
२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात अपराधीहरुलाई राख्ने गरिएको जेल अल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न सरकारलाई आदेश दिएका छन् । यो जानकारी उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका हुन् ।
‘म आज ब्युरो अफ प्रिजन, न्याय मन्त्रालय, संघीय जाँच ब्युरो तथा होमल्याण्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित अल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउन निर्देशन दिँदै छु,’ ट्रम्पले लेखेका छन्, ‘उक्त जेलमा अमेरिकाका सबभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ ।’
अमेरिका लामो समयदेखि दुष्ट, हिंस्रक र पटके अपराधीहरूबाट पीडित भइरहेको भन्दै ट्रम्पले अल्काट्राज जेलको पुनः सञ्चालनले कानुनी व्यवस्था र न्यायको प्रतीकको रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
अल्काट्राज जेल के हो ?
क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरस्थित गोल्डनगेट ब्रिज नजिकैको सानो टापु अल्काट्राजमा अवस्थित यो एक पुरानो जेल हो ।
यसलाई बीसौं शताब्दीको सुरुमा पुनर्निर्माण गरिएको बताइन्छ । नौसैनिकहरुले सुरुमा सुरक्षा किल्लाको रुपमा प्रयोग गरेको अल्काट्राजलाई पछि कारागारका रूपमा प्रयोग गरिएको थियो । त्यहाँ अत्यन्तै खतरनाक र बारम्बार जेलबाट भाग्ने अपराधीहरूलाई राख्ने गरिन्थ्यो ।
टापुमा रहेको हुँदा यहाँबाट भाग्न अत्यन्त कठिन मानिन्थ्यो । कडा सुरक्षा र चिसो पानीका कारण भाग्ने प्रयासहरू असफल हुन्थे । तर पनि सन् १९६२ मा तीन जना कैदीहरूको भाग्ने प्रयास अहिलेसम्म पनि रहस्यमय मानिन्छ । उनीहरू बाँचे कि मरे पुष्टि भएको छैन ।
किन बन्द गरियो ?
यो जेल सन् १९६३ मा बन्द गरिएको थियो । त्यसपछि अल्काट्राज हाल पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।
टापुमा रहेकाले त्यहाँ खाना, पानी, इन्धन र अन्य आवश्यक सामग्रीहरू सबै सानफ्रान्सिस्कोबाट डुंगामार्फत लैजानुपर्थ्यो । अन्य स्थानका कैदीहरूका तुलनामा यहाँ प्रतिव्यक्ति खर्च तीन गुणा बढी थियो ।
यसैगरी अल्काट्राजका भवनहरू समुद्री हावाको कारण छिट्टै क्षतिग्रस्त हुँदै गएका थिए । भवनहरूको मर्मत गर्न धेरै पैसा खर्च हुन्थ्यो । भविष्यमा यसको संरक्षण सम्भव नहुने देखिएको थियो । टापुमा फोहोर व्यवस्थापन र नाली प्रणाली कमजोर थियो, जसले खाडीको वातावरणमा असर गरिरहेको थियो ।
अमेरिकी सरकारसँग नयाँ, बढी सुरक्षित र कम खर्चिलो जेलहरू निर्माण गर्ने योजना थियो । त्यसैले अल्काट्राजलाई बन्द गरी नयाँ जेलहरू खोल्ने निर्णय गरिएको थियो ।
हलिउडका कारण झन् बढी चर्चा
सन् १९६२ मा बनेको ‘बर्डम्यान अफ अल्काट्राज’ फिल्मका कारण सो जेलले चर्चा पाएको थियो ।
उक्त चलचित्रमा हत्यामा दोषी ठहर भई आजीवन काराबासको सजायँ पाएका एक पात्र चराहरूको अवलोकनमा रुचि राख्दाराख्दै चरा विज्ञ बन्न पुगेको कथा छ ।
यसैगरी सन् १९९६ को चलचित्र ‘द रक’ पनि त्यहीँ छायांकन गरिएको थियो । त्यसैले यसलाई अल्काट्राजलाई ‘द रक’ भनेर पनि चिनिन्छ ।
प्रतिक्रिया 4