
२५ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।
उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना आज बिहान साढे ६ बजे भएको हो । उनका अनुसार बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।
प्रतिक्रिया 4