
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतले इजरायलसँगको व्यापार सम्झौता अनिश्चितकालका लागि स्थगित गरी प्रतिबन्धहरू लगाएको छ।
- गाजामा इजरायलको सैन्य अभियान र नाकाबन्दीले मानवीय संकट गम्भीर बनिरहेको छ।
- अन्तर्राष्ट्रिय समुदायले इजरायलको व्यवहारको आलोचना गर्दै थप दबाब दिन थालेको छ।
७ जेठ, काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा गरेको हो।
बेलायतले इजरायलका राजदूतलाई बोलाएर वेस्ट बैंकमा नयाँ प्रतिबन्ध लगाएको छ।
पछिल्लो समय इजरायली आक्रमणमा परी गाजामा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भइरहेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।
गाजाका अधिकारीहरूका अनुसार इजरायलले अपनाएको ‘भोकमरी नीति’ का कारण २ मार्च यता कम्तिमा ३२६ जना प्यालेस्टिनीको भोककै कारण मृत्यु भएको छ ।
विश्वव्यापी ध्रुवीकरण बढ्दै
अलजजिराका अनुसार संयुक्त राष्ट्रसंघले आगामी ४८ घन्टाभित्र १४ हजार शिशुहरूको ज्यान जाने उच्च जोखिम देखिएको चेतावनी दिएको छ ।
गए राति मात्रै इजरायलले गरेको बमबारीमा परी कम्तिमा २४ जनाको ज्यान गएको छ । बेलायत र युरोपेली संघले गाजा क्षेत्रमा जारी ‘क्रूर युद्ध’को कडा आलोचना गरेको छ । यद्यपि इजरायलले भने यसलाई खारेज गरिदिएको छ ।
बेलायती विदेशमन्त्री डेभिड लेमीले गाजामा भइरहेको बढ्दो सैन्य कारबाही ‘नैतिक रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन्। यो निर्णय इजरायलको हालको आक्रामकता र गाजामा भोकमरीको गम्भीर चेतावनी आएपछि गरिएको हो।
यसै विषयमा बेलायती संसदमा कन्जर्भेटिभ पार्टीकी सांसद प्रीति पटेलसँग विदेशमन्त्री लेमीबीच कडा बहस समेत भएको छ।
यसैबीच, इजरायली विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘कुनै पनि बाह्य दबाबले इजरायललाई आफ्नै अस्तित्वको रक्षा गर्ने बाटोबाट विचलित गराउन सक्दैन।’
हजारौं शिशु तत्काल मर्ने अवस्थामा पनि इजरायलले नाकाबन्दी जारी राखेको भन्दै इजरायलविरुद्ध विश्वव्यापी आलोचना बढिरहेको छ । इजरायलको गाजामा जारी नाकाबन्दी र बढ्दो मानवीय संकटका कारण उसलाई ‘विश्वव्यापी बहिष्कृत’ राष्ट्रको संज्ञा दिनुपर्ने तर्क वासिङ्गटन पोस्टले गरेको छ ।
युरोपेली संघले व्यापार सम्झौता पुनरावलोकन गर्ने निर्णय गरेको छ भने बेलायतले व्यापार वार्ता स्थगित गर्दै केही प्रतिबन्धहरू लगाएको छ।
संयुक्त अरब इमिरेट्सको सरकारी समाचार एजेन्सीले यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यान र उनका इजरायली समकक्षी गिडियोन सारबीच टेलिफोन वार्तामा एक समझदारीमा पुगिएको जनाएको छ ।
उक्त सहायता प्रारम्भमा गाजाका करिब १५,००० नागरिकहरूको खाद्य आवश्यकताहरूका लागि हुनेछ। यसमा बेकरीहरूको लागि आवश्यक सामग्री र शिशु हेरचाहका लागि अत्यावश्यक सामग्रीहरू पनि समावेश गरिनेछ।
यसैबीच फ्रान्स र क्यानडाले गाजामा आक्रमण नरोक्ने हो भने ‘ठोस कदम’ चालिने चेतावनी दिएका छन् ।
