+
+
Shares

नेतृत्व अभिवृद्धिमा विद्यालय प्रिन्सिपल सशक्त बनाउँदै केएमसी ललितपुर र महालक्ष्मी नगरपालिका

केएमसीका निर्देशक किशोर गौतमले विद्यालय नेतृत्व विकासको आवश्यकता औंल्याउँदै आजका निर्णयहरू भोलिको शिक्षा प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले प्रत्येक प्रिन्सिपल सचेत हुनुपर्नेमा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडेल माध्यमिक विद्यालय ललितपुर र महालक्ष्मी नगरपालिकाको संयुक्त पहलमा प्रिन्सिपल्स नेतृत्व विकास कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा ४० विद्यालयका प्रिन्सिपलहरूले नेतृत्व र शैक्षिक रूपान्तरणबारे छलफल गरे।
  • कार्यक्रममा विशेषज्ञहरूले आधुनिक शिक्षण विधि, प्रविधि समायोजन र शिक्षक सशक्तीकरणको आवश्यकता औंल्याए, जसले नेपालको शैक्षिक क्षेत्रलाई सशक्त बनाउने विश्वास व्यक्त गरियो।
  • महालक्ष्मी नगरपालिकाका मेयर र अन्य अधिकारीहरूले विद्यालयहरूको नेतृत्व सशक्तीकरण र नियमित कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए।

काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय ललितपुर (केएमसी ललितपुर) र महालक्ष्मी नगरपालिकाको संयुक्त पहलमा प्रिन्सिपल्स नेतृत्व विकास कार्यक्रम २ जेठमा सम्पन्न भएको छ।

यो कार्यक्रम नगरपालिकाको विद्यालयसँगको नियमित भेटघाटको हिस्सा तथा केएमसी ललितपुरको सामाजिक उत्तरदायित्वको प्रतिविम्ब हो । यस कार्यक्रममा ४० विद्यालयका प्रिन्सिपल सहभागी भएर नेतृत्व र शैक्षिक रूपान्तरणबारे महत्त्वपूर्ण छलफल गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ थिए । उनले विद्यालयहरूको नेतृत्व सशक्तीकरणमा केएमसी ललितपुरको योगदानको प्रशंसा गरे ।

स्वागत मन्तव्यमा केएमसीका निर्देशक किशोर गौतमले विद्यालय नेतृत्व विकासको आवश्यकता औंल्याउँदै आजका निर्णयहरू भोलिको शिक्षा प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले प्रत्येक प्रिन्सिपल सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा, नेतृत्व र आधुनिक शिक्षण विधिसम्बन्धी विशेषज्ञहरूले महत्त्वपूर्ण प्रस्तुति दिएका थिए ।

प्रा. डा. धनपति सुवेदीले ‘नेतृत्व कार्यान्वयन’ विषयमा विचार प्रस्तुत गर्दै विश्वव्यापी नेतृत्व प्रवृत्ति र नेपालका विद्यालय कसरी तिनको अनुकूल हुन सक्नेबारे चर्चा गरे । उनले परम्परागत शिक्षण पद्दति छाडी प्रविधिसँग समायोजन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनको प्रस्तुतिले शिक्षक व्यावसायिक विकास, नवीनतम शिक्षण विधिहरू तथा आलोचनात्मक एवं प्रयोगात्मक शिक्षण प्रणालीको महत्त्व औंल्यायो ।

महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चीरञ्जीवी पौडेलले नगरपालिकाको शैक्षिक अवस्था, नीति र कार्यक्रमबारे जानकारी गराए । उनले स्थानीय विद्यालयका चुनौति र अवसर सम्बन्धी तथ्यपरक विश्लेषण गर्दै रणनीतिक सुधारको आवश्यकता औंल्याए ।

केएमसी नेटवर्कका निर्देशक सुरेन्द्र सुवेदीले ‘शिक्षा रूपान्तरण’ विषयमा प्रस्तुति दिए । उनले शैक्षिक संस्थाहरूको पुनर्गठन, कक्षाकोठामा कृत्रिम बुद्धिमत्ताको समावेश, विद्यालयहरूबीच सहकार्यको प्रवर्द्धन, तथा शिक्षक सशक्तीकरण र विद्यार्थी सक्रियताको प्रवर्द्धनको आवश्यकता औंल्याए ।

कार्यक्रममा मेयर श्रेष्ठले केएमसी ललितपुरको योगदानको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रम विद्यालयहरूले नियमित आयोजना गर्नुपर्ने उल्लेख गरे।

केएमसी ललितपुरका कलेज प्रिन्सिपल मुकुन्दकुमार गिरीले कार्यक्रम सञ्चालन गर्दै प्रभावकारी छलफल सुनिश्चित गरे ।

यस नेतृत्व विकास कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

कार्यक्रमले विद्यालय प्रिन्सिपललाई नेतृत्व प्रविधिमा अद्यावधिक राख्दै शैक्षिक उत्कृष्टतामा सुधार ल्याउने प्रेरणा प्रदान गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?