+
+
Shares

फरक–फरक मितिमा बुद्ध जयन्ती मनाइनु गलत : डा. अञ्जान शाक्य

उनले यसरी बुद्ध जन्मिएको देशमै, बुद्धको जन्म मितिलाई आधार नमानी फरक–फरक रूपमा बुद्ध जयन्ती मनाउने गर्नु नेपालका लागि विडम्बना भएको उल्लेख गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १४:४७

२१ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका सदस्य डा. अञ्जान शाक्यले बुद्धजयन्तीलाई बुद्धको जन्ममितिकै आधारमा ‘बुद्ध जयन्ती’ का रूपमा मनाउनु पर्ने बताएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘कसैले बुद्धको जन्म मिति ई.पू. ६२३ लाई लिएर आउने २९ वैशाखका दिन २६४९औं बुद्ध जयन्तीका रूपमा मनाउने गर्दछन्,’ उनले भनिन्, ‘कसैले चाहिँ गौतमबुद्ध महापरिनिर्वाण भएको (दिवंगत हुनुभएको दिन) दिनलाई लिएर आगामी २९ वैशाखमा २५६९औं बुद्ध जयन्तीका रूपमा मनाउँदै छन् ।’

उनका अनुसार, ‘२५६९ भनेको बुद्ध संवत् हो । बुद्ध महापरिनिर्वाण भएको मितिलाई आधार मानेर उक्त दिनदेखि बुद्ध संवत् प्रारम्भ भएको हो । अब आउने वैशाख पूर्णिमाका दिन अर्थात् २९ वैशाखमा बुद्ध संवतको नयाँ वर्ष २५६९ प्रारम्भ हुन्छ ।’

उनी यी दुई तथ्य प्रस्तुत गर्दै बुद्ध संवत् भनेको गौतमबुद्धको जन्म मिति नभएको दाबी गरिन् ।

‘केही आउँदो २९ वैशाखका दिन २५६९औं बुद्ध जयन्तीका रूपमा मनाउन गइरहेका छन् । उनीहरूले बुद्ध संवतको नयाँ वर्ष प्रारम्भ हुने दिनलाई बुद्ध जयन्तीका रूपमा मनाउन गइरहेको देखिन्छ,’ उनले भनिन्, ‘तेस्रो अभ्यास अनुसार चाहिँ बुद्धको जन्म मिति वा महापरिनिर्वाण मितिलाई बेवास्ता गर्दै वैशाख पूर्णिमालाई केवल त्रिसंयोग दिवसका रूपमा मनाउँछन् । यस अभ्यासले बुद्धको जन्मस्थान नेपालको महत्त्वलाई ओझेलमा पार्छ ।’

उनले यसरी बुद्ध जन्मिएको देशमै, बुद्धको जन्म मितिलाई आधार नमानी फरक–फरक रूपमा बुद्ध जयन्ती मनाउने गर्नु नेपालका लागि विडम्बना भएको उल्लेख गरिन् ।

‘गौतमबुद्धको जन्म आजभन्दा २६४९ वर्षअघि लुम्बिनीमा भएको थियो । उहाँले आजभन्दा २६१४ वर्षअघि बोधगयामा ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गर्नु भएको थियो । कुशीनगरमा आजभन्दा २५६९ वर्षअघि अर्थात् ८० वर्षको हुँदा महापरिनिर्वाण अर्थात् अब फेरि जन्म मृत्युको चक्रमा पर्नु नपर्ने गरी सदाका लागि उहाँ दिवंगत हुनु भएको थियो,’ शाक्यले भनिन्, ‘ती सबै घटना एकैदिन वैशाख पूर्णिमाका दिन परेको थियो । त्यसैले यस दिनलाई त्रिसंयोग दिवसका रूपमा पनि बौद्धमार्गीहरूले मनाउने गर्दछन् ।’

उनले यी तथ्यहरू प्रस्तुत गर्दै बुद्ध जन्मिएको दिन वैशाख पूणिमा अर्थात् २९ वैशाख २०८२ का दिन २६४९ वर्ष हुने भन्दै यसपालिको बुद्ध जयन्तीलाई २६४९औं बुद्ध जयन्ती भनेर मनाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

उनले २०५५ सालमा नेपालको लुम्बिनीमा सम्पन्न भएको ‘प्रथम विश्व बौद्ध शिखर सम्मेलन’ मा भएको विविध घोषणाहरू मध्ये बुद्ध जयन्तीका दिन नेपालमा ‘लुम्बिनी दिवस’ अर्थात ‘लुम्बिनी डे’ भनेर मनाउने भनि घोषणा गरिसकेको स्मरण गरिन् ।

‘यही घोषणा अनुसार लुम्बिनी विकास कोषले लुम्बिनी दिवस भनेर मनाउन थाले पनि बुद्ध जयन्ती मनाउने सन्दर्भमा भने गौतमबुद्ध दिवंगत हुनुभएको मितिलाई आधारमानी मनाएको देखिन्छ । गत सालको बुद्ध जयन्तीलाई २५६८औं बुद्ध जयन्ती भनेर मनाएको देखिन्छ,’ उनले भनिन्, ‘नेपालमा केही विहार र संघ संस्थाहरूले पनि त्यही कुराको अनुशरण गरी गौतमबुद्धको महापरिनिर्वाण भएको दिनलाई जन्मदिनका रूपमा मनाउँदै आइरहेको छ जुन विडम्बना हो भनेर बौद्ध विद्धानहरूले नै भन्ने गरेका छन् ।’

मृत्यु भएको दिनलाई जन्म जयन्तीका रूपमा मनाउने कुरा गलत रहेको भन्दै आधिकारिक निकायले नै गलत अभ्यास गरिरहेको उनले बताइन् ।

‘यी सबै तथ्यहरूले पनि बुद्धको महापरिनिर्वाण दिवस अर्थात् दिवंगत हुनुभएको दिनलाई बुद्ध जन्मनु भएको भनी बुद्ध जयन्तीका रूपमा मनाउँदा गौतमबुद्ध जन्मनु भएको २५६९ वर्ष मात्र भयो भन्ने गलत सन्देश विश्व सामु जाने देखिन्छ,’ उनले भनिन्, ‘२५६९ वर्ष भनेको गौतमबुद्धको दिवंगत हुनुभएको अर्थात् महापरिनिर्वाण हुनुभएको वर्ष हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?