गद् भइन् । यतिबेला उनको काखमा जुम्ल्यहा सन्तान छन् । दुवै स्वस्थ छन् ।
अनगिन्ती प्रयासपछि सफलता
विहे भएको १४ वर्षसम्म सन्तान नहुनु भनेको सामान्य कुरा होइन । विवाह गरेको एक वर्षपछि सन्तान नहुँदा त अनेकौं वचन सहनु पर्ने समाजमा उनले मानसिक र भावनात्मक उत्तारचढाव धेरै व्यहोरिन । यसमा कुनै शंका छैन । तर, परिवारको दरिलो साथ थियो । ‘सन्तान नहुँदा बाहिरका व्यक्तिहरूले जे भने पनि घरमा भावनात्मकरुपमा सहयोग पाएँ । तर, भित्रभित्रै धेरै पिरोलिहे, ’कर्ण सुनाउँछिन् ।
प्राकृतिक रुपमा पमीले विभिन्न उपचार विधिहरू अपनाइन्। परम्परागत उपचारदेखि आधुनिक उपचारसम्म उनले धेरै विकल्प खोजिन्। उनी थुप्रै अस्पताल धाइन्, विभिन्न परीक्षण गराइन्, तर सफल हुन सकिनन्। अन्ततः उनी वात्सल्य फर्टिलिटी सेन्टर पुगिन्, जहाँ उनको उपचार निःसन्तानपन रोग विशेषज्ञ डा. निजा राजभण्डारीले गरिन्।
डा. निजाका अनुसार पमीको पाठेघरको मुख निकै सानो थियो । हर्मोनल असन्तुलन र पाठेघरमा सिस्ट भएका कारण उनको शरीरले प्राकृतिक रूपमा गर्भधारण गर्न सक्ने अवस्था थिएन।
‘हामीकहाँ आउँदा उनको उमेर ३५ वर्ष कटिसकेको थियो’ डा. निजाले सुनाइन्, ‘अण्डा पनि कमजोर थियो, त्यसमाथि पाठेघरमा सिस्ट ठूलै आकारको थियो । शल्यक्रिया नगरी गर्भधारण नहुने अवस्था थियो ।’
डा. निजाको सुझाव अनुसार कर्णले शल्यक्रिया गराइन् । त्यसको एकवर्ष पछि आईभीएफ गरिन् । पमीको उपचारमा पहिला हर्मोनल सन्तुलन गराउन केही औषधि दिइयो । त्यसपछि अण्डालाई निषेचन गरेर भ्रुण तयार गरेर पाठेघरमा हालियो ।
पहिलो पटक आईभीएफ गर्दा उनी असफल भइन्। असफलता ठूलो थियो, तर उनले आशा मारिनन्। उनले पुनः हिम्मत जुटाइन् र दोस्रो पटक प्रयास गरिन्। यही प्रयास सफल बन्यो, जुन उनको जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण थियो।
उनी अरुलाई पनि सन्तान भएन भनेर पहिलै आश मार्नुभन्दा जतिसक्दो छिटो उपचारतर्फ लाग्न र धैर्य हुन सल्लाह दिन्छिन् ।
उनले वात्शल्यमै पुगेर आईभीएफको नाम सुनेकी भने होइनन् । तर उनलाई नेपालमा यसको उपचार हुन्छ भन्ने मेसो थिएन ।
सन्तान नभएपछि उनी भारतमा पुगेर पनि आईभीएफको उपचार गरिन । त्यहाको अनभुव सुनाउदै उनी भन्छिन्, ‘चिकित्सकले पाँच मिनेटको समय दिने, त्यसमा कति प्रश्न सोध्ने, के गर्ने मेसो नहुने । मेरो समस्या के हो भनेर पनि थाहा भएन । आईभीएफ गरौँ भन्नुभयो सोही अनुसार उपचार प्रक्रिया अघि बढ्यो । दुई पटक उपचार असफल भएपछि मन गरुङ्गो पारेर नेपाल आएँ ।’
आईभीएफको सुविधा विदेशको भन्दा कम छैन
