+
+
Shares

सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

प्रहरी स्रोत भन्छ–देशभित्रै रहेकाले इन्टरपोललाई पत्राचार नगरेका हौं

संसद्‍मा पत्र पठाउने, बिदा स्वीकृत हुने, उपचारमा रहेको बताउने र तलबभत्ता समेत बुझ्ने उनै सांसद एक वर्षसम्म पक्राउ नपर्नु निकै संकास्पद देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ वैशाख २९ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ ।
  • छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
  • कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार नभएको बताउँछन् ।

२९ वैशाख, काठमाडौं । ‘सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्ना सांसद कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्’ २२ वैशाखको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रश्न गरे

राप्रपालाई प्रश्न गर्ने सांसद थापाकै पार्टीका नेताले सरकारको नेतृत्व गरिरहेका छन् । थापाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको करिब एक वर्ष पूरा हुन लागेको छ । तर विगत एक वर्षदेखि नै राप्रपा सांसद गीता बस्नेत भने फरार छिन् ।

सरकारले एक वर्षपछि सांसद बस्नेतलाई पक्राउ गर्न सकेको छैन । जो सरकारमा छ, उनकै जिम्मेवारी हो सांसद बस्नेतलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने । तर सरकारको प्रतिनिधित्व गरेका दलहरूले खोई सांसद बस्नेत भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।

सरकारकै नेतृत्वकर्ता दल एमालेका सचिव योगश भट्टराईले पनि २३ वैशाखको प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतलाई किन भागेको भन्दै प्रश्न गरे । ‘जहाँ गएर जतिसुकै भागे पनि आखिर आउनु नै पर्नेहुन्छ । जो फरार हुनुहुन्छ । म उहाँलाई भन्न चाहन्छु– किन भाग्ने ?’ सांसद बस्नेतको नाम नलिइकन भट्टराईले भनेका थिए ।

यसबारे राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै सांसद बस्नेतको हकमा पार्टीले सरकारलाई बाटो खुला गरिसकेको बताएका थिए ।

‘हामीले सरकारलाई बाटो खुला गरिसकेका छौं । सरकारको जिम्मेवारी हो । हामीले पक्राउ गर्ने कुरा भएन’ शाहीले भनेका थिए ।
उनले भनेजस्तै राप्रपा सांसद बस्नेतलाई पक्राउ गर्ने र कारबाही गर्ने जिम्मेवारी राप्रपाको नभई सरकारको हो । शाहीले भनेजस्तै यसबारे आफ्नै नेतृत्व तथा गृहमन्त्री रमेश लेखकलाई भने कसैले पनि उनी किन पक्राउ नपरेको भन्दै प्रश्न गरेको सुनिँदैन ।

यो केसमा पछिल्लो एक वर्षदेखि सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएको देखिँदैन । जनताले बचत गरेको रकम अपचलन गरेर फरार भएकी सांसदलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुको साटो उल्टै तलबभत्ता निकासा गर्ने र बिदा स्वीकृत गर्ने गरेको पाइएको थियो । फरार अवधिमा उनले १० लाख बढी तलब भत्ता समेत बुझिसकेकी छन् ।

यसअघि गत चैतमा फरार बस्नेतले नै पत्र पठाएको भन्दै सभामुख देवराज घिमिरेले संसद्‍मा पढेर सुनाएका थिए । त्यतिबेला उनी स्वास्थ उपचारमा रहेको बताइएको थियो । संसद्‍मा पत्र पठाउने, बिदा स्वीकृत हुने, उपचारमा रहेको बताउने र तलबभत्ता समेत बुझ्ने उनै सांसद एक वर्षसम्म पक्राउ नपर्नु निकै शंकास्पद देखिन्छ ।

फरार रहेको बताउँदै आएको प्रहरीले यो एक वर्षको अवधि उनलाई पक्राउका लागि समेत दतारुकता देखाएको पाइँदैन । १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ ।

‘उहाँविरुद्ध अहिलेसम्म कुनै नोटिस जारी भएको छैन । तर हामी खोजीकै प्रक्रियामा छौं’ एसएसपी थापाले भने ।

त्यतिबेलाको पूर्वी नवलपरासी प्रहरीले उनलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । प्रहरी स्रोतका अनुसार त्यतिबेला उनी भारत पुगेको बताइएको थियो । तर एक वर्षको अवधि हुँदा पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रणमा आउन सकेकी छैनन् । न त सांसद बस्नेतलाई पक्राउका लागि प्रहरी इन्टरपोलमार्फत प्रक्रिया नै अघि बढाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले उनीविरुद्ध अहिलेसम्म प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट कुनै नोटिस जारी नभएको बताए ।

‘उहाँविरुद्ध अहिलेसम्म कुनै नोटिस जारी भएको छैन । तर हामी खोजीकै प्रक्रियामा छौं’ एसएसपी थापाले अनलाइनखबरसँग भने ।

