+

उज्वेकिस्तान र जोर्डन पहिलोपटक फिफा विश्वकपमा छनोट

२०८२ जेठ  २३ गते ७:५३ २०८२ जेठ २३ गते ७:५३
उज्वेकिस्तान र जोर्डन पहिलोपटक फिफा विश्वकपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली क्षेत्रको तेस्रो चरणको छनोटमा उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन्।
  • उज्वेकिस्तानले समूह ए मा युएईसँग बराबरी खेलेर स्थान पक्का गरे भने, जोर्डनले ओमनलाई पराजित गरी स्थान सुनिश्चित गरेको हो।
  • अहिलेसम्म एसियाबाट पाँच टोलीले २०२६ को फिफा विश्वकपमा स्थान पाएका छन्।

२३ जेठ, काठमाडौं । एसियाली राष्ट्रहरु उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपमा उज्वेकिस्तान र जोर्डनले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली छनोटअन्तर्गत तेस्रो चरणको छनोटको समूह ए मा युएईसँग गोलरहित बराबरी खेलेपछि उज्वेकिस्तानले विश्वकपमा स्थान पक्का गरेको हो । उज्वेकिस्तान ९ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ ।

समान खेलबाट युएई १४ अंकसहित तेस्रो स्थानमा छ । अब समूहमा एक खेल मात्र बाँकी रहेकोले युएईले उज्वेकिस्तानलाई भेट्ने छैन । यस समुहको शीर्ष स्थानमा रहेको इरान यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइएको छ । जसमा हरेक समूहको शीर्ष दुईमा रहने टोलीले २०२६ को फिफा विश्वकपमा छनोट हुने प्रावधान छ ।

यस्तै समूह बी बाट दक्षिण कोरिया र जोर्डनले विश्वकपमा स्थान बनाएका छन् । कोरिया लगातार ११औं स्थानमा विश्वकपमा छनोट भएको हो । दक्षिण कोरिया ९ खेलबाट १९ अंक जोडेर यस समूहको शीर्ष स्थानमा छ ।

जोर्डनले ओमनलाई ३-० ले पराजित गर्दै एक खेल अगावै विश्वकपमा स्थान सुरक्षित गरेको हो । जोर्डनको जितमा अली ल्याद अली ओल्वानले ह्याट्रिक गरे ।

जितपछि जोर्डन ९ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट इराक १२ अंकसहित तेस्रोमा छ । जोर्डनले अन्तिम अन्तिम खेलमा इराकसँग हार बेहोरेपनि इराकले भेट्टाउने छैन ।

सन् २०२६ को विश्वकपका लागि एसियाबाट अहिलेसम्म ५ टिम छनोट भइसकेका छन् । जापानले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

समूह सी को खेलमा जापानलाई १-० ले पराजित गरेपछि अष्ट्रेलिया पनि विश्वकप नजिक छ । हारपछि पनि जापान ९ खेलबाट २० अंकसहित शीर्षमा छ ।

यस्तै अष्ट्रेलिया समान खेलबाट १६ अंकसहित दोस्रोमा छ । बहराइनलाई हराएको साउदी अरेबिया १३ अंकसहित तेस्रो स्थानमा छ ।

अब समूहको अन्तिम खेलमा अष्ट्रेलिया र साउदीबीच खेल हुनेछ र विश्वकप पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

उज्वेकिस्तान फुटबल जोर्डन फुटबल फिफा विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय