२३ वैशाख, काठमाडौं । दक्षिण एसियाली फुटबलमा उमेर समूहको फुटबल मध्ये नेपाली यू-१९ टिमको इतिहास समृद्ध छ । सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपाल च्याम्पियन बनेको थियो ।
सुरुवाती दुई संस्करणमा उपाधि जितेको नेपालले त्यसपछि उपाधि जित्न सकेको छैन । सन् २०१५ मा यू-१९ को नामबाट सुरु भएको यस प्रतियोगिता दुई संस्करण साफ यू-१८ र दुई संस्करण साफ यू-२० को नामबाट भएको थियो ।
समग्रमा सातौं संस्करण हुन लागेको यस प्रतियोगितामा साफ यू-१९ को नामबाट तेस्रो पटक हुन लागेको हो ।
नेपालपछि भारतले तीन पटक र बंगलादेशले एक पटक उपाधि जितिसकेको छ । गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको थियो ।
पछिल्लो चार संस्करणमा उपाधि जित्न नसकेको नेपाली टोली यस पटक साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मंगलबार भारत जाँदैछ ।
बी डिभिजनको अनुभव
राम थापाको कप्तानीमा रहेको नेपाली टोलीमा शहीद स्मारक बी डिभिजन लिग खेलिरहेका अधिकांश खेलाडी छन् । नियमित खेलिरहेकोले यस पटक टिममा बी डिभिजन लिगको अनुभव भएका खेलाडीहरु धेरै छन् । जसले गर्दा खेलाडीको फिटनेसमा सहयोग पुग्ने मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको विश्वास छ ।
‘समग्रमा टिम राम्रो बनेको छ । बी डिभिजन भइराको भएर अली सहज पनि भयो र केही गाह्रो पनि भयो,’ श्रेष्ठले भने, ‘हाम्रो ४५ दिन जति तयारी भयो । तर सबै खेलाडीहरु बी डिभजन खेलिरहेको भएर फिटनेस राम्रो छ । तर टिम सेट बनाउन गाह्रो भयो । सबै खेलिरहेका हुन्छन् ।’
यद्यपी खेलाडीहरु खेलिरहेकै भएर अनुभव हुने र फिट रहेको उनको विश्वास छ । पहिलो पटक जुनियर टिमको कप्तानी गर्न लागेका राम थापाले पनि बि डिभिजन लिग खेलिरहेको भएर टिम राम्रो रहेको बताए । ‘बी डिभिजन खेलेका खेलाडीहरु पनि छन् । हाम्रो टिम पनि राम्रो छ’ उनले भने ।
यस्तै सिनियर टिमबाट समेत खेलिसकेका सुवास बम पनि टिममा रहेकोले मनोबल उच्च रहेको रामले बताए । सुवासले केही समयअघि सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनी सिनियर टिमको क्याम्पमा पनि समावेश छन् ।
यस्तै केही खेलाडीसँग गत वर्ष साफ यू-२० च्याम्पियनसिप खेलेको अनुभव पनि छ । जसले गर्दा टिममा अनुभव र युवा जोश रहेको रामले बताए । ‘टिम राम्रो छ । नेसनल टिममा डेब्यु गरिसकेको सुवास वम छ । युवा र जोशसहितको खेलाडी छ’ उनले भने ।
गत वर्ष सफ यू-२० च्याम्पियनसिप खेलेको टिमबाट कप्तान रामसहित डिफेण्डर मदन पौडेल, मिडफिल्डर लक्षु थापा, फरवार्ड धरबेन्द्र कुँवर यस पटक पनि टिममा छन् ।
यस्तै गत वर्ष भुटानमा भएको साफ यू-१७ च्याम्पियनसिप खेलेका कप्तान सुवास बमसहित गोलकिपर भक्त बहादुर परियार, फरवार्ड सुजन डंगोल र पवन पाख्रिन, मिडफिल्डर कृष्ण बहादुर आले, सबिन लुंगेली, विज्ञान खड्का र डिफेण्डर प्रशान्त मोक्तान यस पटक यू-१९ टोलीमा समावेश भएका छन् ।
यस पटक जित्नैपर्छ
नेपाल यो उमेर समूहमा सधैं उपाधि दाबेदार भएर पनि पछिल्लो दुई संस्करण घरेलु मैदानमा खेल्दा समेत जित्न सकेन । यस पटक भारतमा गएर खेल्दैछ ।
