+
+
Shares

नाता प्रमाणितमा एउटा छोरा परिवारबाटै अलग, न्याय खोज्दै नाति

वडाध्यक्षले गरेको नाता प्रमाणितका आधारमा मियाँका दुई छोराको परिवारले सम्पत्ति पाए भने एउटा छोराको परिवार सम्पत्तिबाट वञ्चित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते ११:४५
नाजिमुदिन मियाँका नाति मुहम्मद अलन्जिर

१८ चैत, विराटनगर । वडा कार्यालयले नाता प्रमाणित गर्दा परिवारबाट एउटा छोरालाई नै अलग गरिदिएको पाइएको छ । नाताबाटै अलग भएपछि मोरङको रतुवामाई नगरपालिका- ५ को उक्त परिवार भाइअंशबाट समेत बञ्चित भएको छ ।

रतुवामाई नगरपालिका- ५ का वडाध्यक्ष सोमनाथ कार्कीले सोही वडामा पर्ने गोबिन्दपुरका रुस्तम अली मियाँको सन्तानको नाता प्रमाणित गर्दा उनका तीन जना छोरामध्ये एउटा छोराको परिवारलाई छुटाइदिए । जसका कारण रुस्तमका एक छोरा अंशबाट बञ्चित भए ।

रुस्तमसहित दुई छोराको मृत्यु भइसकेको छ । वडा कार्यालयले रुस्तमका दुई छोरा मुहम्मद नवाब उदिन मियाँ र स्वर्गीय इरफान अली मियाँ रहेको भन्दै २०८० पुस २४ गते नाता प्रमाणित गरिदिएको थियो । तर अर्का दिवंगत छोरा नाजिमुदिन मियाँको परिवार भने नाता प्रमाणित गर्दा छुट्यो ।

वडाध्यक्षले गरेको नाता प्रमाणितका आधारमा मियाँका दुई छोराको परिवारले सम्पत्ति पाए भने एउटा छोराको परिवार सम्पत्तिबाट वञ्चित भएको छ ।

आफ्नो परिवारलाई सम्पत्तिको हकबाट वञ्चित गरिएको नाजिमुदिन मियाँका नाति मुहम्मद अलन्जिरले बताए । स्थानीय सरकारकै कारण आफू अधिकारबाट बञ्चित भएपछि उनी एक वर्षदेखि न्यायका लागि भौँतारिइरहेका छन् ।

नाति अलन्जिरका अनुसार हजुरबुबा नाजिमुदिनको मृत्यु २०७६ असार २७ गते भएको थियो । काकाको परिवारसँग मिलेर वडाले आफ्नो परिवारलाई बाहिरै राखेको उनले बताए ।

‘वडा कार्यालयले कसरी सर्जिमिन गरेर नाता प्रमाणित गर्यो थाहा भएन, हाम्रो परिवारलाई नै अगल बनाइदियो,’ नाति अलन्जिरले भने, ‘वडाले मिलेमतोमा गर्यो जस्तो लाग्छ ।’

उनका अनुसार वडाध्यक्ष कार्कीलाई रुस्तम अलीका तीन छोरा भएको जानकारी थियो । तर दुई छोरा मात्रै भएको प्रमाणपत्र दिए । वडाध्यक्षका कारण एउटा छोराको परिवार सम्पत्तिको हकबाट वञ्चित भएपछि अलिन्जिर न्यायका लागि धाइरहेका छन् । वडाले कीर्ते गरेर कागजात बनाएको उनको गुनासो छ ।

सुन्दरहरैचा नगरपालिका- ५ गोबिन्दपुरमा मनमाया मैनालीको नाममा रहेको ९ बिघा ४ कट्ठा जग्गामा रुस्तम अली मियाँको मोहीयानी हक थियो । मृत्युपछि उनले ४ बिघा ४ कट्ठा १८ धुर महियानी जग्गा पाए ।

मोहियानी लगतअनुसार वडा कार्यालयले पत्र पठाएपछि भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरले गत वर्ष फागुनमा रुस्तमको भागमा परेको जग्गा उनका दुई छोराले भागबण्डा गरिसकेका छन् ।

वडाध्यक्ष कार्की नाता प्रमाणित गर्दा कमजोरी भएको स्वीकार्छन् । सर्जिमिनका लागि जाँदा दुई छोराको परिवार र गाउँलेले एउटा छोराको परिवार जीवित नरहेको बताएपछि नाता प्रमाणित गरिदिएको वडाध्यक्ष कार्कीले बताए ।

‘सर्जिमिनमा उनीहरुले ढाँटे, एउटा छोराको परिवार नभएको भनेपछि दुई जना छोरा रहेको नाता प्रमाणित भयो,’ उनले भने, ‘अर्को पक्ष आएपछि कानुनी उपचारमा जान सल्लाह दिएको छु। उहाँहरु कानुनी प्रक्रियामा जानु भयो भने सहयोग गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?