
काठमाडौं । ‘रणवीर’बाट घरेलु फिल्ममा डेब्यु गरेकी सुपुष्पा भट्ट अहिलेकी ब्यस्त अभिनेत्री हुन् । पछिल्लोपटक उनी ‘फेरि रेशम फिलिली’मा देखिइन् । उनी यतिबेला ‘पिताम्बर’को प्रवर्धनमा ब्यस्त छिन् ।
फिल्ममा सुपुष्पाको शीर्षमध्येको भूमिका छ । कृषा चौलागाईं निर्देशित फिल्ममा सुपुष्पाले ‘बिहानी’ नामक सोझी विधवा पात्रको भूमिका निर्वाह गरेकी छन् ।
‘मैले निर्वाह गरेको चरित्र सोझी विधवा छे’ सुपुष्पा भन्छिन्, ‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ । यो क्यारेक्टरमा परिस्थिती र उतारचढाव छ । कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ ।’
भट्टको डेब्यु फिल्म पनि एक्सन जनरामा बनेको थियो । ‘पिताम्बर’को केन्द्रमा महिला संवेदना भएपनि यसमा एक्सन भरमार छ । ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ । मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी भन्छिन् ।
रुचि पनि एक्सन फिल्ममा छ । मिडिया कुराकानीमा उनले आफूलाई एक्सन फिल्ममा काम गर्न मन लागेको बताइन् । ‘आफैले एक्सन गर्न मन छ । यो पहिलेदेखिकै इच्छा हो । फिल्मको प्रस्ताव आयो भने स्क्रिप्ट र क्यारेक्टर हेरेर निर्णय लिन्छु’ उनी भन्छिन् ।
‘पिताम्बर’मा चरित्र चित्रणको लागि विधवाको जीवनलाई नजिकबाट बुझिन् । ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ’ पात्र निर्वाहपछि उनले भनिन्, ‘अहिले त महिलाले आफ्नो स्ट्यान्ड लिनुभएको छ । माथि पनि आइरहनुभएको छ ।’
यो मल्टिस्टारर फिल्ममा जोडिन पाउनुलाई उनी आफ्नो अहोभाग्य ठान्छिन् । ‘आफ्नो पात्रमा गर्न सक्ने हो कि होइन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो । मैले यतिको स्पेस पाएँ भनेर आफूलाई भाग्यशाली ठानेकी थिएँ । यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ’, उनी भन्छिन् ।
छायांकन अनुभव सुनाउँदै भन्छिन्, ‘मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो । आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ ।’ सुपुष्पाको बुझाईमा राम्रो भिजन भएको निर्देशकले फिल्म बनाउँदा सजिलो हुन्छ ।
‘महिला र पुरुष निर्देशक भन्दा पनि निर्देशक भनेको निर्देशक नै हो । राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । आफ्नो भिजन बुझेको र कस्तो फिल्म बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ । मलाई धेरै सजिलो भयो’, उनी भन्छिन् । ‘पिताम्बर’ २९ चैतमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4