अघिल्लो पटक मुख्य प्रशिक्षक रहेकै उर्जन श्रेष्ठले यस पटक पनि टिम हेर्दैछन् । श्रेष्ठको प्रशिक्षणमा नेपाल घरेलु मैदानमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
उनले यसअघि यू१७ टिम समेत हेरेका थिए । लगातार उमेर समूहको टिम हेरेपनि श्रेष्ठले आफ्नो प्रशिक्षणमा उपाधि जित्न पाएका छैनन् । त्यसैले यस पटक जसरी पनि जित्नै पर्ने र त्यसका लागि टिम तयार रहेको श्रेष्ठको भनाई छ ।
‘अब मैले दुई पटक उमेर समूहको टिम हेरिसके । ब्याड लक हामीले साना कमजोरी गरेर उपाधि जित्न सकेनौं’ श्रेष्ठ भन्छन्, ‘हामीले साफ यू-१७ भारतलाई लिगमा हरायौं तर फाइनलमा हार्यौं । यस्तै साफ यू-२० मा बंगलादेशलाई समूहमा हरायौं पछि फाइनलमा हार्यौँ । यस पटक त्यो गल्ती नदोहोरियोस् भनेर हामीले सानो-सानो कुरामा पनि मिहिनेत गरेका छौं ।’
यसअघिको हारबाट पाठ सिकेर यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्य रहेको प्रशिक्षक श्रेष्ठले बताए । ‘त्यही टिमलाई जितेर त्यही टिमसँग फाइनल हार्दाको पिडा भोगिसकको छ । त्यसैले यस पटक सबै पक्ष मिलाएर टिम राम्रो बनाएको छु । यस पटक नचुक्ला च्याम्पियन बन्छौं भन्ने छ ।’
प्रशिक्षक श्रेष्ठले लगातार टिम हेर्दा दबाब पनि सहज हुने बताए । ‘मलाई प्रेसर भन्दा सहज भयो । त्यही खेलाडी यु-१७ बाट हेरिरहेको छु । उनीहरुले मेरो शैली खेल्ने बुझेको छ । त्यसमा धेरै काम गर्न परेन । मैले कसरी खेलाउने बुझेका छन् । नयाँ यू-१७ बाट आका खेलाडी छन् । उनीहरुलाई पनि समेटेर बुझाएका छौं।’
भारत र बंगलादेश मुख्य प्रतिस्पर्धी
साफ यू-१९ मा अहिलेसम्म उपाधि जित्ने तीन टिममा नेपालसँगै भारत र बंगलादेश छन् । त्यसैले यही तीन टिम उपाधिको मुख्य दाबेदारको रुपमा छन् । पछिल्लो समय भुटानले पनि उमेर समूहमा राम्रो फड्को मारेको छ ।
बंगलादेश साविक विजेता रहँदा भारत ३ पटक र नेपाल २ पटकको च्याम्पियन हो । नेपालको लागि अहिले भारत र बंगलादेश नै मुख्य चुनौती रहेको कप्तान रामले बताए ।
‘भारतको टिम राम्रो छ । भारत र बंगलादेश बलियो छ । उनीहरुलाई हराउन सके उपाधि जित्न सकिन्छ’ रामले भने ।
खेलतालिका
यही मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा हुने साफ यू१९ च्याम्पियनसिपमा नेपाल समूह बी मा छ । यस समूहमा आयोजक भारत र श्रीलंका छन् ।
साविक विजेता बंगलादेशसहित माल्दिभ्स र भुटान समूह ए मा छ । नेपालले पहिलो खेल मे ११ मा श्रीलंकासँग र दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ ।
समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाली यू १९ टोली:
गोलकिपर : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया
डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का
मिडफिल्डर : कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्ड : पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
अफिसियल
टिम म्यानेजर : रविन खड्का
मुख्य प्रशिक्षक : उर्जन श्रेष्ठ
गोलकिपिङ प्रशिक्षक : सन्जिव जोशी
सहायक प्रशिक्षक : विनम श्रेष्ठ
सहायक प्रशिक्षक : मंगल महर्जन
फिजियो : अनिश बुढाथोकी
मिडिया अफिसर : मनोज थापा
प्रतिक्रिया 4