News Summary
Generated by OK AI. Editorially reviewed.- एरिका गुरुङले मोरक्कोमा भएको कराते वान प्रिमियर लिगमा कांस्य पदक जितिन्।
- उनले स्वदेश फर्किएपछि यसलाई सुरुवात भन्दै अझै धेरै गर्न बाँकी रहेको बताइन्।
- प्रशिक्षक र खेलाडीहरूले नेपाली करातेको विश्वस्तरमा सफलता देखाएका छन्।
२० जेठ, काठमाडौं । २१औं एकेएफ एसियन कराते च्याम्पियन खेल्न नेपालबाट उज्वेकिस्तान उडेकी एरिका गुरुङ मंगलबार कराते वान प्रिमियर लिगको कांस्य पदक गलामा झुण्डाउँदै स्वदेश आइपुगेकी छन् ।
मोरोक्कोको रावतमा भएको प्रिमियर लिगमा एरिकाले महिला ६८ केजीमाथि समूहमा कांस्य जितेकी हुन् । उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा पकद जित्न नसकेपनि उतैबाट मोरोक्को पुगेकी एरिकाले ऐतिहासिक पदक जित्दै नेपाललाई अर्को खुशी दिलाएकी छन् ।
यसअघि पनि एसियन गेम्स देखि एसियन कराते च्याम्पियनसिप, कराते वान युथ लिगजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेकी एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै ऐतिहासिक पदक जितिन् ।
नेपाली कराते इतिहासमै यो अहिलेसम्मको ठूलो पदक हो । एरिका पछिल्लो समय नेपाली कराते मात्र नभएर समग्र नेपाली खेलकुदकै लागि स्टार खेलाडी हुन् । उनले एसियन गेम्स देखि, एसियन कराते च्याम्पियनसिप, वर्ल्ड शितोरियो च्याम्पियनसिप, कराते वान युथ लिगमा पदक जितिसकेकी छन् ।
वर्ल्ड कराते फेडेरेसनले आयोजना गर्ने कराते वान प्रिमियर लिगमा समेत कांस्य पदक जितेर इतिहास रचिन् ।
तर मंगलबार स्वदेश फर्किएपछि हिमालयन वारियरको रुपमा चिनिने एरिकाले यो बिग मोमेन्ट (ठूलो क्षण) भएपनि यसलाई सुरुवात भन्दै धेरै गर्न बाँकी रहेको बताएकी छन् । ‘यो उपलब्धी बिग मोमेन्ट हो । यो बिग मोमेन्टलाई म चाँही विगिनिङ सुरुवात भन्न चाहन्छु । इट इज बिग मोमेन्ट तर यो हाम्रो लागि बिगिनिङ हो’ त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग एरिकाले सुरुमै यसो भनिन् ।
एरिकाले अहिले जितेको मेडल कांस्य भएको र अझै यो भन्दा राम्रो नतिजा ल्याउन बाँकी रहेको बताइन् । ‘सपनाहरू कहिल्यै रोकिँदैन । अझै राम्रो नतिजाहरू ल्याउने लक्ष्य छ’ उनले यसलाई सुरुवात भन्नुको कारण बताइन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा लगायत राष्ट्रिय कराते टिमका खेलाडीहरूले एरिकालाई भव्य स्वागत गरेका थिए ।
