+
+
Shares

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनालाई भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ जेठमा काठमाडौंमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्यो।
  • ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित आयोगले मुद्दा दायर गरेको हो।
  • मुद्दाका मुख्य आरोप बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्कामा भ्रष्टाचारको हो।

२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी,  राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ रहेका छन् ।

यस्तै विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक  होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि रहेका छन् । उनीहरू विरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरिएको छ ।

के हो बिलिङ ठेक्का प्रकरण ?

नेपाल टेलिकमबाट प्रतिस्पर्धाविना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । २०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति थियो ।

‘नयाँ बिलिङ प्रणालीका लागि टेण्डर आह्वान गर्नुपर्नेमा पुरानै प्रणालीलाई निरन्तरता दिने र प्रतिस्पर्धाविना नै ठेक्का लम्ब्याउने निर्णय गरेको भेटिएपछि आयोगले अनुसन्धान थालेको थियो’ एक अधिकारी भन्छन्, ‘सञ्चालक समितिले गरेको निर्णय लगायतका सबै कागजात झिकाएर अध्ययनपछि मुद्दा दायर भएको हो।’

नेपाल टेलिकम सञ्चालक समितिले २४ पुस, २०७९ मा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको एसिया इन्फो नामक कम्पनीसँग चार वर्षका लागि वार्षिक मर्मतसम्भार सम्झौता (एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट–एएमसी) गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिले आवश्यक परेमा थप एक वर्ष त्यस्तो सम्झौता लम्ब्याउन सकिने भनी प्रस्ताव अनुमोदन समेत गरेको थियो ।

बिलिङ प्रणालीविना टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन सक्दैन । कुनै उपभोक्ताले अर्को व्यक्तिलाई फोन गर्दा बिलिङ प्रणाली हुदै अर्को व्यक्तिसम्म सम्पर्क स्थापित हुन्छ । पर्याप्त ब्यालेन्स नहुँदा बिलिङ प्रणालीले नै अर्को व्यक्तिसँग सम्पर्क गर्ने सुविधा दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?