
होबार्ट, तास्मानिया (अस्ट्रेलिया) । लोकप्रिय नेपाली लोक-रक ब्याण्ड कन्दराले आफ्नो अष्ट्रेलिया यात्रा २०२५ को चौथो श्रृंखला तास्मानियाको राजधानी होबार्टमा भव्यरूपमा सम्पन्न गरेको छ ।
नेपाल फेस्टिभल २०२५ को विशेष सांगीतिक प्रस्तुतिअन्तर्गत आयोजना गरिएको यो कार्यक्रम नेपाली संगीतप्रेमीका लागि ऐतिहासिक क्षण बनेको ब्याण्डले जनाएको छ । झण्डै ५,००० दर्शकको सहभागिता रहेको कार्यक्रममा नेपाली संगीत, संस्कृति र पहिचानलाई समावेश गर्ने प्रयत्न देखियो ।
कन्सर्टको मुख्य आकर्षणमा ब्याण्डका कालजयी लोकपप गीत थिए, जसले दर्शकको मनमा गहिरो प्रभाव छाडे । जब ‘बिदेसिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा…”जस्ता भावनात्मक गीत गुञ्जिए, तब तास्मानियाको चिसो मौसमलाई दर्शकको जोश, उत्साह र मायाले गर्मायो ।
नेपाली कला, भाषा र साहित्यको सम्मिश्रण झल्कने यी गीतले प्रवासमा रहेका नेपालीलाई आफ्नो माटोसँग अझ नजिक बनायो । बालबालिकादेखि वृद्धसम्म, सबै उमेर समूहका दर्शक कन्दराका संगीतमा रमाए, झुमे, र नेपाली लोकपप गीतका शब्द गाइरहे ।
‘यसले नेपाली संगीतको प्रभाव विश्वव्यापी रूपमा बढ्दै गएको स्पष्ट संकेत दियो । कार्यक्रम अवधिभर दर्शकको अटुट ऊर्जा, ताली, नृत्य र स्वरको गुञ्जनले माहोललाई झनै जादुमयी बनायो’ प्रमुख गायक विवेक श्रेष्ठले भने ।
कन्दराले अष्ट्रेलियाको विभिन्न राज्यमा प्रस्तुति दिएको छ । यसअघि मेलबर्न, सिड्नी र एडिलेडमा ब्याण्डले भव्य प्रस्तुति दिएको छ । तास्मानियामा सम्पन्न चौथो श्रृंखलाले पनि नेपाली संगीतको उपस्थितिलाई अझ दरिलो बनाउँदै नेपाली संस्कृति र पहिचानलाई सम्मानपूर्वक अघि बढाउने कार्य गरेको श्रेष्ठ बताउँछन् ।
ब्याण्डले आगामी प्रस्तुति ब्रिस्बेनमा दिँदैछ ।
प्रतिक्रिया 4