२१ वर्षीकी एरिकाले प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जितेपछि अझै धेरै गर्न बाँकी रहेको पनि बताइन् । ‘नेपाल पहिलो पटक जाँदा नै त्यहाँ हामीले नेपालको नाम राखेर आएका छौं । हाम्रो लागि अझै ठूला कुराहरू बाँकी छ । यो क्षणका लागि सुरुमा सबैलाई धन्यवाद भन्न चाहन्छु’ उनले भनिन् ।
एरिकाले ठूला प्रतियोगिताहरूमा पदक जित्दा नेपाली खेलाडीमा पनि क्षमता भएको प्रमाणित भएको बताइन् । ‘ठूलो खेल खेल्दा कन्फिडेन्स बढ्छ । हामीमा पनि क्षमता छ । मलाई के लाग्छ भने धैर्य गर्यौँ भने हामीले मिहिनेत गरे अनुसारको नतिजा एक दिन पक्कै आउँछ’ उनले भनिन्, ‘अहिले नतिजा आयो तर भविष्यमा के हुन्छ थाहा छैन । धैर्य राख्नु, हामी निश्चय पनि गर्छौँ । किनकी वि बर बर्न टु बि च्याम्पियन (हामी च्याम्पियन बन्न जनेमेको हा) र हामी च्याम्पियन बन्नु छ ।’
एरिका र नेपाली करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले नेपाली करातेले पनि विश्वस्तरमा पदक जित्न सक्छ भन्ने प्रमाणित गरेको बताए।
‘एरिकाले एसियन च्याम्पियनसिपको सबै रिस उता गएर पोख्यो । हामीले नेपालको इतिहास ऐतिहासिक ब्रोन्ज मेडल पायौं’ एरिकालाई स्वागत गरेपछि श्रेष्ठले भने । ‘हामीले (एरिका) साउथ एसियन च्याम्पियनसिप, एसियन च्याम्पियनसप र वर्ल्ड च्याम्पियनसप तीनवटै प्रतियोगितामा मेडल जित्यौं । एसियन गेम्समा पनि रजत र वर्ल्ड शितोरियोमा पनि हामीले गोल्ड मेडल हात पार्यौँ । करातेको हरेक प्रतियोगितामा मेडल प्राप्त गरेका छौं । यो नेपाली करातेमा ठूलो सफलता हो।’
यसरी जितिन् पदक
रावतमा भएका कराते वान प्रिमियर लिगमा आइतबार राती एरिकाले फ्रेन्च खेलाडी पिए क्लेमेन्सलाई ६-२ अन्तरले हराउँदै ऐतिहासिक कांस्य जितिन् । विश्व वरियतामा ५०औं स्थानमा रहेकी एरिकाले २०औं स्थानकी क्लेम्नसलाई हराएर नेपाली करातेमा ठूलो सफलता दिलाएकी थिइन् । त्यसअई उनले सेमिफाइनलसम्म ५ बाउट खेलिसकेकी थिइन् ।
प्रिमियर लिग भएकोले यो प्रतियोगिताको खेल अन्य प्रतियोगिता भन्दा फरक थियो । यस क्याटेगोरीमा ३१ खेलाडी सहभागि थिए । उनीहरूलाई विभिन्न ८ पूलमा विभाजन गरिएको थियो ।
एरिका पुल ६ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेकी थिइन् । नकआउट चरणको पहिलो खेलमा एरिकाले इजिप्टकी हैदी महघुबलाई ८-२ ले हराएर सेमिफाइनलमा स्थान बनाइन् । तर सेमिफाइनलमा उनको भेट विश्व नम्बर वान मारिया टोरेस गार्सियासँग भयो । उक्त खेलमा पनि एरिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
सुरुमा लिड लिएपनि त्यसलाई कायम राख्न नसक्दा खेल ५-५ को बराबरी भयो र सेन्सुको आधारमा मारिया विजयी हुँदै फाइनल पुगिन् । एरिकाले भने कांस्य पदकका लागि खेल्नुपर्ने भयो ।
