
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको २२औं संस्करण बुधबारदेखि सुरु भयो।
- महोत्सवमा ३० देशका ६५ भन्दा बढी फिल्म प्रदर्शन हुनेछन् र पहिलो दिन ‘बिट्वीन द माउण्टेन एन्ड द स्काइ’ डकुमेन्ट्रीको एसिया प्रिमियर भयो।
- यस संस्करणमा चलचित्र, टेलिश्रृंखला निर्देशकहरू, कार्यशाला र प्रदर्शनीहरू आयोजना हुँदैछन्।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु भएको छ । १८ जेठसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा महोत्सव हुनेछ ।
‘फ्राक्चड भोइसेज, रिक्लेम न्यारेटिभ्स’ नारासहित सुरु भएको महोत्सवमा ३० देशका ६५ भन्दा धेरै फिल्म प्रदर्शन हुनेछन् ।
पहिलो दिन बुधबार ‘बिट्वीन द माउण्टेन एन्ड द स्काइ’ डकुमेन्ट्रीको एसिया प्रिमियर गरियो । यो फिल्मको ओपनिङसँगै महोत्सव सुरु भयो । जेरेमी पावर रेजिम्बल निर्देशित यो फिल्मले नेपालका टुहुरा बालबालिकाको हेरचाहमा खटिएकी सीएनएन हिरो म्यागी डोयनको कथा भन्छ ।
बुधबार बेलुका मंगोलिया र फ्रान्सको फिल्म ‘मंगोलिया : द वे अफ इगल’ स्क्रिनिङ भयो । महोत्सव उद्घाटनको सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, मनीषा कोइरालासहित विदेशी पाहुना फिल्ममेकरले आफ्नो धारणा राखे ।
विहिबारदेखि चिनियाँ फिल्म देखाइनेछ । नेपाल-चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजाङ्ग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ ।
यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) छन् ।
यसै संस्करणमा किम्फले पहिलो पल्ट ‘काठमाडौं डक ल्याब’ कार्यशाला पनि सुरु गर्दैछ ।
दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाँउ दिन बनाइएको यो कार्यशाला १०-१४ जेठमा सञ्चालन हुनेछ । यही कार्यशालमा छनोट भएका नौ दक्षिण एसियाली सहभागीलाई पाकिस्तानी र क्यानाडाली चलचित्रकर्मी अनम अब्बास, भूटानी निर्देशक अरुण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्तु थोमसद्वारा प्रशिक्षण दिइनेछ ।
कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको कट.कथा कार्यशालाबाट पनि महिला निर्देशकले आफ्नो छोटो वृत्तचित्रको बारेमा प्रस्तुत गर्नेछन् । त्यस्तै निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशाला पनि हुनेछ । यससँगै भिआर र तस्वीर प्रदर्शनी पनि ठमेलस्थित कला सलोनमा हुनेछ ।
यो महोत्सव गैरनाफामूलक संस्था किम्फ फाउण्डेसनद्वारा आयोजना गरिएको हो । किम्फ इटालीको टुरिन शहरमा मुख्यालय रहेको इन्टरन्यासनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो । टिकटको मूल्य रु. १५० तोकिएको छ भने विद्यार्थीहरूको लागि रु. १०० रहनेछ ।
प्रतिक्रिया 4