
२१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटक लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो । शौचालय सुरुवातबारे जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दागर्दै शौचालय निर्माणका लागि थोरै ढिला भए पनि निर्माण सम्पन्न भएको बताए ।
‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र वाह्य पर्यटकलाई सहज हुन्छ,’ उनले भने ।
पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौँतारिनु नपर्ने उनले बताए । महानगर प्रमुख महर्जनले यो शौचालय निर्माण महानगरको मात्र नभई सम्पूर्ण पालिकाका लागि ‘शोकेस प्रोजेक्ट’ भएको बताए । यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।
कस्तो छ शौचालय ?
आधुनिक प्रविधिको अपाङ्गतामैत्री यो शौचालयमा पुरुषका लागि ६ वटा युरेनल सहित तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय , एउटा अपाङ्गतामैत्री शौचालय, एउटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्री समेत छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ऐतिहासिक र पुरातात्विक महत्त्व ध्यानमा राखेर शौचालय निर्माण गरेको बताइन् ।
पर्यटकलाई सुविधा दिँदै पुरातात्विक महत्त्व पनि कायम राख्ने गरी महानगरले अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको बताइन् । महानगरको यो परियोजना सम्पदा र आधुनिकताको सम्मिश्रण परियोजना भएको बताइन् ।
महानगर प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणको महत्त्वपूर्ण काममध्ये सार्वजनिक शौचालय पनि एक रहेको बताए । महानगरका २९ वटा वडामध्ये धेरैमा सार्वजनिक शौचालय निर्माण भइरहेको उनले बताए । ‘शौचालय अतिआवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौ,’ उनले भने ।
पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्न यो महत्त्वपूर्ण परियोजना भएको बताए । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी बनावट काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटा प्रयोग भएको छ ।
शौचालयको छाना झिंगटी टायल सहित दुई पाखे गरी निर्माण गरिएको छ । महानगरका अनुसार कुल लागत १ करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।
प्रतिक्रिया 4