
१७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको ‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’ राष्ट्रिय अभियान बनेको बताएका छन् ।
बुधबार कञ्चनपुरमा जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यो अभियान माओवादीको मात्रै नभएर राष्ट्रिय अभियान बनेको दाबी गरेका हुन् ।
‘यहाँसम्म आइपुग्दा यो माओवादीको मात्र अभियान रहेन । यो राष्ट्रिय अभियान भयो । तराई-मधेशमा रहेका सबै राजनीतिक दलहरूको साझा अभियान बन्न पुग्यो,’ उनले भने ।
उनले अगाडि भने, ‘यति धेरै मागपत्र प्राप्त भएका छन् । यति धेरै सुझाव, आलोचना र टिप्पणीहरू प्राप्त भएका छन् । एउटा ठेली बन्नेवाला छ । हामी ठेली बनाउने वाला पनि छौं ।’
तराई-मधेशका विकासका समस्या चुनौती र समाधान कसरी हुन्छ भन्ने बारेमा राष्ट्रिय सहमति र समझदारी बन्ने स्थिति तयार भएको उनको भनाइ छ ।
‘साँच्चै यो अभियानले अभूतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको छ । एउटा नयाँ आर्थिक क्रान्तिको आधार तयार पारेको छ । एकअर्काको विश्वास, नेतृत्व र जनता बीचमा अन्तरसम्बन्धको सुदृढीकरण र नयाँ आयाम थपेको छ,’ उनले भने ।
उनले अगाडि भने, ‘हामीले साँच्चै एउटा ऊर्जा प्राप्त गरेका छौं । हामी जनतासँगै बस्यौं, जनतासँगै खायौं । शहीद बेपत्ता परिवारसँगै बस्यौं । उनीहरूसँगै खायौं, रौयौं, हाँस्यौं । यो सबै क्रियाकलाप जसरी गर्यौं, त्यसले भावानात्मक नयाँ सूत्रको विकास पनि भयो भन्ने विश्वास लिएका छौं ।’
हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो ।
बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिनापछि बुधबार कञ्चनपुर पुगेर समापन भएको हो ।
प्रतिक्रिया 4