एरिकाले शीर्ष वरियताको खेलाडीसँग खेल्नु पाउँदा त्यसबाट आगामी खेलका लागि अनुभव लिने मौका भएको बताइन् । ‘उहासँग (मारिया) खेल्न पाउनु नै मेरो लागि सम्मान जस्तै हो । त्यो खेल्दाको अनुभव भनेको अर्को पटकको लागि अझ राम्रो हुन्छ’ मारियासँगको खेलको अनुभवबारे एरिकाले भनिन्, ‘जसरी लिड गराथेँ राम्रो अनुभव भाथ्यो । उहाँले लिड गरेपछि टेक्निकल वाइज म उहाँ भन्दा कम भाको हो । त्यो अनुभव हेर्दा म अर्को पटकको लागि अझै रेडी छु।’
कांस्य पदकका लागि एरिकाको भेट फ्रेन्च खेलाडी पीअ क्लेमेन्ससँग भयो । क्लेमेन्स तीनै खेलाडी हुन् जसलाई फाइनल पुगेकी मारिया टोरेसले हराएकी थिइन् । मारिया फाइनल पुगेकैले नकआउटको पहिलो खेल हारेपनि क्लेमेन्सले कांस्य पदकका लागि खेल्ने अवसर पाएकी हुन् ।
क्लेमेन्सलाई सुरुवात देखि नै दबामा राख्दै एरिकाले जित हासिल गरिन् ।
क्लेमेन्स र एरिकालाई पराजित गरेकी मारिया गार्सियाले नै फाइनलमा इंग्ल्याण्डकी वाल्टरलाई हराएर यस क्याटेगोरीमा स्वर्ण पदक जितिन् ।
आफ्नो पुलमा विजेता बन्ने क्रममा एरिकाले पहिलो खेलमा टर्किए र दोस्रो खेलमा इटालियन खेलाडीला२ पराजित गरेकी थिइन् भने तेस्रो खेलमा साइप्रसकी खेलाडीसँग बराबरी खेलेकी थिइन् ।
एरिकाले यस पटक आफूभन्दा वरियतामा माथि रहेका खेलाडीहरूसँग खेल्ने अवसर पाइन् र पराजित पनि गरिन् । नम्बर वान मारिया टोरेससँगै उनले पराजित गरेको क्लमेन्स, इटलीकी क्लिओ फेराकुटी शीर्ष २० वरियता भित्रका खेलाडी हुन् ।
प्रशिक्षक श्रेष्ठले सेन्सुमा नहरेको भए अझ राम्रो नतिजा ल्याउन सक्ने सम्भावना रहेको बताए । ‘जब एरिकाले जित्दै गयो । सेमिफाइनलमा स्पेनी खेलाडीसँग भिड्दै थियो । विश्व नम्बर वान वरियताको खेलाडीसँग पनि एरिकाले राम्रो खेल्यो । जित्दा जित्दै हार्नुपर्यो । ३ अंक लिड गर्दा उसले एउटा किक लाग्यो र स्कोर भयो । त्यसले गर्दा स्कोर बराबर भयो र सेन्सुमा हामी पराजित भयौँ । यदी त्यो खेल जितेर फाइनल पुगेको भए फाइनल पनि जित्न सक्थ्यो होला’ उनले भने ।
प्रशिक्षक बिनै पदक जित्न सफल
एरिकासहित ११ खेलाडी एकेएफ एसियन कराते च्याम्पियनसिप खेल्न उज्वेकिस्तान गएको थियो । जहाँ यसपटक नेपालका कुनै पनि खेलाडीले पदक जित्न सकेनन् ।
दुई खेलाडी आफ्नो इभेन्टमा पाँचौ स्थानसम्म पुगेका थिए । अघिल्लो संस्करणमा ऐतिहासिक रजत जितेकोले यस पटक एरिकाबाट पदकको लक्ष्य हुनु स्वभाविक थियो । तर त्यहाँ पदक जित्न सकिनन् ।
