+
+
Shares

विद्यालय शिक्षा विधेयकमाथिको छलफल किन रोकियो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:५५

२१ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथिको छलफल रोकिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापाबीच छलफल भएको छ ।

बुधबार शिक्षा मन्त्रालयमा मन्त्री पन्त र सभापति थापाबीच विधेयकका विषयमा छलफल भएको हो । ‘मन्त्रीज्यूले अध्ययन गरिरहेको छु । शिक्षक महासंघसँग छलफल टुंगिएको छैन । आन्तरिक छलफल भइरहेको छ भन्नुभयो । वार्ता टुंगिएपछि समिति बैठक राख्न जानकारी गराउनु भन्नु भयो,’ सभापति थापाले भने ।

शिक्षा समिति बैठक कहिले बोलाउने भन्नेबारे मिति तय नभएको सभापति थापाले बताए । ‘यति समयमा राख्ने भनेर मिति तय भएन,’ सभापति थापाले भने । तर शिक्षक महासंघले भने वार्ता टुंगिएको बताएको छ ।

‘मन्त्रालयमा तीन दिनअघि नै छलफल टुंगिएको छ । सरोकार पक्षसँग बसेर टुंगिएको हो । संसदले छिटो काम सकेर जानुपर्छ भनिरहेका छौँ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

मन्त्रालयका अधिकारीहरूका अनुसार निजी विद्यालय र ईसीडीको विषयमा थप छलफल गर्नुपर्ने भएकाले छलफल लम्बिएको हो । शिक्षा समितिको उपसमितिले पनि निजी विद्यालयको व्यवस्थापन र ईसीडीको विषय टुंगो लगाउन सकेको थिएन । नमिलेका विषय समितिबाट टुंगो लगाउन समिति बैठक बस्नुअघि सरोकारवालासँग छलफल गर्न मन्त्री पन्तले समय मागेका हुन् ।

सोही अनुसार गत १९ जेठका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । त्यसअघि मन्त्री पन्तले ११ जेठमा पनि समितिसँग ७ दिनको समय मागेका थिए । शिक्षा मन्त्रीले समय मागेपछि समितिको बैठक बारम्बार स्थगित भइरहेको छ ।

१५ असारभित्र ऐन जारी गर्ने सहमति भएको छ तर समिति बैठक बस्ननसक्दा सहमति अनुसार १५ असारभित्र ऐन जारी गर्न कठिन हुने तर्क शिक्षा समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?