किङ्स कलेज लन्डनको स्कूल अफ सेक्युरिटी स्टडीजका वरिष्ठ प्राध्यापक आन्द्रियास क्रिगले अल जजीरासँग कुरा गर्दै भनेका छन्, ‘बेलायत, फ्रान्स र क्यानडाको इजरायलविरुद्धको यो चेतावनीले अन्य पश्चिमी मुलुकहरूका लागि उदाहरण स्थापित गर्छ।’
उनले भनेका छन्, ‘यसले सिधा रूपमा इजरायलको व्यवहारमा परिवर्तन ल्याउने छैन, तर अन्तर्राष्ट्रिय स्तरमा छलफलको दायरा फराकिलो बनाउँछ र अन्य देशहरूलाई खुला रूपमा इजरायली अत्याचारविरुद्ध उभिन सहज बनाउँछ ।’
उनले थपेका छन्, ‘तर इजरायलको व्यवहार परिवर्तनको साँचो भने अमेरिकाको हातमा नै छ ।’
अमेरिका इजरायललाई सबैभन्दा धेरै हतियार आपूर्ति गर्ने मुलुक हो र संयुक्त राष्ट्रसंघमा इजरायललाई कूटनीतिक संरक्षण पनि प्रदान गर्दै आएको छ।
क्रिगले पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायमा इजरायलप्रतिको धारणा बिस्तारै कमजोर बन्दै गइरहेको र यसले इजरायललाई एक गैरजिम्मेवार मुलुकको रूपमा चित्रित गर्न थालेको बताए ।
यसैबीच इजरायली विपक्षी नेता गायर गोलानले सोखको रूपमा बच्चा मार्ने काम भइरहेको टिप्पणी गरेका छन् । गोलानले एक अन्तर्वार्तामा ‘इजरायली सरकारले बच्चाहरूलाई शौकको रूपमा मारिरहेको’ बताएका हुन् । यद्यपि उनको यो टिप्पणी इजरायलको सत्ता पक्षबाट तीव्र आलोचना भइरहेको छ ।
गाजामा सहयोग सामग्री अभाव, अन्तर्राष्ट्रिय समुदायको चिन्ता
संयुक्त राष्ट्रले ११ हप्ताको नाकाबन्दीपछि गाजामा केही सहायता सामग्री त पुगेको पनि हालसम्म ती सामग्रीहरू वितरण हुन नसकेको जनाएको छ ।
इजरायली अधिकारीहरूले ‘सुरक्षा जाँचपछि’ मंगलबार ९३ वटा सहयोग सामग्री बोकेका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका जिकिर गरेका छन् । तर संयुक्त राष्ट्रको मानवीय सहायता कार्यालयका अनुसार ती सामग्रीहरू भोका नागरिकसम्म नभएर केवल प्यालेस्टिनी सीमासम्म मात्र पुगेका हुन्।
संयुक्त राष्ट्रले गाजामा रहेको आफ्नो टोली मंगलबार सहयोग सामग्री लिएर क्रसिङसम्म पुग्नका लागि घण्टौं प्रतीक्षा गरिरहे पनि इजरायली सेनाले त्यसका लागि अहिलेसम्म अनुमति नदिएको स्पष्ट पारेको छ ।
गाजामा भोकमरी बढाउने इजरायली नीतिअनुरूप लाखौं प्यालेस्टिनीहरू भोकमरीको खतरामा छन् । हजारौं शिशुहरू केही घन्टामै मर्ने उच्च जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ ।
इजरायली सेनाका अनुसार ती सहयोग सामग्रीहरूमा बेकरीका लागि पीठो, बालकहरूको खाद्य सामग्री, औषधोपचारका उपकरण र औषधिहरू समावेश छन्।
सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा भनिएको छ, ‘आईडीएफ (इजरायली डिफेन्स फोर्स) गाजा पट्टीमा मानवीय सहयोग पुर्याउन निरन्तर लागिपर्नेछ र ती सामग्रीहरू आतंकवादी संगठन हमासको हातमा नपरोस् भनेर सुनिश्चित गर्न प्रयत्न गर्नेछ ।’
तर संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय दबाबका बावजुद पनि ११ हप्ताको नाकाबन्दीपछि राहत सामग्री बोकेका ट्रकहरू गाजामा प्रवेश गर्न थाले पनि त्यो नागरिकसम्म पुग्न सकेको छैन । यसमा इजरायली अधिकारीहरूको अवरोध रहेको राष्ट्रसंघले संकेत गरेको छ ।
एजेन्सीहरूको सहयोगमा
View this post on Instagram
प्रतिक्रिया 4