
१५ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा भोलि (सोमबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । यो विश्वविद्यालयमा ६ वर्षपछि स्ववियु चुनाव हुन लागेको हो ।
चुनावका लागि ९ वटा विद्यार्थी सङ्घ/सङ्गठन दर्ता भएका छन् । एमयूमा यसअघि तीन पटक अन्तिम समयमा चुनाव स्थगित भएको थियो। जसका कारण विद्यार्थीको मनमा यो पटक पनि चुनाव स्थगित हुने हो कि भन्ने संसय थियो।
अहिलेसम्म कुनै त्रुटि नभएको र विद्यार्थीहरूकै समन्वय र सहकार्यबाट अगाडि बढेकाले चुनाव नरोकिने स्ववियु निर्वाचन अधिकृत खगेन्द्र अधिकारी बताउँछन् । ‘पहिले विद्यार्थी छुट्ने लगाएका त्रुटि हुँदा चुनाव रोकिएको थियो,’ निर्वाचन अधिकृत अधिकारीले अनलाइनखबरसँग भने, ‘यो पटक रोकिँदैन । चैत १८ गते नै चुनाव हुन्छ ।’
विद्यार्थीहरू आ-आफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। विद्यार्थी संगठन तथा स्वतन्त्र उम्मेदवारले कक्षा कोठा-कोठामा पुगेर मत मागिसकेका छन् ।
उम्मेदवारहरूले यस पटक नारा जुलुस गरेर प्रचार प्रसार गरेको देखिएन । सानो समूह बनाएर कक्षा कोठामा केन्द्रित भएका थिए । उम्मेदारहरूबीच हार्दिकता देखिन्छ ।
निर्वाचन अधिकृत अधिकारीका अनुसार नेपाली कांग्रेस निकट (नेविसंघ), नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।
तर, मुख्य प्रतिस्पर्धा भने तीन ठूला दलका विद्यार्थी संगठन र स्वतन्त्र उम्मेद्वारबीच हुने हुने आकलन गरिएको छ । कांग्रेस, एमाले र माओवादी निकट ठूला विद्यार्थी सङ्गठनहरूले स्ववियु चुनावलाई प्रतिष्ठाको लडाइँ बनाउँदै आएका छन् । स्वतन्त्रले उनीहरुलाई चुनौती दिइरहेको छ।
विश्वविद्यालयको स्ववियु चुनावमा सबै दलका नेताहरूले अग्रसरता देखाएका छन् । दलका प्रदेश र जिल्लास्तरीय नेताहरू नै क्याम्पसमा पुगेर मतदातालाई प्रभावित पार्न व्यस्त देखिन्छन् ।
एक्लाएक्लै प्रतिस्पर्धा
मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचनमा पहिलो पटक विद्यार्थी सङ्गठनहरू एक्लाएक्लै मित्रवत् प्रतिस्पर्धा गर्दैछन् । अहिले सत्ता साझेदार दल कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठन पनि मित्रवत् प्रतिस्पर्धा उत्रिएको बताउँछन् ।
नेविसंघबाट विवेक खड्का अध्यक्ष पदका उम्मेदवार छन् । त्यस्तै सचिवमा भूपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरूमा विकास कुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतीक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह छन् ।
नेविसंघले ११ वटा बुँदामा ५० बढी आफ्ना अजेन्डा सार्वजनिक गरेको छ । सबै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बीमादेखि डिजिटल विश्वविद्यालयको अवधारण अगाडि सारेको छ । त्यस्तै केन्द्रीय क्याम्पसमा आवश्यक उपकरण र स्वास्थ्यकर्मी सहितको हेल्थ सेन्टर हुनुपर्ने विषयलाई नेविसंघले आफ्नो प्रमुख अजेन्डा बनाएको छ ।
एमाले निकट अनेरास्ववियुबाट जगतजंग शाही अध्यक्षका उम्मेदवार छन् । उनी उक्त सङ्गठनका प्रदेश कमिटी कोषाध्यक्ष समेत हुन् । उनको टिमबाट सचिवमा भूपेन्द्र भण्डारी, कोषाध्यक्षमा विक्रम सिं मन्दिर मगर, सदस्यमा हिमाल उपाध्यक्ष, सुन्दर शाही, ढाकाराम लामिछाने, पंकज रेग्मी, रमेश खत्री, हस्त रोकाया र श्रवण खत्री उम्मेदवार छन् ।
उनले शिक्षामा गुणस्तर सुधारदेखि महिला विद्यार्थीलाई सेनेटरी प्याडको व्यवस्था गर्नेसम्मका अजेन्डा अगाडि सारेका छन्। अनेरास्ववियुले गरिब, जेहेन्दार, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गर्ने, छात्रावास, अन्तर्राष्ट्रिय शैक्षिक भ्रमणको आयोजना गर्नेदेखि एआई कक्षा सञ्चालन गर्ने लगायतका मुद्दा उठाएको छ ।
अखिल (क्रान्तिकारी)बाट अध्यक्ष पदका उम्मेदवार छन्, २४ वर्षीय प्रकाश विक । उनको टिमबाट सचिवमा मोहन चौलागाईं, कोषाध्यक्षमा दीपबहादुर सुनार, सदस्यमा रेखा बोहरा, रमेश शाही, संस्कृति विष्ट, गगनबहादुर थापा, रोशन रोकाया, जनक बुढा, निश्चल बस्नेत उम्मेदवार छन् ।
अखिल (क्रान्तिकारी) १८ वटा चुनावी प्रतिबद्धतासहित चुनावी मैदानमा छ । शिक्षामा सिपमुखी, प्रयोगात्मक, अनुसन्धानमुखी र व्यावहारिक हुने नवीनतम पाठ्यक्रम संशोधन गर्नुपर्नेदेखि विश्वविद्यालयको व्यवस्थित शैक्षिक क्यालेन्डर सञ्चालन गर्नुपर्ने अखिल (क्रान्तिकारी)को अजेन्डा छ ।
