+
+
Shares

दिनमा कति पटक खाना खानु उचित ? कुन देशमा कति पटक खान्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैज्ञानिक अध्ययनहरूले दिनमा ३ देखि ६ पटक खानु स्वास्थ्यका लागि उपयुक्त हुन सक्छ भन्ने सुझाव दिन्छन्।
  • मान्छेको खानपानको आवृत्ति व्यक्तिको उमेर, स्वास्थ्य, जीवनशैली र सांस्कृतिक परम्परामा निर्भर हुन्छ।
  • सांस्कृतिक र व्यक्तिगत प्राथमिकताले खानपानको समय र संख्या निर्धारण गर्छ, पश्चिमी देशहरूमा सामान्यतः तीन पटक खानिन्छ।

जन्मिनेबित्तिकै मान्छेको पहिलो आवश्यकता नै हो खाना । खानाबिना मान्छेको मात्रै होइन कुनै पनि प्राणीको जीवन सम्भव छैन । खानपान र मान्छेको जीवनशैलीलाई जोडेर एउटा भनाइ निकै चर्चामा छ । भनिन्छ-संसारमा खान नपाएर भन्दा बढी खाएर रोगी र मृत्यु हुने मान्छेको संख्या धेरै छ ।

मान्छेको जीवनका लागि खानु जति जरुरी छ त्यति नै जरुरी हुन्छ, उचित खानेकुरा खानु र सही तरिकाले खानु ।

खानपानको आवृत्ति एक यस्तो विषय हो जसले मानिसको स्वास्थ्य, जीवनशैली, सांस्कृतिक पृष्ठभूमि, र व्यक्तिगत प्राथमिकतामा ठूलो प्रभाव पार्छ । दिनमा कति पटक खानु उपयुक्त छ भन्ने प्रश्नको जवाफ व्यक्तिको उमेर, स्वास्थ्य स्थिति, शारीरिक गतिविधि र कस्तो खानेकुरा खाइन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

मानिसहरूले दिनमा कति पटक खान्छन् भन्ने कुरा उनीहरूको सँस्कृतिक, आर्थिक र सामाजिक अवस्थाले निर्धारण गर्छ ।

मान्छेको जैविक विशेषता तथा वैज्ञानिक आधारमा मान्छेले कति पटक खानु उपयुक्त हुन्छ त ?

दिनमा कति पटक खाने ?

मान्छेले दिनमा कति पटक खाने भन्ने कुरा ठ्याक्कै तोकेर भन्न मिल्दैन । दिनमा कति पटक खानु उपयुक्त भन्ने कुरा व्यक्तिको शारीरिक अवस्था, जीवनशैली र उसको परिस्थितिमा पनि भर पर्छ ।

सामान्यतया वैज्ञानिक अध्ययनहरूले दिनमा ३ देखि ६ पटक खानु स्वास्थ्यका लागि उपयुक्त हुन सक्छ भन्ने सुझाव दिन्छन् । यद्यपि यो व्यक्तिको उमेर, मेटाबोलिक दर र खानपानको उद्देश्यमा निर्भर हुन्छ ।

१.सामान्य स्वस्थ्य व्यक्तिका लागि

सामान्य स्वस्थ व्यक्तिहरूका लागि दिनमा ३ पटक खाना खानु उपयुक्त मानिन्छ । यसका लागि बिहान, दिउँसो र साँझ समयलाई उपयुक्त ठानिन्छ । यसको बीचमा भोक लागेको खण्डमा हल्का खाजा-जस्तै फलफूल सलाद एक-दुईपटक पटक खाएर शरीरको उर्जा कामय राख्न सकिन्छ ।

२.तौल धेरै भएको व्यक्तिका लागि

वजन घटाउन वा नियन्त्रण गर्न चाहने व्यक्तिहरूका लागि, दिनमा ५-६ पटक हल्का खाना खानु लाभदायक हुन सक्छ । धेरै भोक लागेपछि एकै पटक धेरै खानु भन्दा थोरै-थोरै हल्का खाना खाएर अत्याधिक खाने बानी रोक्न, र मेटाबोलिज्मलाई सक्रिय राख्न मद्दत गर्छ ।

तर, यो विधि सबैका लागि उपयुक्त नहुन सक्छ । दिनमा २-३ पटक धेरै खाना खाएर बीचमा केही नखानु र धेरै पटक थोरै-थोरै खाना खाइरहनुले तौल नियन्त्रणमा उस्तै प्रभाव देखाउन केही अध्ययनहरूले देखाएका छन् । हामीले क्यालोरी सेवन सही ढंगले गरेका छैनौ भने खाने तरिका र समय बदल्दैमा मात्रै यसको प्रभाव नदेखिने अध्ययनहरूमा देखिएको छ ।

३.धेरै शारीरिक गतिविधि गर्ने तथा खेलाडीका लागि

दिनमा लामो समय शारीरीक श्रम गर्ने, खेलकूदमा सहभागी हुने वा मांसपेशी निर्माण गर्न चाहने व्यक्तिहरूका लागि, दिनमा ४-६ पटक खाना खानु उपयुक्त हुन्छ । यस्ता व्यक्तिहरूलाई प्रोटिन र क्यालोरीको नियमित आपूर्ति आवश्यक हुन्छ, जसले मांसपेशीको वृद्धि र रिकभरीमा सहयोग गर्छ । प्रोटिनयुक्त खाजा र खाना बारम्बार खानाले मांसपेशीको क्षय रोक्न र ऊर्जा स्तर कायम राख्न मद्दत गर्छ।

