+
+
Shares

क्यानडाको भ्यानकुभरमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अटवा, क्यानडाको बर्नाबीमा नेपाल र क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजले सगरमाथा दिवस मनाए।
  • कार्यक्रममा नेपालका राजदूत भरत राज पौड्यालले सगरमाथाको आरोहण र हिमाली साहसिक यात्राको महत्त्व बताए।
  • सगरमाथा आरोहणका अनुभवी आरोहीहरूले जलवायु परिवर्तनले आरोहणलाई गाह्रो बनाएको बताए।

अटवा । क्यानडास्थित नेपाली दूतावास र क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजले संयुक्त रूपमा भ्यानकुभरको बर्नाबीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् ।

नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको अवसरमा पारेर कार्यक्रम गरिएको हो ।

कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरत राज पौड्यालले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर  सगरमाथाको सफल आरोहण गरेर इतिहास रचेको स्मरण गरे ।

उनले हिमाली साहसिक यात्रामा शेर्पा समुदायको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै नेपालका पर्यटन आकर्षणहरुको चर्चा पनि गरे ।

राजदूत पौड्यालले क्यानडाली नागरिकहरुलाई नेपाल भ्रमण गरी साहसिक यात्रा, संस्कृति, आध्यात्मिकता र नेपालको अप्रतिम  प्राकृतिक सौन्दर्य  अनुभव गर्न आग्रह गरेका थिए ।

उनले नेपाल–क्यानडा मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका ६ दशकमाथि पनि प्रकाश पर्दै  कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याएकोमा  क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजप्रति आभार प्रकट गरे ।

प्रसिद्ध सगरमाथा आरोहीहरू ‘शेर्पा डेब’ रोड्नी, श्रीमती डोमा शेर्पा,  क्रिस्टोफर डेयरले  विश्वकै सर्वोच्च शिखर आरोहणका प्रेरणादायी अनुभवहरू सुनाएका थिए ।

१२ पटक सगरमाथाको आरोहण गरेका  कीर्तिमानी आरोही पेमा छिरिङ शेर्पाले भर्चुएल माध्यमबाट सम्बोधन गर्दै सगरमाथा आरोहण पहिले भन्दा गाह्रो हुँदै गएको बताए । ‘जलवायु परिवर्तनले गर्दा पहिले ३०० मिटर हिउँ हुने ठाउँमा अहिले चट्टान मात्रै छ । यसले आरोहणलाई थप जोखिम पूर्ण बनाएको छ । यो नेपाल मात्रै हैन संसारकै लागि चिन्ताको विषय हो’, उनले भने ।

कार्यक्रममा सगरमाथा आरोहणसम्बन्धी विशेष वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । राजदूत पौड्यालले सगरमाथा आरोहीहरूको साहस, दृढ संकल्प, सफल आरोहण र नेपाल तथा नेपाली पर्वतारोहणलाई क्यानडामा प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मानपत्र प्रदान गरेका थिए ।

ब्रिटिश कोलम्बियाको विधायिका सभाका सभामुख  राज चौहान, सांसद पॉल छोई तथा नेपाली समुदायका प्रतिनिधिहरूले कार्यक्रमलाई  सम्बोधन गरेका  थिए ।

उनीहरूले सगरमाथा दिवसको महत्व र नेपाल–क्यानडा सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे । बर्नाबी नगरका मेयर माइक हर्लेले सन् २०१५ को महाभूकम्प लगत्तै आफ्नो नगरका अग्नि नियन्त्रकहरुले नेपालमा गएर उद्धार कार्यमा सहयोग गरेको स्मरण गरे ।

आफ्नो स्वागत मन्तव्यमा  क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजका अध्यक्ष नविन ढकालले संसारमा असम्भव भन्ने केही छैन भन्दै युवा पुस्तालाई आफ्नो उद्देश्यमा लागिरहन आग्रह गरे ।

त्यस्तै एनआरएनए क्यानडाका अध्यक्ष तथा ब्रिटिश कोलम्बिया नेपाली समाजका अध्यक्ष माधव दुलालले नेपाली गौरव र पहिचानका रूपमा रहेको सगरमाथाले नेपाल र नेपालीलाई संसारभरि चिनाउने काम गरेको बताए ।

कार्यक्रममा नेपाली र क्यानडाली कलाकारहरूले सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए जसले दुवै देशको समृद्ध सांस्कृतिक विरासत झल्काएको थियो ।

मुख्य आकर्षणमा नेपाली परम्परागत नृत्यहरू — कुमारी नृत्य, वज्रयोगिनी नृत्य, तामाङ नृत्य, लिम्बु नृत्य, लाखे नृत्य र क्यानडाली आदिवासी नृत्य सामेल थिए ।

कार्यक्रममा क्यानडा तथा नजिकैका अमेरिकी राज्यहरूबाट आएका प्रवासी नेपाली, नेपाली समुदायका संघसंस्था, उद्यमीहरू, समुदायका  अगुवा तथा क्यानडाली नागरिकहरुको उल्लेखनीय उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?