 
																			२० चैत, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विद्यार्थी भिसा आवेदक र अन्य प्रकारका भिसा आवेदनकहरूको सामाजिक सञ्जाल सामग्री जाँच गर्न मातहतका अधिकारीहरूलाई आदेश दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-प्यालेस्टाइन युद्धको क्रममा प्यालेस्टिनीहरूको समर्थन गर्ने विद्यार्थीहरूलाई समेत देशबाट निकाल्ने प्रयासहरू तीव्र बनाएसँगै अमेरिकी विदेशमन्त्रीले यस्तो आदेश दिएका हुन् ।
न्यूयोर्क टाइम्सका रुबियोले मार्च २५ मा कूटनीतिक मिसनहरूलाई पठाइएको लामा पत्राचारहरूमा यी निर्देशनहरू दिएका थिए ।
राष्ट्रपति ट्रम्पले केही विदेशी नागरिकहरूलाई, विशेषगरी अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा मूलभूत सिद्धान्तहरूप्रति ‘विरोधी दृष्टिकोण’ राख्नेहरूलाई देशबाट निष्कासन गर्न जनवरीमा कार्यकारी आदेशहरू जारी गरेका थिए ।
ट्रम्पले ‘यहूदी विरोधी विचारधारा पछ्याउनेहरूलाई धरपकड’ सुरु गर्न अर्को कार्यकारी आदेश जारी गरेका थिए, जसमा गाजामा इजरायलको युद्धको विरोध गर्ने क्याम्पस प्रदर्शनमा भाग लिएका विदेशी विद्यार्थीहरूलाई निष्कासन गर्ने प्रावधान थियो ।
रुबियोको आदेश अनुसार, अबदेखि कन्सुलर अधिकारीहरूले विद्यार्थी तथा एक्सचेन्ज भिजिटर भिसा आवेदकहरूको सामाजिक सञ्जाल अनिवार्य रूपमा जाँच गर्न ‘ठगी रोकथाम इकाइ’ (फ्रड प्रिभेन्सन युनिट) लाई सिफारिस गर्नुपर्नेछ ।
उनको निर्देशनमा उल्लेख भए अनुसार, आवेदकहरूलाई भिसा अस्वीकृत गर्न निम्न आधारहरू प्रयोग गरिनेछ :
- ती व्यक्तिहरू जसलाई आतंकवादी समूहहरूसँग सम्बन्ध वा सहानुभूति रहेको आशंका छ ।
- जसले अक्टोबर ७, २०२३ देखि अगस्ट ३१, २०२४ सम्म विद्यार्थी वा एक्सचेन्ज भिजिटर भिसा लिएका थिए ।
- जसको भिसा अक्टोबर ७, २०२३ पछि रद्द गरिएको छ ।
रुबियोको निर्देशनमा यदि कुनै आवेदकको व्यवहार वा गतिविधिले उनीहरूले अमेरिकी नागरिक, अमेरिकी संस्कृति (सरकार, संस्था वा मूलभूत सिद्धान्तहरू समेत) प्रति ‘विरोधी दृष्टिकोण’ राखेको देखिन्छ भने पनि भिसा अस्वीकृत गर्न सकिने उल्लेख छ ।
रुबियोका अनुसार, उनको मुख्य लक्ष्य नै अमेरिका विरोधी विचार राख्ने विदेशी नागरिकहरूले भिसाका लागि आवेदन नै नदिऊन् भन्ने हो ।
निर्देशनमा उल्लेख गरिएका अतिरिक्त निगरानी गरिने भिसा प्रकारहरूमा एफ, एम, र जे भिसा (विद्यार्थी तथा एक्सचेन्ज भिसा) पर्छन् ।
यस निर्देशनका कारण केही विदेशी नागरिकहरूले आफ्नो अभिव्यक्तिमा स्व-नियन्त्रण गर्नुपर्ने अवस्था आउन सक्छ ।
रुबियोले हालसम्म ३०० भन्दा बढी भिसा रद्द गरिसकेको बताएका छन् । उनले दैनिक रूपमा भिसा रद्द गर्ने पत्रहरू हस्ताक्षर गरिरहेको बताएका छन् ।
उनले भने- यदि हामीले भिसा दिनुअघि नै उनीहरूबारे यी जानकारीहरू थाहा पाएका भए के हामीले उनीहरूलाई प्रवेश दिन्थ्यौं ? उत्तर ‘होइन’ आएमा, भिसा रद्द गरिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4