
१७ वैशाख, बुटवल । नेपाल वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा केशर खड्का निर्वाचित भएका छन् ।
प्रजातान्त्रिक वन प्राविधिक संघका तर्फबाट उम्मेदवार बनेका खड्काविरुद्ध अन्यको उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, दुईजना सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा नवराज शाही,नवीन पाण्डे, भावना रिजाल,कविता गैरे,एजाज अन्सारी र कमला सुनार निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा १६ सय जना सरकारी कर्मचारी सहित ७ हजार बढी वन प्राविधिक मतदाता छन् ।
मुलुक संघीय संरचनामा गएपछि इन्जिनियरिङ एशोसिएसन पछि लुम्बिनी प्रदेशमा वन प्राविधिक संघ नै प्रदेश समितिको निर्वाचन गर्ने पहिलो संस्था भएको नव निर्वाचित अध्यक्ष खड्काले बताए ।
उनले प्रदेशमा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई थप सुदृढ बनाउने र यसबारे वहस पैरवी चलाउने बताए । वन विज्ञहरूलाई योग्यताको प्रमाणपत्र वितरण गर्न नेपाल वन परिषद् केन्द्रमा स्थापना गर्न संघले प्राथमिकतामा राखेर काम गर्ने बताए ।
देशको ४५ प्रतिशतभन्दा बढी हिस्सा वन क्षेत्र हुँदाहुँदै काठ, दाउरा जंगलमै सडेको र वार्षिक अर्बौं रुपैयाँको काठ विदेशबाट आयात गर्नु पर्ने विडम्वना भएकाले यसलाई रोक्न भूमिका खेल्ने खड्काले बताए ।
वन स्रोतको प्रभावकारी व्यवस्थापनका लागि पर्याप्त मात्रामा दरबन्दी सिर्जना गरी वन व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसँग पैरवी गरिने र प्रदेशका १०९ वटै स्थानीय तहमा वन प्राविधिकको दरबन्दी सिर्जना गर्न दबाब दिइने बताए ।
प्रतिक्रिया 4