
News Summary
Generated by OK AI. Editorially reviewed.- ओपन एआईले च्याट जीपीटीमा नयाँ सुविधाहरू थपेको छ, जसले व्यवसायिक प्रयोगलाई सहज बनाउने अपेक्षा छ।
- अब च्याट जीपीटीले मिटिङ रेकर्ड गर्न, क्लाउड फाइलहरू खोज्न र गहिरो अनुसन्धान गर्न सक्छ।
- यी सुविधाहरूले च्याट जीपीटीलाई इन्टेलिजेन्ट डिजिटल असिस्टेन्टको रूपमा स्थापित गरेको छ।
ओपन एआई कम्पनीले आफ्नो लोकप्रिय एआई टुल च्याट जीपीटीमा धेरै महत्वपूर्ण र उपयोगी सुविधाहरू थप गरेको छ । यो सँगै अब च्याट जीपीटी केवल सामान्य च्याट गर्ने टूल मात्र नभई व्यवसायिक प्रयोगकर्ताहरूको लागि समेत एक शक्तिशाली सहयोगीको रूपमा स्थापित भएको छ । नयाँ अपडेटपछि च्याट जीपीटीले मिटिङ रेकर्ड गर्न, क्लाउडमा रहेका फाइल खोज्न, तथा गहिरो अनुसन्धान गर्न सक्ने क्षमता हासिल गरेको छ ।
अब प्रयोगकर्ताहरूले च्याट जीपीटीलाई गुगल ड्राइभ, ड्रपबक्स, बक्स, वनड्राइभ, तथा सेयरपोइन्ट जस्ता लोकप्रिय क्लाउड स्टोरेज सेवासँग जोड्न सक्नेछन् । योसँगै प्रयोगकर्ताले आफ्नो अकाउन्टमा रहेका कागजातहरू, रिपोर्टहरू वा कुनै पनि फाइल सजिलै खोज्न सक्छन् अनि ती फाइलहरूसँग सम्बन्धित जानकारी च्याट जीपीटीबाट तुरुन्तै प्राप्त गर्न सक्छन् ।
यद्यपि च्याट जीपीटीले प्रयोगकर्ताका त्यस्ता फाइलहरूमा मात्र पहुँच पाउनेछ, जसलाई प्रयोगकर्ताले अनुमति दिएका हुन्छन् । जसका कारण डेटा सुरक्षा र गोपनियतामा कुनै असर पर्ने छैन । अर्थात् कुनै पनि गोप्य वा संवेदनशील फाइलहरू प्रयोगकर्ताको इच्छा बिना एआईले हेर्न सक्दैन ।
च्याट जीपीटीमा थपिएको सबैभन्दा विशेष फिचर चाही मिटिङ रेकर्डिङ सुविधा हो । च्याट जीपीटीले अब चलिरहेको बैठक रेकर्ड गर्न सक्नेछ र त्यसको मुख्य बुँदाहरू समयसारिणी सहित टिपोट गर्नेछ । साथै ती बुँदाहरूलाई ओपन एआईको क्यानभास नामक डकुमेन्टमा रूपान्तरण गर्न सक्छ । यस्तो क्षमताले कुनैपनि बैठकहरूको टिपोट वा सारांश बनाउने झन्झटलाई सहज बनाइदिनेछ ।
च्याट जीपीटी अब हब्सस्पट, लिनियर र गुगल तथा माइक्रोसफ्ट जस्ता विभिन्न सेवा प्रणालीहरूसँग पनि जोडिन सक्छ । यसबाट च्याट जीपीटीले प्रयोगकर्ताको आवश्यकता अनुसार छिटो र गहिरो अनुसन्धान गर्न सक्छ । फलतः कुनै प्रतिवेदन बनाउँदा वा कुनै विषयमा विस्तृत जानकारी सङ्कलन गर्नका लागि च्याट जीपीटी एक दक्ष सहायक बनेको छ ।
च्याट जीपीटीले मोडेल कन्टेक्स्ट प्रोटोकल (एमसीपी) नामक नयाँ सुविधा पनि ल्याएको छ । यसको सहायताले वर्कस्पेस एडमिनहरूले आफ्ना कार्यालयका आन्तरिक प्रणाली वा एप्लिकेसनहरू च्याट जीपीटीसँग जोड्न सक्छन् । यसले गर्दा च्याट जीपीटीले वाह्य इन्टरनेटका साथै कम्पनी भित्रका स्रोतहरूसँग पनि जोडिएर विभिन्न खालका उपयोगी जानकारी जुटाउन सक्छ ।
यी सबै सुविधाहरूले च्याट जीपीटीलाई केवल एआई च्याट टुल नभई एउटा इन्टेलिजेन्ट डिजिटल असिस्टेन्ट को रूपमा उभ्याएको बताइएको छ । यसले गर्दा अनुसन्धान, प्रोजेक्ट म्यानेजमेन्ट, फाइल व्यवस्थापन, बैठक सारांश, तथा सूचनाको छिटो पहुँचको क्षेत्रमा च्याट जीपीटीको महत्व बढ्ने अपेक्षा गरिएको छ ।
वास्तवमा व्यवसाय, शिक्षा, अनुसन्धान र प्रशासकीय क्षेत्रमा काम गर्नेहरूका लागि च्याट जीपीटी एउटा नयाँ स्तरको उपकरण बन्न थालेको छ । –एजेन्सी
प्रतिक्रिया 4