 
																			३० चैत, काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।
अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २०८१ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो ।
प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।
स्थानीय बासिन्दालाई सुरक्षित रहन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरिएको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए ।

सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो ।

 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4