चुस्त सेवा प्रवाह, गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित गर्नुपर्ने, प्रत्येक सङ्कायमा सुविधा सम्पन्न हेल्थ सेन्टर स्थापना, वर्षमा दुई पटक हरेक विद्यार्थीको निःशुल्क स्वास्थ्य चेकजाँच लगायतका मुद्दा अखिल (क्रान्तिकारी)का छन् ।
स्वतन्त्र उम्मेदवार मिलन बिसीले पनि निःशुल्क सेनेटरी प्याड, अनुसन्धान र नवप्रवर्तन, डिजिटल एमयू, व्यवस्थित इन्टर्नसिप कार्यक्रम सञ्चालन, एमयू स्टुडेन्ट फेस्टदेखि छुट्टै खेल विभागको स्थापनासम्मका अजेन्डा उठाएका छन् ।
४३ सय मतदाता, सबै पदमा ५३ जना प्रतिस्पर्धामा
४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । यही चैत १८ गते हुने निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।
स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत अधिकारीका अनुसार नेविसंघबाट खड्का, अनेरास्ववियुबाट शाही, अखिल क्रान्तिकारीबाट विक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विकल्प वली र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार छन् ।
त्यस्तै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) चीनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (हैठी)बाट लेलिनकुमार रेग्मी र स्वतन्त्र उम्मेदवार मिलन बिसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै स्ववियुको सचिवमा पदमा ७ जना, कोषाध्यक्ष पदमा ६ जना र सदस्य पदमा ३२ जनाको उम्मेदवारी परेको छ । सदस्यमध्ये सात जना प्रत्यक्ष निर्वाचनबाट र सात जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । यसरी कार्यसमितिमा पाँच जना पदाधिकारी र १२ जना सदस्य रहने छन् ।
६ वर्षपछि हुँदैछ, चुनाव
२०६९ सालबाट पठनपाठन सुरु भएको मध्यपश्चिम विश्वविद्यालयमा १२ भदौ २०७३ मा पहिलो पटक स्ववियु निर्वाचन भएको थियो । नेपाल विद्यार्थी (नेविसंघ) सङ्घबाट झक्कुबहादुर शाही विजयी बने । स्ववियु कार्यसमितिको पदावधि साढे दुई वर्ष हुने व्यवस्था छ ।
तर, स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै २०७५ सालमा तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले विघटन गरिदिएका थिए । कोइरालाले विश्वविद्यालयका तत्कालीन रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई २०७५ मंसिर १९ गते निलम्बन गरेका थिए । स्ववियुले निलम्बनको विरोध गरेपछि कोइरालाले स्ववियु नै विघटन गरिदिए ।
पदावधि सकिएर कोइराला बिदा भएको चार महिनापछि २०७६ फागुनमा नन्दबहादुर सिंह उपकुलपति भएर आए । उनले पनि तीन वर्षसम्म पनि विश्वविद्यालयमा स्ववियु निर्वाचन गराउन चासो देखाएनन् ।
उपकुलपति सिंहले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहँदा ३ चैत २०७९ मा निर्वाचनको मिति तोके । मतदान हुनुभन्दा दुई दिन अगाडि व्यवस्थापन संकायका विद्यार्थीहरूले हालेको रिटमा उच्च अदालत, सुर्खेतले निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दियो । तर त्यसले निरन्तरता पाएन ।
विश्वविद्यालयले व्यवस्थापन सङ्कायलाई मिडवेस्ट युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (मुसोम) नाममा स्वायत्त शैक्षिक संस्था मानेको छ । मुसोममा ‘विद्यार्थी काउन्सिल’ छ । उच्च अदालतले मुसोममा विद्यार्थी काउन्सिल रहने भएकाले स्ववियु निर्वाचनमा सहभागी हुन नपर्ने फैसला गर्यो ।
१७ फागुन २०८० मा तत्कालीन उपकुलपति सिंहको पदावधि सकियो। ध्रुवकुमार गौतम उपकुलपति भएपछि स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाए । गत भदौमा हुने भनेको चुनाव अन्तिम अवस्थामा आएर स्थगित भयो । विज्ञान तथा प्रविधि सङ्कायका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले निर्वाचन स्थगित गर्न आदेश गर्यो ।
त्यसपछि अदालतले नै चैत २० गतेभित्र चुनाव गरिसक्न भनेपछि अहिले विश्वविद्यालयमा चुनावको चहलपहल बढेको छ । विश्वविद्यालयका आङ्गिक क्याम्पसमा चुनाव भइसक्दा केन्द्रीय क्याम्पसमा भने मुद्दा/मामिलाका कारण रोकिएको चुनाव अहिले पुन: हुने भएको छ ।
प्रतिक्रिया 4