 
																						२९ चैत, काठमाडौं । नेपाली कांग्रेका महामन्त्री गगन थापाले शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले आन्दोलनरत शिक्षकका १५ वटा जति विषय मन्त्रिपरिषद् र मन्त्रालयले सम्बोधन गर्न सक्ने भन्दै तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।
‘आन्दोलनरत शिक्षकले राखेका कतिपय माग कानुन नबनाई हल गर्न सकिन्छ । मन्त्रिपरिषद्ले निर्णय गर्न सक्छ । स्वास्थ्यको कुरा, मर्यादाका कुरा, ग्रेड, सामाजिक सुरक्षाका कुरा, दरबन्दी मिलान, शिक्षक विद्यार्थीको अनुपात, ईसीडीको तलब, राहत शिक्षकको विषयजस्ता करिब १५ वटा छन्,’ थापाले भनेका छन्, ‘यसका लागि सरकारले स्रोत जुटाउनु पर्छ । यो काम तत्काल गर्यो भने विश्वासको वातावरण बन्छ ।’
उनले त्यसपछि कति समयमा ऐन जारी गर्ने त्यो समय तोकेर सहमति गर्न सकिने सुझाव दिएका छन् । ‘कानुन निर्माणको कुरा छ । संसद बोलाउने एउटा मिति तय गरौं । त्यसको ७–८ दिनमा पारित गर्छौं भनेर सहमति गरौं,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाको सुझाव छ ।
शिक्षकका यी विषय आजै सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरेका हुन् ।
शिक्षकहरू आन्दोलनमै रहे शैक्षिकसत्र प्रभावित हुने भन्दै महामन्त्री थापाले शिक्षकलाई कक्षा कोठामा जाने वातावरण बनाउन सरकारलाई आग्रह गरे । ‘शिक्षकको माग सम्बोधन गरेर कक्षा कोठामा चाँडो पुर्याउनु पर्छ । नभए शैक्षिक–सत्र प्रभावित हुन्छ । यसले सार्वजनिक शिक्षालाई प्रभाव पर्छ,’ उनले भनेका छन्, ‘त्यो अवस्था आउन नदिन प्रधानमन्त्री र सरकारमा रहेका साथीले जिम्मेवारी बोध गर्नुपर्छ ।’
शिक्षकहरू सडकमा आउनुे अवस्था बन्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ‘कसैलाई दोष दिएर पन्छिने होइन । यो बीचमा हामी सबै आलोपालो सरकारमा बसेका छौं । त्यसैले सबैले गल्ती स्वीकार गर्नैपर्छ,’ उनले भनेका छन्, ‘अहिलेसम्म पनि ऐन बनाउन नसक्नु सरकार र संसद्मा रहेका दलको लज्जाको विषय हो ।’
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरबाट आएका शिक्षकहरू सडक आन्दोलनमा छन् । २० चैतदेखि उनीहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4