+
+
Shares

अब हवाईजहाजमा पनि उभिएर यात्रा गर्न मिल्ने !

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली एयरलाइन्सले छोटो दूरीको उडानमा उभिएर यात्रा गर्न मिल्ने ‘स्काई राइडर २.०’ योजना लागू गर्न तयारी गरिरहेको छ।
  • सन् २०१८ मा डिजाइन गरिएको यस सिट प्रणालीलाई २०२६ को सुरुमा व्यावसायिक रूपमा लागू गर्ने योजना छ, जसले इन्धन र तयारी समय कम गर्नेछ।
  • यस प्रविधिप्रति चासो बढ्दै गएको भए पनि, केही यात्रुहरूले असहजता र सम्मानजनकता सम्बन्धी चिन्ताका कारण मिश्रित प्रतिक्रिया जनाएका छन्।.

१४ जेठ, कठमाडौं । हवाईजहाजमा यात्रुहरु उभिएर यात्रा गरेको देख्नु भएको छ ? पक्कै पनि छैन । किनभने हवाईजहाजमा बस वा रेलमा जस्तो उभिएर यात्रा गर्न पाइँदैन । सिटमा बसेर, सिटबेल्ट बाँधेर मात्र यात्रा गर्न पाइन्छ ।

तर, युरोपेली केही ठूला एयरलाइन्सहरुले भने आफ्ना केही जहाजहरुमा यात्रुहरुलाई सस्तो भाडा दरमा उभिएर यात्रा गराउने तयारी गरेको फस्ट पोस्टले जनाएको छ । समाचार अनुसार दुई घण्टाभन्दा कम दुरीको छोटो उडानमा मात्र उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज उडाइने छ ।

युरो विक्ली न्युजले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यो योजनालाई ‘स्काई राइडर २.०’ नाम दिइएको छ । यो स्याडल शैलीको सिट इटालीको कम्पनी ‘एभियो इन्टेरियर्स’ले सन् २०१८ मै डिजाइन गरेको थियो । त्यसलाई सन् २०२६ को सुरुमा व्यावसायिक रूपमा लागू गर्ने तयारी छ ।

फस्ट पोस्टले राखेको भिडियो हेर्दा उभिएर यात्रा गर्ने मिल्ने सिटको डिजाइन साइकलको सिट जस्तै देखिन्छ । अनि पछाडि ढाड र टाउको अड्याउन मिल्ने गरी सपोर्ट दिइएको छ । सुरक्षाका लागि सिटबेल्ट पनि राखिएको छ । अगाडि र पछाडिका सिटको दुरी घटाइएको छ ।

सिटको तौल पनि सामान्य विमान सिटको तुलनामा आधा कम हुने छ । त्यसले इन्धनको खपत र विमानको तयारी समय दुवै घटाउन मद्दत गर्ने बताइएको छ ।

रिपोर्ट अनुसार, स्काइराइडर सिट राखिएका हवाईजहाजबाट आपतकालीन स्थितिमा यात्रुहरुलाई चाँडै बाहिर निकाल्न मिल्ने लगायतका अरु सुरक्षा परीक्षणहरू पास भइसकेको छ । तर, उडान नियामक निकायहरूले अन्तिम स्वीकृति दिन भने बाँकी छ ।

युरोपेली उड्डयन उद्योगमा यस प्रकारको नयाँ प्रविधिप्रति चासो बढ्दै गएको देखिन्छ । यदि यो सफल भएमा, अमेरिका, दक्षिण अमेरिका र एशिया लगायत देशका हवाई कम्पनीहरुले पनि उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज भित्राउने सम्भावना छ ।

मिश्रित प्रतिक्रिया

हवाईजहाजभित्र उभिएर यात्रा गर्न मिल्ने यो अवधारणामाथि मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । केही यात्रुहरू सस्तो टिकटमा हवाई यात्रा सम्भव हुने भन्दै उत्साहित देखिएका छन् ।

केहीले भने उभिएर यात्रा गर्दा सम्मानजनक नहुने र लामो समय उभिएर यात्रा गर्नुपरेमा असहज हुने भन्दै आलोचना गरेका छन् ।

कतिपयले त यसलाई भीडभाड भएको रेलमा उभिएर यात्रा गरेसरह भनेर पनि तुलना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?