
१८ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघको सहमतिमा बालविकास (ईसीडी) का शिक्षक कर्मचारीले पनि विरोध जनाएका छन् ।
बुधबार महासंघले गरेको ९ बुँदे सहमतिमा बालविकासका शिक्षकको विषयमा स्पष्ट नभएको बालविकास शिक्षक संगठन तदर्थ समिति अध्यक्ष रेखा रानाभाटले बताइन् ।
महासंघले धोका दिएको उनको आरोप छ । २९ दिन काठमाडौंमा आन्दोलन हुँदा प्रत्येकको १ डेढ लाख खर्च भएको तर उपलब्धि केही नभएको उनले अनलाइनखबरसँग गुनासो गरिन् ।
‘९ बुँदे सहमतिमा बालबिकासको केही पनि आएन । तोकिए बमोजिम हुने भनेर आयो । त्यो भनेको कति हो ? महासंघले स्पष्ट पार्नुपर्छ,’ उनले भनिन् ।
महासंघले ३६ हजार बालविकासका शिक्षकको मन दुखाएको उनको भनाइ छ । ‘सहमतिपछि बालविकासका शिक्षकको मन दुखेको छ । छटपटी भएको छ । शिक्षकहरूले फोन गरेर के आयो भनेर सोध्नुहुन्छ,’ उनले भनिन्, ‘बालविकासलाई विद्यालयमा ल्याएको भए, शिक्षक बनाएको भए स्वतः अरु कुरा हुने थियो । हामीलाई विद्यालय मातहत ल्याउनुपर्ने हो, त्यो नै सहमतिमा आएन ।’
बालविकासका शिक्षकले श्रम ऐन अनुसार पनि तलब नपाएको उनले गुनासो गरिन् ।
‘प्रावि तृतीय सरह हाम्रो सेवा सुविधा हुनुपर्ने हो । बालविकास शिक्षक पीडित छौं । महासंघले हाम्रो मागलाई एक नम्बरमा राखेर आन्दोलन गर्यो,’ उनले भनिन्, ‘तर मन्त्रालयमा गएर खाली सहमति गरेर आउनु भयो । महासंघले ठूलो गल्ती गर्यो । ३६ हजार बाल शिक्षकको मन मरेको छ ।’
महासंघले ‘तोकिएको भनेको के हो ?’ भन्नेबारे प्रष्ट पार्नुपर्ने माग अध्यक्ष रानाभाटले गरिन् ।
‘हिजो भएको सहमति के हो त्यो महासंघले प्रष्ट पार्नुपर्छ । यत्रो आन्दोलन गरेर हात लाग्यो शून्य भयो,’ उनले भनिन् ।
प्रतिक्रिया 4