४.विशेष स्वास्थ्य अवस्थाका व्यक्तिका लागि 

माथि पनि उल्लेख गरिसकिएको छ कि कति पटक खाने भन्ने कुरा व्यक्तिको शारीरिक अवस्था र परिस्थितिमा भर पर्छ । यदि व्यक्तिलाई कुनै प्रकारको स्वास्थ्य समस्या छ, महिला गर्भवती भएको अवस्था छ भने चिकित्सक तथा पोषणविद्को सल्लाह लिएर समय र खानाबारे निर्णय लिनु उपयुक्त हुन्छ । जस्तो कसैलाई मधुमेह, उच्च रक्तचापको समस्या छ भने उसका लागि खानपानको समय र प्राथमिकता एक खालको हुन्छ । कसैलाई कुपोषण, क्षयरोग छ भने उसलाई फरक खालको खानपान र समय निर्धारण आवश्यक हुन्छ ।

वैज्ञानिक आधार

वैज्ञानिक अध्ययनहरूमा खानपानको समयबारे एकरूपता छैन। हामीले खाने क्यालोरी समान छ भने दिनमा ३ पटक वा ६ पटक खानुले खासै प्रभाव नपार्ने २०१५ को एक अध्ययनले देखाएको थियो । यद्यपि, बारम्बार खानाले रक्त रञ्चारको स्तर र भोक नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्ने अध्ययनले भनेको थियो।

सांस्कृतिक र व्यक्तिगत प्राथमिकता

खानपानको आवृत्ति सांस्कृतिक र व्यक्तिगत प्राथमिकतामा पनि निर्भर हुन्छ। उदाहरणका लागि, नेपालमा सामान्यतया दिनमा २ पटक टन्न खाना दाल-भात-तरकारी खाने अनि बीचमा १-२ पटक हल्का खाजा खाने चलन छ । तर, व्यक्तिगत प्राथमिकताले पनि यो कुरालाई प्रभाव पार्छ । कसैलाई दिनमा धेरै पटक अलिलि खान मनपर्छ भने कसैलाई थोरै पटक तर धेरै खान मनपर्छ ।

खानपानबारे कुन देशमा कस्तो प्रचलन ?

१. पश्चिमी देशहरू (यूरोप, उत्तरी अमेरिका, अष्ट्रेलिया)

पश्चिमी देशहरूमा सामान्यतः दिनमा ३ पटक खाना खाने चलन छ: बिहानको खाना, दिउँसोको खाना र रातको खाना । उनीहरूले यसलाई क्रमश: ब्रेकफास्ट, लन्च र डिनर भनी नामाकरण गरेका छन् । यी खाना बीचमा १-२ पटक नास्ता खाने प्रचलन पनि छ । जस्तो प्रायगरी संयुक्त राज्य अमेरिकामा बिहानको खाना प्रायः हल्का हुन्छ, जस्तै-: सिरियल, टोस्ट वा कफी । दिउँसोको खाना स्यान्डवीच वा सलाद जस्ता हल्का खाना हुन्छ र रातको खाना प्रायः भारी हुन्छ । युरोपमा, विशेष गरी फ्रान्स र इटालीमा, खाना खाने समयलाई सामाजिक र पारिवारिक गतिविधिको रूपमा लिइन्छ र रातको खाना प्रायः लामो समय लगाएर खाने खालको हुन्छ ।

२. एसियाली देशहरू

एसियाली देशहरूमा खानपानको समय सांस्कृतिक विविधताले प्रभावित हुन्छ।

नेपाल र भारतमा दिनमा २-३ पटक हेभी खाना दाल-भात-तरकारी र बीचमा खाजा खाने प्रचलन छ । कतिपयमा दिनमा २ पटक खाना र २ पटक खाजा पनि खाने प्रचलन छ ।

जापान र चीन जस्ता देशमा सामान्यतः दिनमा ३ पटक खाना खाइन्छ, तर नास्ता खाने चलन कम छ । जापानमा पनि ३ पटक खाना खाने प्रचलन छ, तर बेन्टो ( लन्च बक्स) जस्ता हल्का खानाहरू लोकप्रिय छन्।

दक्षिणपूर्वी एसियाली देशहरू थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा दिनमा ३-४ पटक खाना र बीचमा सामान्य नास्ता खाने चलन छ।

३. अफ्रिकी देशहरू

अफ्रिकी देशहरूमा खानपानको समय कति पटक हुने भन्ने आर्थिक अवस्था र खाद्य उपलब्धतामा निर्भर हुन्छ । ग्रामीण क्षेत्रमा धेरैजसो मानिसहरूले दिनमा १-२ पटक ठूलो खाना खान्छन्, प्रायः स्थानीय उत्पादनहरू (जस्तै, मकै, कसावा, वा चामल) मा आधारित। शहरी क्षेत्रमा भने ३ पटक खाना र नास्ता खाने प्रचलन बढ्दो छ।

४. मध्यपूर्वी र ल्याटिन अमेरिकी देशहरू

मध्यपूर्वी देशहरूमा दिनमा २-३ पटक पेटभर खाना र बीचमा हल्का नास्ता जस्तै:- हम्मस, पिटा, वा मिठाई खाने चलन छ। ल्याटिन अमेरिकी देशहरूमा पनि ३ पटक खाना बिहान, दिउँसो र रातमा खाने प्रचलन छ, तर दिउँसोको खाना प्रायः मुख्य खाना मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?