+
+
Shares

दशकपछि एउटै फिल्ममा दीपकराज, धुर्मुस र जितु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १२:५९

काठमाडौं । दशकपछि सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ एउटै फिल्ममा देखिने भएका छन् । वसन्त निरौलाले निर्देशन गर्ने ‘पाँच पाण्डव’मा यी तीन कलाकारलाई देख्न पाइने भएको हो ।

अनलाइनखबरसँग कुरा गर्दै अभिनेता गिरीले यस कुराको पुष्टि गरे । ‘यो फिल्मको लागि हाम्रो गृहकार्य भैरहेको छ’ यसैसाता म्याग्दी, बागलुङ र पोखरा घुम्न निस्किएका दीपकले काठमाडौं फर्किने क्रममा भने ।

यी तीनैजना यसैसाता गण्डकी प्रदेशको विभिन्न जिल्लामा पुगेका थिए । शनिबार उनीहरू पोखरामा थिए, जहाँ ‘पाँच पाण्डव’ फिल्मको गृहकार्य भैरहेको हुनसक्छ । दीपक केही दिनअघि म्याग्दीको ताकममा ‘माइतीघर’को छायांकन सेट पुगेका थिए ।

दीपकले शनिबार फेसबुकबाट ३ जनाको संयुक्त फोटो सेयर गर्दै यसबारे संकेत गरेका छन् ।

उनले अबको आफ्नो फिल्म ‘पाँच पाण्डव’ हुनसक्ने र यसको लागि गृहकार्य भैरहेको बताए । यद्यपि, यसबारे औपचारिक घोषणा हुन बाँकी छ । धुर्मस र सुन्तली भने यो फिल्ममा औपचारिकरुपमै अनुबन्धित भैसकेका छन् । यो समाचार बाहिरिएसँगै अभिनेता केदार घिमिरेले फेसबुकबाट न्यूज सेयर गरेका थिए ।

यदि यो विकासक्रमले मूर्तरुप लिए, १० वर्षपछि दीपक, धुर्मुस र जितु एकसाथ एउटै फिल्ममा देखिनेछन् । यसअघि सन् २०१५ मा रिलिज भएको फिल्म ‘वडा नम्बर ६’मा यी तीनैजनाले सहकार्य गरेका थिए ।

स्रोतका अनुसार, ‘पाँच पाण्डव’मा पाँचजना शीर्ष अभिनेता देखिनेछन् । चैत १७ गते चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माण इजाजत दिएको छ । ३ करोड ३२ लाख रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण काली रानी फिल्म्सको ब्यानरमा हुन लागेको बोर्डको अभिलेखमा उल्लेख छ ।

यो फिल्मको प्रस्तुतकर्तामा ‘लाज शरणम्’ फेम्ड नवीन श्रेष्ठ र निर्माता कालीरानी श्रेष्ठ छन् । पटकथा लेखक सुशील पौडेल हुन् भने निर्माण नियन्त्रकमा दिलिप पन्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?