तर प्रहरी स्रोतका अनुसार सांसद बस्नेतलाई पक्राउ गर्न भनेर इन्टरपोलमार्फत नोटिस जारी गर्नका लागि कुनै प्रक्रिया नै अघि बढाइएको छैन । इन्टरपोलमार्फत डिफ्युजन तथा रेड नोटिस जारीका लागि कुनै कागजात तथा डकुमेन्टेसनको प्रक्रिया समेत प्रहरीले अहिलेसम्म अघि नबढाउनुनले सांसद बस्नेतलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्ने प्रष्ट हुन्छ ।

पूर्वी नवलपरासीका प्रमुख तथा एसपी यादव ढकाल भने आफूले जिम्मेवारी सम्हाल्नुभन्दा पहिलाको घटना भएकाले त्यतिबेलाको के कसो भएको थियो बुझ्नु पर्ने बताउँछन् । ‘प्रक्रिया के–कसो भएको हो भन्ने बुझ्नुपर्छ । यद्यपि उहाँको खोजी भइरहेको छ,’ एसपी ढकालले अनलाइनखबरसँग भने ।

नेपालमा नरहेको यकिन भएको अवस्थामा मात्रै इन्टरपोलमा पत्राचार गरी नोटिस जारी गराउने र पक्राउ गरेर नेपाल ल्याउने गरिन्छ । कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार नभएको बताउँछन् ।

नेपाली कांग्रेसकी सांसद माया राई पनि सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि लामो समयदेखि फरार थिइन् । १३ वैशाखमा काठमाडौंको कपनस्थित घरबाटै राई पक्राउ परेकी थिइन् । राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध २० जेठ २०८१ मा मुद्दा दर्ता भएको थियो ।

‘कुनै अभियुक्त फलानो देशमा छ भन्ने यकिन भएपछि इन्टरपोललाई पत्राचार गरेर नोटिस जारी गराउने हो । तर सांसद बस्नेतको हकमा भने त्यो देखिँदैन । उनी देशभित्रै रहेको हुनसक्ने भएकाले पत्राचार नभएको हुनसक्छ,’ बस्नेतबारे जानकार एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ।

पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध २० जेठ २०८१ मा मुद्दा दर्ता भएको थियो ।

संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको रकम अनियमित रूपमा बस्नेतले सञ्चालन गरेको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी गरेको भेटिएको थियो । रिसोर्टमा मात्र सहकारीको ९६ करोड हिनामिना गरेको आरोप छ ।

सांसद बस्नेतले छिपछिपे सहकारीका सचिव तथा उनका ज्वाइँ नगेन्द्र रिमाल, तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डे, पदाधिकारीहरू सञ्जिवकुमार महतो र साथीहरूसँग मिलेर सहकारीको सम्पत्ति व्यक्तिगत कारोबारमा प्रयोग गरेको भेटिएको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीले गरेको छानबिनपछि पेस प्रतिवेदनका आधारमा प्रहरीले यो सहकारीमाथि अनुसन्धान थालेको थियो ।

वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा भएको छानबिनको प्रतिवेदनमा पदाधिकारीले ‘एड्जस्टमेन्ट एकाउन्ट’ नामको काल्पनिक बचत खाता खोलेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको थियो । पछि विभिन्न समयमा गरेर ३६६ जना पीडितले समेत प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । यो प्रकरणमा अहिले ७ जना पुर्पक्षका लागि कारागारमै रहेको पूर्व नवलपरासीका एसपी ढकाल बताउँछन् ।

सांसद बस्नेत बर्दियाकी हुन् । उनलाई राप्रपाले ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभा चुनावबाट समानुपातिक सांसद बनाएको हो । बस्नेतले २०७४ सालको चुनावमा गुलरिया–७ मा वडाध्यक्ष जितेकी थिइन् । २०५९ सालमा उनी गुलरिया नगरपालिकाको मनोनीत उपाध्यक्ष थिइन् । बस्नेतलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले गुलरिया नगरपालिकाको उपाध्यक्ष मनोनीत गरेका थिए ।

६९ वर्षीय बस्नेत २०३६ सालदेखि राजनीतिमा छन् । २०४३ सालमा भेरी अञ्चल महिला संगठन सचिव भएकी थिइन् । महिला संगठनको केन्द्रीय उपाध्यक्षसम्म भइन् । २ पटक राप्रपाको जिल्ला अध्यक्ष भइन् । नेपाल रेडक्रस कोषाध्यक्ष, स्थानीय शान्ति समितिको संयोजक, महिला सञ्जाल, आँखा अस्पतालको संयोजक भएर काम गरेकी बस्नेत २०५४ र २०७४ सालमा दुई पटक निर्वाचित वडाअध्यक्ष समेत हुन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?