डा. राजभण्डारीका अनुसार कर्ण जस्ता कयौं दम्पती आईभीएफ गराउन ठुलो रकम खर्चेर अन्य देश पुगेर पनि असफल भएर आएको धेरै केस छ । जब कि, , नेपालमै यसको उपचार दक्ष चिकित्सकबाट भइरहेको छ ।
‘बाहिर जाँदा बस्न, आउन र जान खर्च उत्तिकै लाग्छ । स्वदेशमा नै सर्वसुलभ सेवा र सफलाको दर पनि उच्च छ, ’उनी भन्छिन् ‘आईभीएफ गर्नेबित्तिकै सफल भइहाल्छ भन्ने पनि हुँदैन । यसका लागि धैर्य, हर्मोनल सन्तुलन जस्ता धेरै कुराको सन्तुलन हुनुपर्छ।’
लोकप्रिय बन्दै आईभीएफ प्रविधि
आईभीएफ प्रविधि विज्ञानको यस्तो चमत्कार हो, जसले निःसन्तान दम्पतीलाई आमाबाबु बन्ने अवसर दिन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा यो प्रविधि धेरै लोकप्रिय बन्दै गएको छ।
आईभीएफ प्रक्रियामा महिला र पुरुषको शुक्रकीट (स्पर्म) तथा डिम्ब (एग) बाहिर निकालेर ल्याबमा निषेचन गरिन्छ र त्यसपछि भ्रुणलाई पाठेघरमा राखिन्छ। यो प्रविधिले हजारौं निःसन्तान दम्पतीहरूको सपना पूरा गरिसकेको छ
पमीको लागि पुनर्जन्म समान अनुभूति
पमी २३ दिनकी सुत्केरी हुन् । उनले दुई स्वस्थ छोरालाई जन्म दिएकी हुन्।
पमी भन्छिन्, ‘जब मैले दुई सन्तानलाई पहिलो पटक काखमा लिएँ, त्यतिबेला म रोइरहेकी थिएँ। यो केबल बच्चा जन्माउनु मात्रै थिएन, यो मेरो पुनर्जन्मजस्तै थियो। जीवनभर आमाको भूमिका निभाउने अवसर पाउनु मेरो सबैभन्दा ठूलो उपहार हो।’
सहज छैन आईभीएफ उपचार
पक्कै पनि सजिलो छैन । पछिल्लो केही वर्षमा आईभीएफ अत्याधिक रुपमा बढेको छ । तर यो एकचोटी प्रक्रिया पुर्याउनसाथ आमा बनिहाल्छिन् भन्ने हुँदैन । कहिलेकाँही धेरै पटक यो प्रक्रियामार्फत पनि आमाबुवा बन्न सक्दैनन् । पटक-पटक प्रयास गर्दा पनि असफल भएका घटना धेरै छन् ।
यस विषयमा डा. राजभण्डारी यसो भन्छिन्, ‘कहिलेकाँही पहिलो प्रयासमै आमा बन्न सकिन्छ भने कहिलेकाहीँ यो प्रक्रिया धेरै लामो हुनसक्छ ’
यसको जल्दोबल्दो उदाहरण हुन् पमी । पमी भारतमा दुई पटक र यहाँ दुई पटक गरी चौथो पटकको प्रयासमा आमा बन्न सफल भएकी थिइन् ।
यो उपचार अवधिमा उनका पति हरदम उनको साथमा थिए । धेरैजसो अवस्थामा, आमा बन्न चाहने महिलाहरूले आफ्नो परिवारको समर्थन पाएका हुँदैनन् ।उनी आमा बनेपछि पमी मात्र होइन आफूहरू पनि हर्षित भएको डा. राजभण्डारी बताउँछिन् ।
‘पमीको धैर्यताको जित निःसन्तान दम्पतीहरूका लागि प्रेरणादायी छ’ डा.राजभण्डारी भन्छिन्, ‘उनले धेरै चुनौतीहरूसँग जुधेर सफलता प्राप्त गरिन्।
समाजमा अझै पनि निःसन्तानपनलाई नराम्रो रूपमा हेरिन्छ। तर विज्ञान र प्रविधिले यसलाई समाधान गर्ने बाटो खोलिसकेको छ डा. राजभण्डारी बताउँछिन्।
भिडियो
प्रतिक्रिया 4