
१७ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जापानको ओशाका, कान्साईमा भइरहेको वर्ल्ड एक्स्पोमा नेपालको तर्फबाट सहभागी हुन ठेक्का लिएको विध म्यानेजमेन्ट प्रालि/ललितमन्डप आर्ट एन्ड आर्किटेक जेभीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
निर्माणको सम्झौताअनुसार काम नगर्दा देशको नै बेइज्जत भएको अवस्थामा मन्त्रालयले पेभेलियनको काम तत्काल नसके कारबाही गर्ने चेतावनी दिएको हो ।
सन् २०२५ अप्रिल १३ देखि सञ्चालनमा आएको ‘वर्ल्ड एक्स्पो–२०२५’ मा नेपालको पेभेलियन निर्माण र सञ्चालनको जिम्मा विध मेनेजमेन्ट प्रालि र ललितमन्डप आर्ट एन्ड आर्किटेक जेभी ललितपुरलाई दिइएको थियो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग सम्झौता गरी यो कम्पनीलाई नेपालको आधिकारिक आयोजक संस्था (अफिसियल अर्गनाइजर) को रूपमा छनोट गरेको थियो ।
एक्स्पो सुरु भएको आधा महिना नाघ्दा पनि आधिकारिक आयोजक बनेको संस्थाले पेभेलियनको निर्माण कार्य सम्पन्न नगरेको तथा नेपालले हालसम्म औपचारिक रूपमा प्रदर्शनीमा सहभागिता जनाउन नसकेको प्रति मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।
यो विषयमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो ।
मन्त्रालयका सहसचिव तथा कमिस्नर जनरल विपिन आचार्यका अनुसार निर्माणमा भएको ढिलाइको कारण तथा आगामी कार्ययोजनाबारे सो आधिकारिक आयोजकको ठेक्का लिएको कम्पनीसँग आवश्यक विवरण माग गरिसकिएको छ ।
मन्त्रालयले विश्व प्रदर्शनीमा नेपालको सहभागिता सुनिश्चितता गर्न र सम्झौता अनुसारको काम छिटो गर्न निर्देशन समेत दिइसकेको उनले जनाए ।
सम्झौताअनुसार काम नगरे कानुन बमोजिम कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
प्रतिक्रिया 4