एसियन च्याम्पियनसिपपछि अन्य खेलाडीसहितको टोली नेपाल फर्कँदा एरिका भने उतैबाट मोरोक्कोको रावत प्रस्थान गरिन् । त्यतिबेलासम्म एरिकाले कराते वान प्रिमियर लिग खेल्न जाने कुरा बाहिर आएको थिएन । कराते मुख्य प्रशिक्षक कुशल श्रेष्ठले एरिकालाई बाई गर्दै कराते वान प्रिमियर लिगको लागि शुभकामना दिएपछि मात्र उनी खेल्न जाने थाहा भयो ।
एरिकाले यसअघि पदक जित्दा सधैँ सँगै हुने प्रशिक्षक कुशल श्रेष्ठ भने यस पटक उनको साथमा थिएनन् । किनभने एरिका एक्लै नै रावत गएकी थिइन् । उनले त्यहाँ बिना प्रशिक्षक एक्लै नेपालको प्रतिनिधित्व गरिन् ।
तर एरिकाले नेपालका लागि कांस्य पदक जित्दा समेत उनीसँग खुशी मनाउने कोही थिएन । तर एरिकाले आफू एक्लो नभएको र सबै नेपालकै साथ पाएको बताइन् । ‘कोच नहुँदा त्यहाँ मेरो लागि डिसएडभान्टेज केही थिएन । जसरी खेल्नुपर्ने, भिडियो रिभ्यु गर्नुपर्ने त्यो केही भएन । त्यही भएर कोच नभाको डिसएडभान्टेज फिल भएन’ उनले भनिन् ।
एरिकाको नाम ढिला इन्ट्री भएकोले नेपालबाट प्रशिक्षकको नाम दर्ता गर्ने समय सकिसकेको थियो । जसले गर्दा एरिका प्रशिक्षक बिनै रावत जानुपरेको थियो । ‘त्यसबेला कोचको नाम रजिस्टर गर्ने समय सकिसकेको थियो । म (कोच) नजानु कारण त्यो पनि हो एउटा’ प्रशिक्षक श्रेष्ठले भने ।
पछि राखेप सदस्य सचिव टंकलाल घिसिङले आफूलाई जान भनेपनि प्रशिक्षकको रुपमा बस्न नपाउने भएपछि खर्च गरेर जानुको अर्थ नभएकोले नगएको श्रेष्ठले बताए । ‘सदस्य सचिव ज्युले मलाई पनि जानु भन्नुभएको थियो । तर म त्यहाँ कोचको स्थानमा बस्न पाउँदिन थिएँ । त्यसैले राज्यको पैसा मेरो पैसा किन खेर फाल्ने भनेर समय किन खेर फाल्ने भनेर गएन । एरिकालाई पनि के छ तिमी जान सक्छौँ भन्दा उसले पनि म जान सक्छु गुरु भन्यो’ उनले भने ।
यद्यपी प्रशिक्षक श्रेष्ठ नगएपनि एरिकाले हरेक खेल अघि र खेल सकिएपछि प्रशिक्षक श्रेष्ठ र टिमहरूसँग फोन गरेर के कस्तो कमजोरी भयो के सुधार गर्नुर्छ भनेर सल्लाह लिने गरेकी थिइन् ।
‘मैले खेलेको हरेक बाउटले सहयोग गर्यो । हरेक खेल खेलेर आएपछि मैले कोच र टिमसँग कल गरिरहेको हुन्थेँ । मेरो गल्ती के भयो भनेर कुरा गरिरहेको थिएँ । त्यो कुराले गर्दा अर्को बाउटमा जादा एक्लै हुँदा पनि मेरो माइन्ड एक्टिभ भइरहेको थियो’ एरिकाले भनिन् ।
नेपालबाट प्रशिक्षक नगएपनि एरिकाले सेमिफाइनलमा ग्रीसका प्रशिक्षकको साथ पाएकी थिइन् । सुरुमा इरानका प्रशिक्षकसँग सहयोगका लागि प्रस्ताव गरेपनि इरानी टिमको भिसा नलागेपछि अन्तिमम ग्रीसमा रहेको साथीसँग सहयोगका लागि पहल गरेको प्रशिक्षक श्रेष्ठले बताए । ‘मैले ग्रीसको मेरो साथीलाई भनेको थिएँ । उनले आफ्नो खेलाडीको गेममा बाहेक अरु बेला सहयोग गर्ने वचन दियो र सहयोग पनि गरे’ उनले भने ।
