+
आईसीसी क्रिकेट विश्वकप लिग २ :

आरिफको शानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित

२०८२ जेठ  २१ गते २३:४६ २०८२ जेठ २१ गते २३:४६
आरिफको शानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले रन आईसीसी क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो जित हासिल गर्यो।
  • नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो।
  • आरिफ शेखले शानदार पारी खेल्दै नेपालको जितको आधार तय गरे ।

२१ जेठ, काठमाडौं । आरिफ शेखले ७८ रनको शानदार पारी खेलेपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो ।

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए । यो उनको करियरकै उच्च स्कोर हो । स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रनगति बढाएका थिए ।

दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे । त्यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए ।

६८-३ को अवस्थाबाट रोहितसँग मिलेर ५५ रनको साझेदारी गरेका आरिफले रोहित रनआउट भएपछि १२३ रनमा ४ विकेट गुमेको अवस्थाबाट दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्‍याएर आउट भएका थिए ।

नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट तथा भिभियन किङमा र पल भान मिकेरनले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो । मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन बनाए । विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए ।

सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवार्ड्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

त्यसपछि १६६-७ को अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे ।

नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए ।

नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । यस लिग २ साइकलमा नेपालले पहिलोपटक लगातार जित निकालेको हो ।

अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय