
News Summary
Generated by OK AI. Editorially reviewed.- हामीले सुत्नुअघि आफ्नो दिनको समीक्षा गर्न सुझाव दिइएको छ, जसले भावनात्मक बलियो बनाउँछ।
- आत्म-समीक्षा गर्न शान्त कोठा, प्रश्न सोध्ने र लेख्ने तरिका अपनाउन सल्लाह दिइन्छ।
- अत्याधिक सोच र तुलना गर्न नहुने र बिस्तारै सुधार गर्नुपर्ने महत्त्व उल्लेख गरिएको छ।
हामी दिनभर व्यस्त रहन्छौं । काम, परिवार र दैनिक जिम्मेवारीहरूमा अल्झिरहन्छौं । के हामी सुत्नुअघि आफ्नो दिनको बारेमा सोच्ने समय निकाल्छौं त ? यदि छैन भने समय निकाल्नुहोस् ।
हामीले आज के गर्यौं ? के राम्रो भयो, के गलत भयो र के सुधार गर्न सकिन्थ्यो ? यी प्रश्नहरू सोध्नमा केवल ५ मिनेट खर्च गर्दा हाम्रो जीवनलाई नयाँ दिशा र आकार दिन सकिन्छ ।
आत्म-समीक्षा यस्तो साधारण तर शक्तिशाली बानी हो, जसले हामीलाई भावनात्मक रूपमा बलियो बनाउँछ, निर्णय प्रक्रियालाई सुधार्छ र हानिकारक बानीहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
किन यस्तो समीक्षा जरुरी छ, त ?
जो सुत्नुअघि दिनभरिका क्रियाकलापको समीक्षा गर्छन्, उनीहरू भावनात्मक रुपमा बलिया हुन्छन् । उनीहरूको सोच्ने र निर्णय गर्ने तरिका बलियो हुन्छ । कमीकमजोरी र नराम्रो बानी नियन्त्रण गर्न सक्षम हुन्छन् ।
आइएएन मोर्गेन ब्रोन र सुजेन स्टाबाइलले लेखेको पुस्तक ‘द रोड ब्याक टु यु’ले यही कुरालाई जोड दिएको छ । यो पुस्तकले आत्म-जागरूकता र आत्म-समीक्षाको महत्व सिकाउँछ । पुस्तकका अनुसार हरेक दिन विगत बन्छ, तर यदि हामीले त्यसबाट केही सिकेनौं भने, हामी उही गल्तीहरूको चक्रमा फसिरहन्छौं ।
आत्म-समीक्षा हाम्रो मनको ऐना हो, जसले हामीलाई आफ्ना गल्ती, भलाइ र सोचलाई गहिराइमा बुझ्न सक्षम हुन्छौं ।
सहज र प्रभावकारी
आत्मसमीक्षा धेरै गाह्रो प्रक्रिया होइन, सुत्नुअघि तपाईंले आफ्ना लागि केही मिनेट मात्र निकालेर गर्ने यो सहज र प्रभावकारी बन्छ ।ध्यानमा राख्नुपर्ने एउटै कुरा के हो भने समीक्षासँगै, तपाईंले आफूमा सुधारको दायरा पनि हेर्नुपर्छ ।
विश्वका महान् व्यक्तिहरूले पनि आत्मसमीक्षा गर्दै आएका छन् । अमेरिकी लेखक एलिसा रोमियोले पनि यो सिफारिस गर्छन्।
आत्मसमीक्षा कसरी गर्ने ? यसको पनि केही तरिका छन् ।
आत्मसमीक्षा भनेको दिनभरिको आफ्नो विचार, भावना र कार्यप्रति विचार गर्नु र गलत भए सुधार्नु हो ।
१. शान्त कोठाको कुना रोज्नुहोस्
