
काठमाडौं। वैज्ञानिकहरुले धर्तीकै सबैभन्दा तितो पदार्थ पत्ता लगाएका छन् । वैज्ञानिक नाम एमारोपोस्टिका स्टिप्टिका भएको एउटा च्याउमा भएको पदार्थ नै पृथ्वीको सबैभन्दा तितो पदार्थ हो ।
तितो ब्राकेट ढुसी नामले चिनिने उक्त च्याउ विषालु त छैन, तर यसको तितो स्वादले चाहिँ तपाईलाई खुत्रुक्कै पार्नसक्छ ।
वैज्ञानिकहरुले यो ढुसीमा पत्ता लगाएको तितो पदार्थ यतिधेरै शक्तिशाली छ कि यसको निकै थोरै अंशले पनि जिब्राको तितो स्वाद थाहा पाउने प्रापकलाई सक्रिय बनाउँदछ ।
जर्मनीको लिबनिज इन्स्टिच्युट अफ फूड सिस्टम बायोलोजी एण्ड प्लान्ट बायोकेमेस्ट्रीका वैज्ञानिकहरुले यो अखाद्य च्याउको तितो पदार्थ पत्ता लगाएका हुन् । त्यो पृथ्वीमा हालसम्म पाइएको सबैभन्दा तितो वस्तु भएको वैज्ञानिकहरुको भनाइ छ ।
यो च्याउ जंगलका रुखहरुमा टाँसिएर उम्रिन्छ र यो युरोप, एसिया तथा उत्तर अमेरिका क्षेत्रमा पाइन्छ। यद्यपि झ्वाट्ट हेर्दा खासै नदेखिने हुनाले मानिसहरुले यसलाई ख्याल गरेका हुँदैनन् ।
पछिल्लो समयमा चाहिँ यो च्याउमा रहेको ‘ओलिगोपोलिन डी’ नामक यौगिकका कारण यसले वैज्ञानिक जगतको ध्यानाकर्षण गर्न सफल भएको छ । यो चिजलाई विश्वकै सबैभन्दा तितो पदार्थ मानिएको छ ।
वैज्ञानिकहरुका अनुसार उक्त च्याउमा ओलिगोपोलिन्स डी, ई र एफ पाइएका थिए, जसमध्ये ‘ओलिगोपोलिन डी’ सबैभन्दा तितो वस्तु भएको पत्ता लाग्यो ।
अमेरिकी जर्नल अफ एग्रीकल्चर एण्ड फूड केमेस्ट्रीमा प्रकाशित शोध अनुसार ‘ओलिगोपोलिन डी’ यतिधेरै तितो हुन्छ कि यसको मात्र एक ग्राम धुलोलाई १६ हजार लिटर पानीमा घोल्दा पनि पानी तितो नै हुन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4