
२२ वैशाख, विराटनगर । संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएको छ ।
पुर्पक्षका लागि धरौटीमा छाड्ने विषयमा न्यायाधीशबीच राय बाझिएको हो ।
मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि धरौटीमा छाडेको थियो । अध्यक्ष शम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई थुनामा पठाएको थियो ।
जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएको थियो । जिल्लाको आदेशविरुद्ध परेको रिट सुनुवाइ गर्ने क्रममा ११ वैशाखमा उच्च अदालत विराटनगर न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएको हो ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी छिन् । न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाउनु पर्ने राय दिएका छन् । उनले प्रतिवादीहरू रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा एक करोड धरौटी राख्नुपर्ने राय दिएका छन् ।
‘यसमा माननीय न्यायाधीश श्रीधराकुमारी पुडासैनीको माथि उल्लेखित रायमध्ये प्रतिवादी शम्भुप्रसाद रौनियारलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरी जिल्ला अदालतबाट भएको आदेश सदर गरेको हकमा मेरो सहमति रहेको भए पनि प्रतिवादीहरू मध्ये उमागौरी सहकारी संस्था लिमिटेडको संचालक समितिको सदस्य तथा पदाधिकारीको रूपमा कार्य गर्ने प्रतिवादीहरुको कसुरमा हुनसक्ने संलग्नतालाई विचार गरी जिल्ला अदालतबाट एक रूपको आदेश भएको नदेखिँदा प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा अभियोगपत्रमा उल्लेखित बिगो समेतलाई विचार गरी जनही १,००,००,०००। (एक करोड) र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीकोहकमा जनही २५,००,०००। (पच्चिस लाख रुपैयाँ) नगद, बैंक वा जेथा जमानत दिए लिई निज प्रतिवादीहरूलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु र सो धरौट दिन नसके कानुनबमोजिम मुद्दाको पुर्पक्ष गर्नु,’ उनले लिखित फरक रायमा भनिएको छ, ‘माननीय न्यायाधीशज्यू श्रीधराकुमारी पुडासैनीको रायसँग सोहदसम्म म सहमत हुन नसकेको हुँदा प्रस्तुत निवेदनहरू सुनुवाइका लागि तेस्रो न्यायाधीशको इजलास समक्ष पेश गर्नू ।’
दुई न्यायाधीशको राय बाझिएपछि उच्च अदालत विराटनगरले सो मुद्दाको सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकेको छ । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार २५ वैशाख बिहीबार तेस्रो न्यायाधीशको बेञ्चमा यो मुद्दाको सुनुवाइ हुनेछ ।
उमागौरी कृषि सहकारी संस्थाको २२ करोड ४८ लाख बढी अपचलन आरोपमा सहकारी संस्थाका अध्यक्ष शम्भूप्रसाद रौनियार पुर्पक्षका लागि कारागारमा छन् । सञ्चालक सदस्य रोशन राजवंशी पनि पुर्पक्षका लागि कारागारमै छन् ।
शिक्षकसमेत रहेकी कोइरालालाई भने मोरङ अदालतले २४ पुसमा १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । पक्राउ आदेशपछि पनि लामो समय फरार रहेकी उनी २४ पुसकै दिन अदालतमा उपस्थित भएकी थिइन् । सोही दिन थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो ।
२७ मंसिर २०८१ मा सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ अपचलन आरोपमा अन्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया 4