यदि साँझ यो प्रयास गर्न चाहेमा त्यस्तो ठाउँमा बस्नु उपयुक्त हुन्छ, जहाँ कसैले बाधा नपुर्याओस् । मोबाइल, टिभी, सञ्चारका साधन सबै कुरा बन्द गर्नुपर्छ । जति शान्ति र एकान्त हुन्छ, यो कार्य त्यति नै सजिलो हुनेछ।
२. आफैँलाई प्रश्न सोध्नुहोस्
आत्मसमीक्षा गर्ने उत्तम तरिका भनेको आफैँलाई केही प्रश्नहरू सोध्नु र इमानदारीपूर्वक जवाफ दिनु हो ।
३. सोच्नुहोस् वा उत्तरहरू केहीमा लेख्नुहोस्
यदि डायरी लेख्ने बानी छ भने, यो कार्य अझ सजिलो हुन सक्छ । यदि लेख्नुहुन्न भने यसले फरक पार्दैन । आफ्नो मनमा प्रश्न गर्ने र उत्तरहरू सोच्ने । समीक्षा गर्दा देखाउनका लागि होइन, मनबाट बोल्नुपर्छ ।
४. आफैँलाई अन्याय नगर्नुहोस्
यदि गल्ती भएमा अचानक चिन्तित हुनु आवश्यक छैन । हामी सबै मानिस हौं, मेसिन होइनौं । सबैले गल्ती गर्छन् । गल्तीबाट सिक्न खोज्नुपर्छ ।
आत्म-समीक्षाको उद्देश्य आफूलाई बुझ्नु हो, आफूलाई श्राप दिनु होइन ।
५. बिस्तारै सुधार गर्नुहोस्
सम्पूर्ण जीवन रातारात परिवर्तन हुँदैन । यसका लागि हरेक दिन सानो सुधार पर्याप्त छ । हरेक दिन १ प्रतिशत राम्रो बन्ने प्रयास गर्नुहोस् । बिस्तारै सबै कुरा परिवर्तन हुनेछ।
यी गल्ती गर्नुहुँदैन
आत्म-समीक्षाको उद्देश्य आफूलाई सुधार गर्नु हो, आफूलाई परीक्षण गर्नु होइन । धेरै मानिसहरू यसो गर्दा अत्याधिक कडा हुन्छन्, आफूलाई अरूसँग तुलना गर्न थाल्छन् वा सबै कुरामा आफ्नै गल्तीहरू खोजिरहन्छन् ।
यसो गर्दा जीवन सहज हुनुको सट्टा आत्म-समीक्षा बोझ बन्छ ।
-आत्म-समीक्षालाई हावी हुन नदिने
-आत्म-समीक्षा र अति सोचाइमा केही सूक्ष्म भिन्नता छ । केहीमा आत्म-समीक्षा गरिरहेको भन्दै नजानेर विगतका कुरा बारम्बार दोहोर्याएर आफैलाई थकाइरहेका हुन्छन् ।
– आत्म-समीक्षाले समाधानतर्फ लान्छ, जब कि अत्याधिक सोचले भ्रममा पार्छ ।
– आफ्ना कमजोरीहरूमा मात्र ध्यान केन्द्रित दिने गर्नुहुँदैन । दिनभरि गरेका सबै राम्रा कामहरू सम्झने गर्नुपर्छ । त्यो प्रेरणा बन्नेछ।
– आत्म-समीक्षालाई बोझ नबनाउनुहोस्, यो जबरजस्ती गरिएको बानी होइन । मन शान्त हुँदा मात्र गर्नुपर्छ ।
– धेरै सोचेर आफूलाई तनाव दिनुहुँदैन । प्रत्येक प्रश्नको उत्तर एकैदिन पाउनु आवश्यक छैन । केही कुराहरूमा समय लाग्छ ।
– आफूलाई कहिल्यै अरूसँग तुलना गर्नुहुँदैन । किनकि सबैको जीवन, चुनौतीहरू र गति फरक हुन्छन् ।
प्रतिक्रिया 4