अन्तिममा नाम इन्ट्री
मोरक्कोमा हुने कराते वान प्रिमियर लिगमा सुरुमा एरिकाको नाम थिएन । विश्वकै प्रतिष्ठित कराते लिगमा शीर्ष ३२ वरियतामा रहेका खेलाडीहरूले मात्र खेल्ने अवसर पाउने भएकोले एरिकाको नाम सुरुमा थिएन । त्यो बेला एरिका आफ्नो क्याटेगोरीमा ५७औं स्थानमा थिइन् ।
तर कुनै खेलाडीलाई रिप्लेस गर्नुपर्ने अवस्थामा आएमा अन्य खेलाडीले अवसर पाउने प्रावधान थियो । त्यसमा शीर्ष ६४ वरियताको खेलाडीले रिप्लेसमेन्टका लागि नाम रजिस्टर गर्न पाउँथे ।
यस मानेमा एरिका भाग्यमानी बनिन् । उनको नाम रिप्लेसमेन्ट खेलाडीको रुपमा दर्ता भयो । तर यो प्रक्रिया सहज भने थिएन । ‘प्रिमियर लिग उत्कृष्ट ३२ ले खेल्ने हो । हामी ३२ भित्र थिएनौं । एरिकाको नाम इन्ट्री गर्दै गर्दा हामी ५७औं स्थानमा थियो । विश्वका उत्कृष्ट प्रतियोगिता भएकोले उत्कृष्ट खेलाडीले मात्र खेल्न पाउँछ’ प्रशिक्षक कुशल श्रेष्ठले भने ।
डब्लुकेएफबाट एरिकाले प्रतिस्पर्धा गर्न पाउने र नाम दर्ता गर्न खबर आएपछि आफूहरूले सक्दो चाँडै नाम दर्ता गरेको प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘खबर पाउनेबित्तिकै एरिकाको नाम तुरुन्तै रजिस्ट्रेसन गर्यौँ । उज्वेकिस्तान जाँदा पनि हामी भिजा प्रोसेसदेखि सबै काम गरिरहेका थियौं । एकदमै हतारमा भइरहेको थियो’ श्रेष्ठले भने, ‘यहाँबाट जाने दिन मात्र एरिकाले खेल्न पाउने कन्फर्म भएको थियो । यस पटक विश्वभरबाट सबै क्याटेगोरी गरी जम्मा ४ जनाले मात्र यसरी अवसर पाएका थिए । त्यस मध्ये एरिका गुरुङ एक हो । त्यो मानेमा हामी भाग्यमानी भयौँ र त्यहाँबाट नै हाम्रो लक सुरु भइसकेको थियो।’
प्रशिक्षक श्रेष्ठले एरिकाको पदकले नेपाली नेपाली खेलाडीहरू पनि ठूलो स्टेजमा पदक जित्न सक्षम भएको प्रमाणित गरेको बताए । ‘अहिले मलाई हामी पनि वर्ल्ड च्याम्पियनसिपमा गोल्ड जित्न सक्छौँ भन्ने फिल भइरहेको छ’ उनले भने ‘हामी गर्व गर्छौं एरिकालाई धेरै धेरै धन्यवाद’ उनले भने । यस्तै नेपाली प्रशिक्षकले पनि राम्रो गर्न सक्छ भन्ने फिल भएको उनले बताए । ‘नेपाली कोचले पनि गर्न सक्ने रैछ भन्ने लागेको छ । विदेशी कोच नै चाहिँदैन भन्ने अहिले एरिकाले देखाएको छ ।’
एरिकाले पनि प्रिमियर लिग खेल्न पाउनु चानुचने कुरा नभएको भन्दै प्रशिक्षक श्रेष्ठले यसमा धेरै मिहिनेत गर्नुभएको भन्दै धन्यवाद दिइन् ।
प्रतिक्रिया 4