
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. शेखर कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहुने बताए।
- उहाँले कार्यकर्ताले स्वाभिमानी बन्न र आफूलाई सक्षम नेतृत्वको रुपमा स्थापित गर्न आवश्यक रहेको बताए।
- प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावि बोलिरहेको आरोप लगाउँदै पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको बताए।
१२ जेठ, फिदिम । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहुने बताएका छन् ।
पाँचथरको फालेलुङमा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्रै हुँदैन,’ कोइरालाले भने, ‘कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ । आफूलाई आफैंले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावि बोल्दै हिँडेको आरोप पनि लगाए ।
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ । प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन,’ कोइरालाले भने ।
प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको उनको भनाइ थियो ।
आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।
सोही दिन राजावादीहरूले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।
प्रतिक्रिया 4