 
																			९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि क्षेत्रबाट फाइदा लिन निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताएका छन् ।
नेपाल कृषि तथा मेशिनरी व्यवसायी सघंको नवौँ वार्षिक साधारणसभाको अवसरमा मन्तव्य राख्दै अध्यक्ष ढकालले कृषिमा पर्याप्त सम्भावना भएपनि नेपालले त्यसबाट फाइदा लिन नसकेको बताएका हुन् ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि कृषिको यान्त्रिकरण, आधुनिकिकरण र व्यवसायिकरणको गर्नुपर्ने बताए ।
‘नेपालको भौगोलक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक साधन र श्रोत हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । यसलाई व्यवसायिक बनाउन सकियो भने लाखौ मानिसलाई कृषि मै रोजगारी सिर्जना गर्न सकिन्छ र देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन सकिन्छ,’ उनले भने ।
देशलाई कृषि प्रदान भन्ने तर कृषि क्षेत्रलाई सधैं उपेक्षा गरिएको बताउँदै आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन र कार्यान्वयन योग्य बजेट निर्माणका लागि सरकारसंग आग्रह गरे ।
महासंघले कृषि उद्यम केन्द्रका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले महासंघ ७७ जिल्लामा रहेका आफ्ना १२४ जिल्ला नगर उद्योग वाणिज्य संघहरुसंग समन्वय गरी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भएपनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै अनुदानलाई व्यवस्थित गर्नुपर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4