
१८ वैशाख, काठमाडौं । सरकारले श्रम बजार सूचना प्रणाली (श्रम संसार) पोर्टल सञ्चालनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसर पारी श्रम तथा रोजगार मन्त्रालयले यस्तो पोर्टल उद्घाटन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पोर्टल सुरु गरे ।
मन्त्रालयका अनुसार सन् २०२३ मा कोशी प्रदेशमा यस्तो पोर्टल विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो । परीक्षण सफल भएसँगै कोशी प्रदेशका १ सय ३७ वटै स्थानीय तहको प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले जनाएको छ ।
श्रममन्त्री शरतसिंह भण्डारीको अग्रसरतामा देशभरिका ७ सय ५३ वटै स्थानीय तहलाई यस पोर्टलमा समट्ने गरी लक्ष्य राखिएको र यसका लागि प्राविधिक समिति बनाएर काम थालिएको समेत मन्त्रालयको भनाइ छ ।
श्रम मन्त्रालय र स्विस कन्ट्याक्टबीच १० मार्च २०२५ मा श्रम संसार प्रणालीलाई देशभरि विस्तार गर्ने गरी साझेदारीमा हस्ताक्षर भएको हो । पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा उक्त सम्झौता भएको थियो ।
मन्त्रालयका अनुसार राष्ट्रिय श्रम बजारमा रहेको रोजगारी, तालिम तथा उद्यमशिलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यले यस्तो पोर्टल सञ्चालनमा ल्याइएको छ ।
यस प्रणालीमा संघ, प्रदेश तथा स्थानीय सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार तथा श्रम बजारका अन्य सरोकारवाला निकाय समेत आबद्ध छन् ।
जनता कसरी लाभान्वित हुन्छन् ?
संघ र प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत यस्तो पोर्टल सञ्चालन हुने भएको छ । देशभरि रहेका रोजगारीका अवसरबारे जानकारी लिई सजिलै आवेदन दिन सकिने भएको छ ।
पोर्टल मार्फत नै सिपमूलक तालिम जानकारी लिनुका साथै आवेदन समेत दिन सकिने गरी पोर्टल बनाइएको छ । यसमार्फत स्वरोजगारले समेत आफ्नो सिपको विज्ञापन समेत गर्न सक्ने भएका छन् । यहाँ श्रम सम्बन्धी नीति, नियम तथा जानकारी एकमुष्ट राखिएको मन्त्रालयले जानकारी दिएको छ ।
यस पोर्टलको सहज पहुँचका लागि वैशाख भित्रै आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध हुने गरी मोबाइल एप सञ्चालनमा ल्याइने भएको छ । यसलाई नेपाल सरकार अन्तर्गत सञ्चालनमा रहेका नागरिक एप लगायत सबै डिजिटल प्रणालीसँग सामञ्जष्यता समेत गरिने मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया 4